कोभिड–१९ (कोरोना) महामारी तत्काल नियन्त्रणको छाँटकाँट देखिएको छैन । डढेलोजस्तै फैलिएको छ । असारभर अवस्था यस्तै चुनौतीपूर्ण रहन सक्ने अनुमान सम्बद्ध विज्ञले गरेका छन् । विज्ञका अनुसार यसको फैलावट रोक्ने प्रभावकारी उपाय भनेकै सङ्क्रमण फैलावटको शृङ्खला खण्डित (चेन ब्रेक) हो । त्यसका लागि विभिन्न जिल्ला तथा क्षेत्रको अवस्था हेरेर स्थानीय प्रशासनमार्फत पूरै वा आंशिक भागमा निषेधाज्ञा गरिएको छ । सामाजिक अन्तक्र्रिया सीमित गरेर महामारी फैलावट रोक्न सकिने भएकाले प्राथमिक उपायका रूपमा निषेधाज्ञा गरिएको छ । वैशाख पहिलो हप्तादेखि आजसम्मको करिब एक महिने अवधिमा मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । हालसम्म ७३ जिल्लामा पूर्ण वा आंशिक जारी गरिएको निषेधाज्ञा मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङमा मात्र लगाउनु परेको छैन । यस्तो दृश्यबाट महामारीको सघनता मापन गर्न सकिनेछ ।
सरकारले निषेधाज्ञासहित नागरिकको स्वास्थ्य उपचारमा विभिन्न कोणबाट काम गरिरहेको देखिन्छ । केही दिन देखिएको अक्सिजन अभाव बिस्तारै नियन्त्रणमा आउँदै गरेको छ । अन्य औषधि तथा स्वास्थ्य सामग्रीको खास समस्या देखिएको छैन । विभिन्न अस्पतालको क्षमता वृद्धि गर्दै कोरोना उपचारमा केन्द्रित गरिएको छ । कतिपय स्थानीय तहले अक्सिजनसहितका अस्पताल वा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छन् । समस्यासँगै महामारी नियन्त्रण तथा उपचारका कदम प्रभावकारी बनाइएको छ तर अवस्थामा अपेक्षाकृत सुधार नआएकाले नागरिक तहबाट पनि महामारी नियन्त्रणमा सहयोग गर्नुपर्ने देखिएको छ ।