कात्तिक १, रोल्पा । रोल्पा नगरपालिकाले गत तीन वर्ष अघि खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन बनेको छ ।
किसानहरुले उत्पादन गरेको दूधलाई बजारीकरण गर्ने उद्देश्यले प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा खरीद गरिएको उक्त ट्याङ्कर लामो समयसम्म प्रयोगमा आउन नसक्दा विग्रिन थालेको छ ।
नगरपालिकाले ट्याङ्कर प्रयोगमा ल्याउन नसकेको भन्दै दुग्ध विकास संस्थान बुटवल र नेपालगञ्जले भाडामा दिन आग्रहसमेत गरेका थिए । तर नगरपालिकाले आफैं प्रयोग गर्ने भन्दै दिन नमाने पछि लाखौं मूल्यको ट्याङ्कर प्रयोग विहिन भएको हो ।
उता नगर प्रमुख पूर्ण केसीले भने ट्याङ्कर प्रयोगमा ल्याउने तयारी भइरहेको बताएका छन् । किसानलार्ई गाईभैंसी खरीद गर्न अनुदान दिएर भएपनि दूध उत्पादनमा वृद्धि गर्ने नगरपालिकाको योजना रहेको उनले बताए ।