पुस ८, नयाँदिल्ली (भारत) । भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।
ती मध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ६५ जना दिल्लीमा ५४, तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको समाचारमा जानकारी दिइएको छ ।
सोही अवधिमा थप ४३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७८ हजार ७५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्ला हप्ताहरुमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ७८ हजार २९१ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितको संख्याको शून्य दशमलव २३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जानकारी दिएको छ । सक्रिय संक्रमितको यो संख्या ५७६ दिनको नै सबभन्दा कम रहेको अधिकारीले जानकारी दिएका छन् ।
गएको २४ घण्टामा भारतमा छ हजार ९६० कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४२ लाख ८ हजार ९२६ जनालाई कोरोना संक्रमण निको भएका छन् ।
भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ४१ प्रतिशत रहेको जानकारी दिइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जानकारी दिइएको छ ।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड ८६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ४० लाख भन्दा बढी डोज खोप लगाइएको जानकारी दिइएको छ । रासस/एएनआइ