छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ। पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा वढी उमेरको देखिन्छ।
फेसन जीवनको एक तरीका हो, जुन विकसित भइरहन्छ । साथै यो सांस्कृतिक प्रतिबिम्ब पनि हो, जसले कपडा, जीवनशैली वा शरीर परिवर्तनहरू पनि समावेश गर्दछ । फेसनको प्रमुख पक्षका रूपमा यसको इतिहास, व्यक्तिले आफ्नो पहिचान व्यक्त गर्ने तरिका, प्रचलन, सिजन, फेसन उद्योग आदिलाई लिन सकिन्छ ।
फेसन व्यक्ति, समुदाय वा देश अनुसार फरक हुन्छ । यो गतिशील प्रकृतिको छ । मानिसहरूले लुगा लगाउने वा आफ्नो पहिचानलाई आधुनिकतामा फिट हुने रूपमा व्यक्त गर्नुलाई फेसन भन्ने गरेका छन् । आजको संसारमा फेसनलाई जसरी वर्णन गरिएको छ, त्यो केही हदसम्म सही छ । तर, फेसन भनेको व्यक्तिले आफूलाई प्रस्तुत गर्ने तरिका र त्यो प्रस्तुतिबाट प्रतिबिम्बित हुने उपयुक्तता बीचको सन्तुलन हो ।
चलिरहेको चलन र फेसनको बारेमा कुरा गर्दा ठूलो संख्यामा मानिसहरू (विशेषगरी युवाहरू) के लगाउने र कसरी देखिने भन्नेबारे चिन्तित भएका पाइन्छन् । यो चिन्ता पनि वास्तविक छ । तर, नतिजाहरू थाहा नपाई हाम्रो समाजमा आँखा चिम्लेर अरूको (चलचित्रहरू) नक्कल गर्नु वा अश्लीलता वा नग्नतालाई बढावा दिइरहेको पाइन्छ । यसलाई बढावा दिनु र आफूलाई पूर्णरूपमा फेसन फ्लक्समा राख्नु राम्रो संकेत होइन । समाजका लागि यो कति विनाशकारी हुन्छ भन्ने अनुमान गर्न सकिँदैन । अहिलेको परिस्थितिमा भएको ठ्याक्कै यही हो ।
नग्नता र अभद्र फेसनको प्रवर्द्धन कुनै पनि परिस्थितिमा फिट हुन सक्दैन, यसले मानिसको जीवन र सोच्ने शैलीलाई असर गरिरहेको छ । यो मुद्दामा सबैको ध्यान जानु अति आवश्यक छ ।
कपडा लगाउन शुरुआत गरिँदा यसको उद्देश्य मानव शरीरलाई ढाक्नु र मौसमी परिवर्तनबाट शरीरको रक्षा गर्नु थियो । पुरातन समयको ‘लुगा’हरूमा अहिले लगाइने गरिएका फ्याब्रिकहरू थिएनन् । त्यतिबेला ठूला पातहरू वा अन्य कुनै सामग्रीहरूले बनाएका लुगा लगाइन्थे । तर, लुगा लगाउनुको उद्देश्य भने (जसलाई सबैभन्दा बढी महत्त्व दिनु आवश्यक छ) शरीर ढाक्नु नै थियो । आजको फेसन संस्कृतिमा मानिसहरूले यो उद्देश्यबारे बेवास्ता गरेको पाइन्छ ।
अहिलेको फेसन लुगा लगाउनुको उद्देश्यलाई सही ठहराउन असफल भएको छ, यसले अश्लीलतालाई बढावा दिइरहेको छ । मानिसहरूले स्वतन्त्रताको नाममा परिणामलाई विश्लेषण नगरी अश्लील फेसनलाई बढावा दिइरहेको पाइन्छ । यो हरेक समाज र देशहरूमा देख्न सकिन्छ ।
मानिसहरूले ठाउँ वा वातावरणअनुसार होइन, अरुलाई प्रभाव पार्न हिसाबले लुगा लगाइरहेको देखिन्छ । मानिसहरूमा फेसनले सम्पूर्ण व्यक्तित्व र प्रभाव सिर्जना गर्छ भन्ने मानसिकता छ । यो मानसिकताबाट मानिसहरू बाहिर निस्कन आवश्यक छ ।
व्यक्तिले लगाएको लुगाबाट उसप्रति मानिसहरूको ‘छाप’ त पर्छ । तर, फेसन र लुगा हेरेरै मानिसहरूलाई मूल्यांकन गर्नु गलत हुन्छ । यसलाई आकर्षण गर्ने स्रोतको रूपमा प्रचार गर्नु कदाचित राम्रो होइन । लुगा लगाउँदा आफू कहाँ जाँदैछु, के लगाउन सहज हुन्छ आदि कुराको ख्याल राख्नु निकै आवश्यक हुन्छ, उदाहरणका लागि : ‘धरती’ नाम गरेका व्यक्ति नखुलेको सर्ट र प्यान्ट लगाएर जागिरको अन्तरवार्ता दिन जाँदैछन् । त्यस्तै, ‘आकाश’ नामका अर्काे व्यक्ति अन्डर सर्टसहित च्यातिएको जिन्स लगाएर जागिरको अन्तर्वार्ता दिन जाँदैछन् । यी दुई जनामध्ये कुन उपयुक्त वा स्वीकार्य छ भन्ने कुरा समाजले सजिलै छुट्याउन सक्छ ।
समाजमा विभिन्न उमेर समूहका, फरकफरक धारणा र मानसिकता राख्ने व्यक्तिहरू हुन्छन् । प्रत्येक व्यक्तिका आफ्नै सिद्धान्त र मान्यताहरू हुन्छन्, जुन निजले आफ्नो जीवनमा लागू गर्दछ ।
व्यक्ति समाजको एक प्रमुख हिस्सा भएकोले उसले सार्वजनिकरूपमा कुनै पनि काम गर्नुअघि नैतिकता, सीमितता र वैधताको बारेमा विभिन्न कारकहरू विचार गर्नुपर्छ । किनभने एक पटक केही कुरा सार्वजनिक भएपछि, यो व्यक्तिगत सरोकारको मात्र हुँदैन, यसमा धेरैको चिन्ता पनि समावेश हुन पुग्छ ।
फेसन भनेको सार्वजनिक रूपमा प्रचार गरिएको कुरा हो । किनभने समाजमा व्यक्तिहरूबीच विभिन्न प्रकारका अन्तरक्रिया हुन्छन्, जहाँ प्रत्येक व्यक्ति सार्वजनिक हुन बाध्य हुन्छ । यसका लागि मानिसहरूले आफूलाई कपडाले ढाक्छन् । यस अर्थमा फेसन निःसन्देह सार्वजनिक कुरा बन्न पुग्छ । त्यसैले हरेक व्यक्तिले फेसन वा लुगाको विषय र भावनाको सन्दर्भमा सधैं नैतिकता र सीमितताका निश्चित सीमाहरू कायम गर्नु अत्यन्तै आवश्यक हुन्छ ।
माथिको कुराले के स्वीकार गर्छ भने मानिसहरूले केही कारकहरूलाई ध्यानमा राखेर एक निश्चित तरिकामा लुगा लगाउनु पर्छ । साथै आफूलाई सहज महसुस गर्ने तरिकाको ड्रेसअपको महत्त्वलाई पनि सम्बोधन गर्नुपर्छ । फेसन भनेको यी दुई कुराहरू बीचको सन्तुलन हो ।
त्यसो भए यस परिप्रेक्ष्यमा, के अहिलेको अभद्र फेसन यो रूप र गतिमा प्रचार हुनु तर्कसंगत छ ? यसले हामीलाई कहाँ पुर्याइरहेको छ ?
यदि कुनै पनि वस्तुलाई राम्ररी प्रयोग गर्न सकिएको छैन भने त्यो वस्तु अस्तित्वमा आउनुको उद्देश्य पूरा गर्दैन, बरु यसले तर्कहीनतालाई बढावा दिन्छ । त्यसकारण आजको फेसन तर्कहीन छ । आजको फेसन उद्योगको वृद्धिको पछाडिको प्रेरणा केही देखिँदैन । किनभने यसले मानव शरीरलाई कुनै पनि अर्थमार्फत चित्रण गर्न सकिन्छ भनेर वस्तुनिष्ठ बनाउने भावलाई बढावा दिएको छ । कपडा किन आविष्कार गरियो भन्ने उद्देश्यको पूर्ति अहिलेको फेसनलाई मान्न सकिन्छ र ? स्पष्ट रूपले सकिँदैन ।
अहिले चलचित्रहरू, र्याम्प शोहरू, सामाजिक सञ्जालहरूबाट फेसनका नाममा नग्नता र अश्लीलताको प्रवर्द्धन गरेको देखिन्छ । यस्ता पूँजीगत उद्योगको प्रभावमा परेर मानिसहरूले आँखा चिम्लेर फेसन अनुकरण गर्नु अझ डरलाग्दो छ । यो नक्कलले समाजमा ठूलो बाधा खडा गरेको छ, यसले बालबालिकादेखि युवायुवतीसम्म सबैको दिमाग खल्बल्याएको छ ।
फेसन र स्वतन्त्रताकाका नाममा नग्नता देखाउने र यसको वकालत गरिने कार्य बढिरहेको छ । यसले केवल अवास्तविक फेसन मापदण्डहरू र सौन्दर्य मापदण्डहरूलाई बढावा दिएको छ । र, व्यक्तिको सदावहार लुक्स र शारीरिक विशेषताहरूलाई चासो दिएको छैन । तसर्थ यो फेसन होइन ।
फेसन भनेको उपयुक्त, आरामदायी र समाजलाई स्वीकार्य लुगामा आफूलाई प्रस्तुत गर्नु हो । यसको मतलब कसैलाई मनपर्ने वा सहज महसुस गर्ने लुगा लगाउने स्वतन्त्रतामा कटौती गर्नु बिल्कुलै होइन । एक व्यक्तिले आफूलाई सहज महसुस गर्ने जुनसुकै पहिरन पनि रोज्न सक्छ । तर, यो स्वतन्त्रताको सँगसँगै हरेक व्यक्तिले आफूले परिस्थिति, स्थान वा परिवेश अनुसार उपयुक्त पहिरन लगाएको छु वा छैन भन्ने सोच्च आवश्यक छ । प्रायः बौद्धिक व्यक्तिहरूले यसरी नै आफूलाई प्रश्न गर्छन् ।
आधुनिकताका नाममा फेसनलाई पनि अभद्र जीवनशैलीलाई बढावा दिने खालको बनाइएको छ । अभद्र र निराधार जीवनशैलीलाई बढावा दिनुलाई आधुनिक फेसन भनिँदैन । बरु तर्कसंगत र सामाजिक हुनु आधुनिकता हो ।
आफू कस्तो देखिन्छु ? आफ्नो फेसन संस्कृति कस्तो छ ? आफूलाई अरुले कसरी हेर्ला ? यी विषयमा विवाद गर्नु केवल मुर्खता मात्र हुन्छ ।
तसर्थ हामीले यो कुरालाई स्वीकार गर्ने र यसलाई आफ्नो जीवनमा लागू गर्ने समय आएको छ । यसो गरे सजिलै आधुनिकता र प्रगतिलाई उत्थान गर्न सकिनेछ ।
(लेखक काठमाडौं स्कुल अफ लमा स्नातक तहमा अध्ययनरत छिन् ।)