राष्ट्रियसभा बैठकमा आठ अध्यादेश पेश

काठमाडौं । राष्ट्रियसभाको मंगलवारको बैठकमा आठओटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभाको बैठकमा गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८ पेश गरेका छन् । मन्त्री कोइरालाले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको तर्फबाट औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ पनि सभासमक्ष पेश गरे । यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको तर्फबाट रेलवे अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८ लाई पनि पेश गरिएको छ । माथिल्लो सदनमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा मन्त्रिपरिषद् गठन, कार्यभार तोकिएको र राष्ट्रियसभा सदस्य मनोनयनसम्बन्धी प्राप्त पत्रको बेहोरा जानकारी गराएका थिए । बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धर, पहिलो संविधानसभा सदस्य जगतबहादुर ताजपुरिया, दोस्रो संविधानसभा सदस्य दुमनसिंह थापा र प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुराज आचार्यको निधनप्रति शोक प्रस्तावसमेत पारित गरिएको थियो । रासस

सम्बन्धित सामग्री

एमालेको अवरोधका बावजुद राष्ट्रिय सभा बैठकमा अध्यादेश पेश

उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म राष्ट्रियसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने आफ्नो दलको अडान रहेको पनि स्पष्ट पार्नुभयो ।