काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८९ दशमलव ८० प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ११ करोड २७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड १५ लाखमा झरेको हो ।
चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव शून्य ६ प्रतिशत रहेकोमा चालू आवमा बढेर ८ दशमलव ९७ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज गत आवमा रू.१ करोड ७७ लाख रहेकोमा चालू आवमा बढेर रू. २ करोड ३० लाख पुगेको हो ।
यसकारण कम्पनीको सञ्चालन नाफा ९० प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २० पैसा रहेकोमा चालू आवमा १ रुपैयाँ ७५ पैसामा झरेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ६५ करोड ५८ लाख रहेको छ । कम्पनीले जगेडामा रू.२२ करोड ७८ लाख, रिटेन्ड अर्निङमा रू. १२ करोड ३७ लाख र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख सञ्चित गरेको छ । कम्पनीले रू. २ अर्ब ७१ करोड सापटी र रू. १ अर्ब ६७ करोड निक्षेप संकलन गरी रू. ५ अर्ब २३ करोडभन्दा बढी कर्जा लगानी गरेको हो ।
चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ७० लाख ३१ हजार ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको तरलता अनुपात ७ दशमलव ४६ प्रतिशत, मूल्य आम्दानी अनुपात ३३५ दशमलव ६३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ७३ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्