भदौ ११, कास्की । कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा कोरोना संक्रमण क्रमिक रुपमा वृद्धि भएको भन्दै भदौ १८ गते राति १२ बजेसम्म थप गरेको हो ।
यसअघि प्रशासनले भाद्र ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भादौ १८ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
प्रशासनले यस अघि पोखरा क्षेत्रमा कोरोना संक्रमण अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि थप गरेको थियो ।
प्रशासनले यस अघि कास्कीमा कोरोना संक्रमण वृद्धी भएपछि जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागूगरेको थियो । आज पुनः जारी निषेधाज्ञामा निजी तथा सार्वजनिक सवारीहरुमा जोरविजोर प्रणाली कायम राखिएको छ ।
प्रशासनले निश्चित संख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामोदुरीका सवारी साधनहरु सञ्चालन गर्न दिने निर्णयलाइ निरन्तरता दिएको छ । व्यवसायीले सवारीका साधन सञ्चालन गर्दा सीट क्षमता भन्दा बढी यात्रु बोक्न भने पाइने छैन । बसका चालक तथा सहचालकले अनिवार्य मास्क, फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने यात्रुले मास्क अनिवार्य रुपमा लगाउनु पर्नेछ ।
त्यसैगरी, मठमन्दिर, मस्जित, गुम्वा, चर्चहरु स्वास्थ्य मापदण्ड पूरा गरि सञ्चालन हुँदै आएकामा निरन्तरता दिने भएको छ । कास्की भित्र चल्ने निजी सवारीसाधन र ट्याकसीको हकमा चालकसहित बढीमा ४ जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर जोरविजोर प्राणाली अन्तरगतसंचालन गर्न पाइने छ । त्यस्तै मोटरसाइकल तथा स्कुटरले पनि मापदण्ड अपनाएर जोरविजोर प्रणली अनुसार सञ्चालन हुन पाउने छन् ।
यस्तै, विश्वविधालय, क्याम्पस एवम् माध्यामिक विद्यालयहरुले पूर्व निर्धारित परीक्षाहरु सञ्चालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरु कडाईका साथ पालना गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी अनलाई प्रविधिबाट सञ्चालन गर्न सक्नेछन् ।
यस्तै होटल तथा रेष्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने छन् । होटलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशतसम्म रहने गरी खान बस्नको प्रवन्ध गर्न सक्नेछन् । तर, एक घरका परिवार बाहेक १ कोठामा १ जनाभन्दा बढी व्यक्ति राख्न पाइने छैन ।
पूर्व निर्धारित विवाह कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ जना भन्दा बढी व्यक्ति सहभागि गराउन नपाइने उल्लेख छ । तोकिएका पसलहरु बाहेक अन्य सबै खालका पसल तथा व्यवसाय बिहान ५ देखि राति ८ बजेसम्म खोल्न पाइनेछ ।
प्रशासनले सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, मोटेल,नाँचघर, क्लब, डान्सबार, दोहोरीसाँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, फुटपाथ पसल लगायतका व्यवसाय खोल्न निषेध गरेको छ ।