कास्कीमा एक साताका लागि लम्बियो निषेधाज्ञा : सवारी साधनमा लागू जोरविजोर प्रणाली हट्यो

भदौ १७, कास्की । कास्कीमा एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा कोरोना संक्रमण क्रमिकरुपमा वृद्धि भएको भन्दै भदौ ३१ गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले भाद्र १० गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भदौ ३१ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।  प्रशासनले यसअघि पोखरा क्षेत्रमा कोरोना संक्रमण अपेक्षाकृत नियन्त्रणमा आइ नसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि थप गरेको थियो । प्रशासनले गत हप्ता कोरोना संक्रमण वृद्धी भएको भन्दै जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू गरेकोमा शुक्रवार रातिदेखि त्यसलाइ हटाएको छ ।  शनिवारदेखि कास्की जिल्लामा निर्वादरुपमा निजी तथा सार्वजनिक सवारीहरु सञ्चालन हुने भएका छन् । विगत लामो समयदेखि गण्डकी प्रदेशमा बढेको कोरोना संक्रमण केही दिनदेखि क्रमशः घट्ना थालेको छ । प्रदेशमा कास्कीमा सबैभन्दा धेरै संक्रमित र मृतक देखिदै आएकोमा पछिल्लो समय कम हुँदै गएको छ । बिहीवार कास्कीमा संक्रमितको संख्या जम्मा ९६ जना रहेको छ भने मृतकको संख्या शून्य रहेको छ ।   प्रशासनले निश्चित संख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामो दूरीका सवारी साधनहरु सञ्चालन गर्न दिने निर्णयलाइ निरन्तरता दिएको छ । व्यवसायीले सवारी साधन सञ्चालन गर्दा सीट क्षमता बन्दा बढी यात्रु बोक्न भने पाइने छैन । बसका चालक तथा सहचालकले अनिवार्य मास्क, फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने यात्रुले मास्क अनिवार्य रुपमा लगाउनु पर्नेछ ।  प्रशासनले सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरीसाँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, फुटपाथ पसल लगायतका व्यावसाय खोल्न निषेध गरेको छ । त्यसैगरी, मठमन्दिर, मस्जित, गुम्वा, चर्चहरु स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन हुँदै आएकोमा निरन्तरता दिने भएको छ । कास्की भित्र चल्ने निजी सवारीसाधन र ट्याक्सीको हकमा चालकसहित बढीमा ४ जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर जोरविजोर प्राणाली अन्तरगत सञ्चालन गर्न पाइने छ । त्यस्तै मोटरसाइकल तथा स्कुटरले पनि मापदण्ड अपनाएर जोरविजोर प्रणली अनुसार सञ्चालन हुन पाउने छन् । यस्तै, विश्वविधालय, क्याम्पस एवम् माध्यामिक विद्यालयहरुले पूर्व निर्धारित परीक्षाहरु सञ्चालन सम्बन्धमा अपनाउनु पर्ने सावधानीका उपायहरु कडाईका साथ पालना गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी अनलाई प्रविधिबाट सञ्चालन गर्न सक्नेछन् । यस्तै होटल तथा रेष्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने छन् । होटलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशतसम्म रहने गरी खान बस्नको प्रवन्ध गर्न सक्नेछन् । तर, एकै घरका परिवार बाहेक १ कोठामा १ जनाभन्दा बढी व्यक्ति राख्न पाइने छैन । पूर्व निर्धारित विवाह कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ जनाभन्दा बढी व्यक्ति सहभागि गराउन नपाइने उल्लेख छ । तोकिएका पसलहरु बाहेक अन्य सबै खालका पसल तथा व्यवसाय बिहान ५ बजेदेखि राति ८ बजेसम्म खोल्न पाइनेछ ।