सरसर्ती हेर्दा नेपालमा हुन्डी कारोबार गर्न पाइँदैन । तर, कानूनी रूपले वर्जित गरेको यही हुन्डी कारोबारलाई बढावा दिन सरकारी शैली नै कारण बनिरहेको छ । सरकारले वैध च्यानलमा विभिन्न अवरोध खडा गरेपछि व्यवसायीले गलत बाटो रोजेको देखिन्छ । जसलाई रोक्न व्यवसायीले आवाज उठाउँदै आए पनि सरकारले बेवास्ता गरिरहेको छ । सरकारको यस्तो मौनताका कारण अनेक आशंका भने उठ्दै आएका छन् । अवैध बाटोलाई मलजल गर्ने नीतिलाई निरन्तरता दिने सरकार कसैगरी पनि सही हुन सक्दैन । व्यवसायीको समस्यालाई सम्बोधन गर्दा नै वैदेशिक व्यापार सहज हुन्छ र सरकारले पनि राजस्व प्राप्त गर्न सक्छ ।
नेपालको भन्सार भ्रष्टाचारको अखडा मानिन्छ । त्यसैले यिनलाई नियमन र नियन्त्रण गर्ने सरकारले विभिन्न तरीका अपनाएको छ । भन्सार जाँचपास र सीमाव्यापार सहजीकरणका लागि विश्व व्यापार संगठनले विकास गरेको आसिकुडा वल्र्ड प्रणाली नेपालका भन्सार कार्यालयहरूमा लागू गरिएको छ । हातैले काम गर्दा राजस्व छलीको सम्भावना बढी भएको, सामानको यथार्थ मूल्यांकन नहुने तथा भन्सार जाँचपासमा बढी समय लाग्ने गरेको थियो । आसिकुडा वल्र्ड प्रणाली लागू भएपछि यी समस्याको आंशिक समाधान भएको छ । तर, यसमा भएका छिद्र प्रयोग गरेर कर्मचारीले अवैध लाभ लिने गरेको पनि पाइन्छ । व्यापारीले न्यून बीजक देखाई भन्सार छलेको आशंका सरकारलाई छ । त्यसैले उसले आयात हुने सामानको प्रचलित मूल्य अर्थात् व्यापारीले तिरेको मूल्यलाई आधार नमानी सन्दर्भ मूल्यलाई मान्यता दिने गरेको छ । यसो गर्दा विश्व बजारमा सामानको मूल्यमा आउने उतारचढावका कारण व्यवसायीलाई तनाब हुने गरेको छ । विश्वबजारमा सस्तो सामान ल्याउँदा वा महँगोमा ल्याउँदा सन्दर्भ मूल्यभन्दा फरक परे व्यापारीमाथि कारबाही हुने गरेको छ । एउटै एचएस कोड भएका सामानको पनि गुणस्तर र मूल्यमा आनको तान फरक हुन्छ । त्यसैले भन्सारले सस्तो मूल्य कायम गरिदिँदा उनीहरूले बढी मूल्य तिर्नुपरिरहेको हुन्छ । भन्सारले तोकको मूल्यअनुसार उनीहरूले सटही सुविधा पाउँछन् । यस्तोमा नपुग पैसा हुन्डीमार्फत पठाउनुपर्ने बाध्यता सृजना भएको पाइन्छ । त्यसैले आयातित वस्तुको मूल्य निर्धारणमा अन्तरराष्ट्रिय अभ्यास जे छ त्यसैलाई पछ्याउन आवश्यक छ । अहिले विश्वभरि नै भन्सार मूल्यका लागि सन्दर्भ मूल्यलाई आधार मान्न छाडिएको छ भन्दा हुन्छ । तर, नेपालमा भने अझै यसै आधारमा भन्सार शुल्क लिने गरिएको छ ।
भन्सार कार्यालयमा हुने धेरै खालको विकृति रोक्न आधुनिकतम प्रविधिको प्रयोग भइरहेको हुँदा यसमा व्यापारीले भन्सार छल्न सक्ने सम्भावना ज्यादै कम हुन्छ । तर, कर्मचारीको मिलोमतो भएमा जस्तो सामान पनि पास हुने रहेछ भन्ने सुन तस्करी काण्डले देखाएको छ ।
अर्को, भन्सारविन्दुमा राम्ररी चेकजाँच भएको सामान त्यहाँबाट अन्यत्र ढुवानी गर्न लैजाँदा राजस्व अनुसन्धान विभागले बीच बाटोमा रोकेर सामान जाँच्ने गरेको छ । यसरी बीचमा सामान जाँच्नुलाई अन्यथा भनिहाल्न त मिल्दैन तर सामान्य आशंकाको भरमा वा व्यापारीलाई दु:ख दिने र केही पैसा झार्ने निहुँमा पनि यस्तो काम भइरहेको पाइन्छ । भन्सार विन्दुबाट अवैध तरीकाले सामान भित्रिएको छ भने त्यसमा व्यापारीको मात्रै गल्ती होइन, त्यहाँको ड्युटी अफिसरको पनि गल्ती हो । उदाहरणका लागि अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी काण्डलाई लिन सकिन्छ । त्यहाँ अवैध तरीकाले सुन भित्त्याउने मात्र होइन, ती सामान पास गर्ने कर्मचारीलाई पनि अनुसन्धानका लागि थुनामा राखिएको छ ।
त्यसैले भन्सार कार्यालयमा हुने धेरै खालको विकृति रोक्न आधुनिकतम प्रविधिको प्रयोग भइरहेको हुँदा यसमा व्यापारीले भन्सार छल्न सक्ने सम्भावना ज्यादै कम हुन्छ । तर, कर्मचारीको मिलोमतो भएमा जस्तो सामान पनि पास हुने रहेछ भन्ने सुन तस्करी काण्डले देखाएको छ । व्यापारीलाई व्यापार गर्न सहज बनाउँदा वैध व्यापार फस्टाउँछ । तर, उनीहरूलाई जति कडाइ गरिन्छ त्यति नै चोरबाटोबाट सामान भित्रिन्छ । त्यसैले सहज र आधुनिक प्रणालीलाई व्यावहारिक बनाएर वैदेशिक व्यापारलाई सहज गरिनुपर्छ र भन्सारछली पनि रोक्नु आवश्यक छ । त्यसका लागि अन्य विकल्प पनि छन् । त्यो विकल्पमा लाग्न अब ढिला गर्नु हुँदैन ।