क्राफ्ट प्यालेसकी प्रोपाइटर अल्लो उद्यमी मल्लिका श्रेष्ठ दैनिक २ सय थान अल्लोका सामग्री बिक्री गर्छिन् । कुपण्डोलस्थित प्यालेसबाट उनले दैनिक ३ हजार ५ सय रुपैयाँसम्मको सामान बिक्री गर्ने गरेकी छन् । २०६१ सालमा १० लाख रुपैयाँबाट सुरु भएको यो उद्योग अहिले २५ लाख पुँजीको बनेको छ । जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले अल्लोबाट निर्मित कपडा ग्राहकहरूले मन पराउने गरेका छन् । सबै वर्गका उपभोक्ताले अल्लोका सामान मन पराएको बताउँछिन् श्रेष्ठ । अल्लोका सामानहरू विदशमा समेत निर्यात हुने गरेको छ । भारत, फ्रान्स, जापान, अमेरिका र अस्ट्रेलिया आदि देशहरूमा यी सामान निर्यात हुँदै आएका छन् । ‘विदेशमा माग भएअनुसार गुणस्तरीय सामान हामीले बहिर पठाएका छौं,’ श्रेष्ठले भनिन् । अल्लोबाट टोपी, जुत्ता, कोट ज्याकेट, ब्याग, होमडेकोरेशनलगायत सामान तयार हुने गरेका छन् ।
संखुवासभाकी अर्की उद्यमी प्रमिला राई पनि यो क्षेत्र राम्रो भएको बताउँछिन् । ८० हजार रुपैयाँबाट व्यवसाय सुरु गरेकी उनको निम रिडक बायोह्यान्डिक्राफ्ट अहिले १५ लाख पुँजीको बनेको छ । यसले आफूलाई एक सफल अल्लो व्यवसायीका रुपमा स्थापित गरेको उनको बुझाइ छ । हिमालय नेचुरल फाइबार फाउन्डेसनले मेसिन किन्न र बिरुवा रोप्नका लागि २ लाख ५० हजार दिएको उनले बताइन् । यसैगरी डीएफ द इस्ट फाउन्डेसनले अल्लोको कपडा बुन्ने तालिमको व्यवस्था गरेको छ ।
अंक ३८, २०६७, जेठ १०–१६