फागुन २०, चितवन । कामना सेवा विकास बैंक लिमिटेडले चितवनका विभिन्न तीन ठाउँबाट एकैपटक सेवा शुरु गरेको छ ।
कम्पनीले चितवनका ग्रामीण क्षेत्रका बैंकिङ सेवाको पहुँच पुर्याउन आफ्नो सेवा विस्तार गरेको हो ।
कम्पनीले चितवनको खैरहनी नगरपालिका वडा नम्बरस्थित पर्सा बजार, कालिका नगरपालिका वडा नम्बर ४ स्थित पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा शाखा कार्यालय विस्तार गरेको बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए ।
उनका अनुसार बैंकले हालैमात्र सेवा शुरु गरेको र बैंकको औपचारिक शुभारम्भ चैतमा गर्नेछ । ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सर्वसुलभ सेवा दिन र बैंकको पहुँच पुर्याउन शाखा विस्तार गरिएको क्षेत्रीय प्रबन्धक भण्डारीको भनाइ छ ।
कम्पनीले व्यवसाय विस्तारको क्रममा बृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको र सेवाग्राहीको माग र आवश्यकता अनुसार शाखा थप गर्दै लगेको हो ।
आगामी दिनमा पनि बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने कम्पनीको लक्ष्य रहेको भण्डारीले बताए ।
कम्पनीले यससँगै देशभर १३२ ओटा शाखा, १ ओटा विस्तारित काउन्टर, ४ ओटा शाखारहित बैंकिङ सेवा तथा ७७ ओटा एटीएम मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।