गत जेठदेखि बाजुरामा लगातार परेको झरीका कारण सडकको ठाँउ-ठाँउमा पहिरो बग्न थालेपछि साँफे मार्तडी लोकमार्ग अझै सुचारु हुन सकेको छैन ।
लामो समय देखि सडक सुचारु नहुँदा बाजुराका स्थानीयहरूलाई खाद्यान्न ढुवानी गर्नुका साथै आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।
पहिरोले लोकमार्ग बन्द भएपछि सदरमुकाम मार्तडीका व्यापारीहरूले पहिलेझैँ खच्चरमा सामान ढुवानी गर्दै आएका छन् । व्यापारीहरूले यसरी खच्चर मार्फत सामान ढुवानी गर्दा उपभोक्ताहरू चर्को मूल्यमा सामान खरिद गर्न बाध्य भएका छन् । सडक पहिरोमा परिणत भएपछि यहाँका अधिकांश किसानले बारीमा उत्पादन गरेका तरकारी पनि बजारमा पुऱ्याउन पाएका छैनन् ।