बालकोट जानुअघि प्रचण्डलाई देउवाको फोन- आउनुस् यार म मिलाउँछु, प्रचण्डले भने- अब ढिला भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारबाट अन्तिम छलफलका लागि गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह अश्वीकार गरेका छन् । उनले अब ढिला भइसकेको भन्दै गठबन्धन भंग भएको घोषणा गरेका हुन् । बिहानको बालुवाटार वार्तामा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड बालकोट जाने भन्दै बाहिरिएका थिए । बालकोट जान भनेर हिँडेका […]

सम्बन्धित सामग्री

विकासको बस

देशमा लोकतन्त्र आएर कसलाई के फाइदा भो ? फाइदै भैरहेको छ नि कतिपयलाई । पञ्चायतकालमा अहिलेका नेताहरूलाई घाटा थियो । अहिले फाइदा भैराछ । जनतालाई घाटा भो होला, तर नेता र सरकारहरूलाई त फाइदै फाइदा छ । ती मूर्खहरूको कुनै काम छैन, जो लोकतन्त्र आएर देशलाई के फाइदा भो भनेर रोइलो मात्र गरिरहन्छन् । प्रधानमन्त्रीले मात्र होइन, अर्थमन्त्रीले पनि भनिरहेका छन् कि नेपालको विकासको बस अब तेज गतिमा कुद्छ । हो, विकासको बस ढिला ढाला भए पनि कुद्न चैं कुदिनै रहेको छ । त्यो कहिले बालुवाटारबाट सिंहदरबार, कहिले बालकोट दरबारबाट खुमलटार र कहिले पेरिसडाँडाबाट बालकोट गरिरहेको छ । हाम्रा धर्मशास्त्रहरूमा लेखिएको छ कि जब जब पृथ्वीमा पाप बढ्छ, तब तब धर्तीमा ईश्वरको अवतरण हुन्छ । हाम्रा नेताहरूले सोचे कि अहिले ईश्वरले अवतार लिइरहेका छैनन् । यसको मतलब धर्तीमा पापको कमी भयो । अनि अब के गर्ने त भन्दा पाप बढाउनुपर्‍यो । पाप बढ्यो भने न बल्ल ईश्वरले अवतार लिन्छन् । बिचरा नेताहरूले ईश्वरले अवतार लिऊन् भनेरै मात्र पाप बढाउँदै लगेका हुन् । विष्णुका अवतार आउलान्, आफूलाई मार्लान् र फेरि वैकुण्ठमा जान पाइएला भनेर रावणले सीता हरे जस्तै । चाहे त्यो हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार होस् वा देशद्रोह । वास्तवमा उनीहरूले कुनै गलत काम गरिरहेकै छैनन् । किनकि उनीहरू त दूरदृष्टि राखेर देशका हितका खातिर नै लागिरहेका छन् । त्यसैले तपाईं हामी सबैले नेताहरूका काममा सहयोग गर्नुपर्छ । यसमा अरू माथापच्ची गर्नु जरुरी नै छैन । यो देशमा टेन्सन त यो छ कि जुन कुरामा जनताले तनाव लिनुपर्ने हो, त्यसमा लिइरहेका छैनन् । जुनमा नलिनुपर्ने हो, त्यसमा तनाव लिइरहेका छन् । एकथरी मानिसहरू कालोधन जम्मा भयो, त्यसको खोजी गरौं, अझ कालोधन कमाएर विदेशमा पठाउनेहरूलाई खोजी खोजी कारबाही गरौं भनिरहेका छन् । तर उनीहरूले के बुझेका छैनन् भने धन कालो पनि हुन्न, सेतो पनि हुन्न । धन त धन मात्र हुन्छ । बरु धनको मुख रातो चाहिँ हुन्छ । अझ हाम्रो धर्म, संस्कृति र परम्परा अनुसार त ‘वसुधैव कुटुम्बकम्’ भनेर मानेको छ, अर्थात् विश्व नै एक परिवार हो । यदि विश्व नै एउटै परिवार हो भने धन यहाँ भए पनि उहाँ भए पनि परिवारभित्रै त छ । यसमा कसैले टेन्सन किन लिने ? अर्काथरी मानिसहरू देशमा बेरोजगारी बढेकोमा चिन्ता गर्छन् । बसी बसी खाने मानिसहरू धेरै हुँदै गएपछि बेरोजगारी त बढ्ने नै भयो नि । तर तिनलाई पनि सामाजिक सञ्जालले रोजगारी दिएकै छ त । वास्तवमा मानिसहरू देशमा कामै गर्न चाहँदैनन् । हेर्नुस् त, विहारीहरू नेपाल आएर तरकारी, फलफूल बेच्छन्, कुचो, बस्ने मुडा आदि साइकलमा राखेर बेच्छन्, कपाल काट्ने, प्लम्बिङ आदि काम गर्छन् । निर्माण, कृषि आदि क्षेत्रमा काम उनीहरूले नै धानिरहेका छन् । तर महान् नेपालीहरूले चैं यस्तो सानातिना काम गर्ने कुरै आउँदैन । नेपालीहरू ठूलै सोच्छन् क्या ! विदेशमै काम पाइन्छ भने स्वदेशमा काम किन गर्ने ? अनि विदेश नगए स्वदेशको सरकार कसरी चल्छ ? फेरि देशमा बेरोजगारी बढेन भने विदेश को जाने ? त्यसकारण बेरोजगारी बढेकोमा टेन्सन किन ? यो बेरोजगार हुनु सामान्य कुरा हो नि । काम नभएपछि वा काम नगरेपछि मान्छे बेरोजगार हुन्छ । कुरा स्पष्ट छ । अर्का एकथरी मानिसहरू सरकारी सेवा पाउन जनता लाइनमा खडा हुनुपरेकोमा पनि सरकारलाई गाली गर्छन् । बसी बसी सेवा त कहाँ पाइन्छ त ? सेवा प्राप्त गर्न त लाइनमा खडा हुनैपर्छ नि । लाइनमा खडा हुँदैमा आजसम्म कति नै मरेका छन् र ? आखिर एक दिन त मान्छे लाइनमा खडा नभईकन पनि त मर्छन् । काल आएपछि मान्छे मर्छन्, लाइनमा खडा भएर हैन । यसमा के नयाँ कुरा भो र ? अनलाइन भने पनि ननलाइन भने पनि लाइनमा त बस्नैपर्‍यो नि । कोही भिख मागेर रंगशाला बनाउने लाइनमा छन् । कोही ईख साँधेर मन्त्री, प्रधानमन्त्री बन्ने लाइनमा । कोही देशभित्रै अनेकथरी लाइनमा छन् त कोही विदेश जाने लाइनमा छन् । कोही भने अनलाइनको नाममा ठग्ने लाइनमा छन् । तर सबै सबै कुनै न कुनै लाइनमै छन् । नेपालीहरू त पाएसम्म कोही पनि नेपाल बस्नै चाहन्नन्, त्यसैले त विदेश जाने लाइनमा छन् । किन भनेर सोध्नु होला । किनकि मल्लकालदेखि, शाह, राणा हुँदै अहिलेका दाहालसम्म हामी सबैका पालामा भगवान् समेत उतै अर्थात् विदेशै जान खोज्दा रहेछन् । सीता भारत कुदिन्, भृकुटी तिब्बत । हाम्रा अरनिको चीनतिर कुँदे, बलभद्र लाहुरतिर । यो भिन्दै कुरा हो कि पहिले विदेश पुगेका कतिपय भगवान्हरू अहिले भने केही अमेरिकाबाट, केही बेलायतका म्युजियमबाट नेपालमै फर्किरहेका छन् । केही भगवान् फर्किसकेका छन् त केही फर्किने क्रममा छन् । कोही कोही त यता आएर चन्दा खोज्न थाल्या छन् क्यारे ! यसरी भगवान्हरू स्वदेश फर्किन थालेपछि जनताले अब तनाव लिनुपर्ने कुनै कारणै छैन । भगवान्ले छु मन्तर गरेपछि दुःखका दिन कसो नसकिएलान्, देशले विकासको लय कसो नसमात्ला ? किनकि प्रधानमन्त्रीले मात्र होइन, अर्थमन्त्रीले पनि भनिरहेका छन् कि नेपालको विकासको बस अब तेज गतिमा कुद्छ । हो, विकासको बस ढिला ढाला भए पनि कुद्न चैं कुदिनै रहेको छ । त्यो कहिले बालुवाटारबाट सिंहदरबार, कहिले बालकोट दरबारबाट खुमलटार र कहिले पेरिसडाँडाबाट बालकोट गरिरहेको छ । दिनमा मात्र हो र रातमा समेत कुदिरा पो छ त । यो भिन्दै कुरा हो कि यो बेलाबेलामा बीचबीचमा घ्याच्च घ्याच्च रोकिन्छ, ड्राइभर फेरिन्छ । ड्राइभर ड्राइभरको किचलो हुन्छ । अचम्म त यो छ कि ड्राइभर ड्राइभर कति बेला हात मिलाइसक्छन्, कति बेला खलासी खलासी चाहिँ ङ्यारङ्यार र ङुरङुर गरिरन्छन् थाहै हुन्न । हुन पनि विकासको बाटोमा ढुंगाहरू कहाँ मात्र छैनन् र ? कहिले कुन दल त कहिले कुन दलका बाटामा ढुंगाहरू आइरहेकै छन् । एउटा दलको बाटोेमा ढुंगा आएपछि अरू दलका बाटोमा पनि स्वतः ढुंगाहरू आउँदा रहेछन् । त्यसपछि त देशकै विकासको बाटोमा ढुंगा आइहाल्छ । नत्र देशमा विकासको बस कति छिटो कुद्थ्यो होला कति । तपाईं देशमा विकासको बसको गति कसरी अघि बढिरहेको छ र आगामी दिनमा कसरी अघि बढ्ला भन्ने जान्न साँच्चै उत्सुक हुनुुहुन्छ ? त्यसो भए नेपालको कुनै पनि दलको कार्यालय, सरकारी कार्यालयभित्र गएर हेर्नुस् । नेता र कर्मचारीहरूकोे सोच, क्षमता, इमानदारी परख गर्नुस् । अनि तपाईंले मानेका र ठानेका विकासे विराट अवतारको साक्षात् दर्शन पाउनुहुन्छ ।