पाल्पा । पाल्पाको तालपोखरा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । कोभिडकै बीच पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।
पाल्पाको सदरमुकाम तानसेनबाट करीब ६५ किलोमिटर पूर्वमा अवस्थित तालपोखरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् । अहिले दैनिक ४०० हाराहारीमा पर्यटक आउने गरेको डुंगा चालक भगवान देवकोटा बताउँछन् । ‘माघे संक्रान्तिपछि यहाँ आउने मानिस दिनहुँ बढेका छन्, हामीलाई पनि डुंगा चलाउने काम पुगेकै छ,’ उनले भने ।
ताल वरपर डुंगामा घुम्न प्रतिव्यक्ति रू. ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन ओटा डुंगा सञ्चालनमा छन् । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुंगा शयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ ।
१०० पर्यटकीय गन्तव्यस्थलमा समेटिएको तालपोखरामा हालसालै विभिन्न पूर्वाधार निर्माण तथा स्तरोन्नति सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिए पनि अहिले भने नियमित रूपमा डुंगा चलिरहेको छ । डुंगा शयर गर्न विभिन्न ठाउँबाट मानिसहरू तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारीले बताए ।
अहिले मिनी फेवातालको रूपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदीप पाण्डेयले बताए ।
प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रूपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए । ‘एक दशकदेखि तल्लीन भएर समितिले भौतिक पूर्वाधारका काम गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ’, अध्यक्ष देवकोटाले भने । उनका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ ।
फेवातालको झल्कोस्वरूप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुंगा सञ्चालन शुरू गरिएको हो । कोरोनाको कहर शुरू भएपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै डुंगा सञ्चालन बन्द गरिएकोमा गत असोजदेखि भने नियमित छ । करीब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । ताल र पार्कसहित करीब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रूपमा परिणत गरिएको हो । रासस