पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम शनिबार बेलुकी नै समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए । जाग्रामपछि आज बिहान एक महिनासम्म स्वस्थानी देवीलाई चढाइएको फूलपाती नजिकैको नदी, ताल, तलाउ वा पोखरीमा लगी सेलाउने व्रत विधि छ ।