नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त

फागुन ५, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष छनोटका लागि गठित समितिले अन्तिम चरणमा तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले डा. गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेश कुमार हमालको नाम सिफारिस गरेको हो । समितिको सिफारिसमा परेका तीन जनामध्येबाट मन्त्रिपरिषदको बैठकले एक जनालाई आगामी चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका थिए ।  सर्वोत्तम सिमेन्टको भित्री शेयर कारोबारमा मुछिएपश्चात तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई छानबिन समितिको सुझावमा सरकारले बर्खास्त गरेपछि  उक्त पद रिक्त थियो ।उनी बर्खास्त भएपछि सरकारले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएर नियुक्त प्रक्रिया शुरु गरेको थियो । नियुक्तिपछि उनले पत्रकाररुसँगको कुराकानीमा आफू केहि गरौं भनेर आएको भन्दै आगामी दिनमा सबैको सल्लाह सुझाव लिएर काम गर्ने बताएका छन् । साथै उनले धितोपत्रको क्षेत्रमा क्षेत्रमा सुधार गर्नुपर्ने ठाउँहरु धेरै छन्, त्यसका लागि आफूले काम गर्ने पनि बताएका छन् ।  डोटी जिल्लाको सिलगढीमा जन्मिएका हमालले इलेक्ट्रिकल ईञ्जिनीयरिङमा स्नातक गर्नुका साथै बैंकक स्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्टरनेशनल बिजनेश (फाइनान्स) मा एमबीए पनि गरेका छन् ।

सम्बन्धित सामग्री

२६ ओटा कम्पनी आईपीओ निष्कासन स्वीकृतिको पर्खाइमा, अधिकांश जलविद्युत् कम्पनी

फागुन २२, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार अहिले २६ ओटा कम्पनी आईपीओ निष्कासन गर्न स्वीकृतिको पर्खाइमा रहेका छन् । ती कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर विभिन्न समयमा आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएका हुन् ।  सेबोनका अनुसार ती कम्पनीले सेबोनसँग कुल ६ करोड ५९ लाख ४९ हजार २८९ कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएका छन् ।  आईपीओ निष्कासन गर्न निवेदन दिएका २६ ओटा कम्पनीमध्ये २० ओटा हाइड्रोपावर कम्पनी रहेका छन् । त्यस्तै तीन ओटा लघुवित्त कम्पनी, दुुई ओटा इन्स्योरेन्स कम्पनी र एउटा अन्य समूहको डिस मिडिया नेटवर्क कम्पनी रहेको छ ।  आईपीओ निष्कासनका लागि निवेदन दिएका २६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी कित्ता रसुवागढी हाइड्रोपावर कम्पनीले निष्कासन गर्न लागेको छ । यो कम्पनीले कुल ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गर्न सेवोनमा निवेदन दिएको छ । त्यसैगरी बढी कित्ता निष्कासन गर्न आवेदन दिनेमा दोस्रोमा रिलायबल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्र्ने तयारी गरेको हो । उक्त कम्पनीले प्रिमियम मूल्य रू. ११२ थप गरेर प्रतिकित्ता रू. २१२ मा आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ ।  त्यसैगरी ती कम्पनीमध्ये सबैभन्दा कम आदर्श लघुवित्त वित्तीय संस्थाले ६० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ । निवेदन दिएका ती कम्पनीहरूले सेबोनबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । पछिल्लो समय सेबोनमा अध्यक्ष नियुक्त नभएका कारण आईपीओ निष्कासनका लागि निवेदन दिएका कम्पनीहरुले स्वीकृति पाउन ढिलाइ भइरहेको थियो । अहिले भने सेबोनको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भइसकेका छन् । अब सबै प्रक्रिया पूरा भएका कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउने सम्भावना बढेको छ । अध्यक्ष नियुक्त हुनुभन्दा केही समय अगाडि मात्र छ ओटा कम्पनीले एकै पटक आईपीओ निष्कासनको अनुमति पाएका थिए । अनुमति पाएका छ ओटा कम्पनीमध्ये बलेफी हाइड्रोपावर र ग्रीन भेञ्चरले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेका छन् । यी कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछन् । त्यसैगरी स्वीकृति पाएका कम्पनीमध्ये चार ओटा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिसकेका छन् ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट