विश्वविद्यालयमा पार्टीको होइन, प्राज्ञिक एजेन्डा बोकौंः पूर्वउपकुलपति

काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. तीर्थराज खनियाले पार्टी राजनीतिको छायामा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको टिप्पणी गरेका छन् । ‘नेपाल विश्वविद्यालयमा सबभन्दा बढी राजनीति हुने देश हो । जयतु संस्कृतम्देखि यताको सात दशकसम्म विद्यार्थीलाई सबैभन्दा बढी राजनीतिमा प्रयोग हुँदै आएको छ । विश्वविद्यालयमा पार्टी राजनीतिको छाया बढी भयो । स्ववियु निर्वाचनको […]

सम्बन्धित सामग्री

बधाइ छ बधाई !

धेरैले भन्छन्, सरकार केवल गफ गरिरहेको छ, काम गरिरहेको छैन । तर त्यसो होइन । भर्खर त नयाँ सरकार बनेको छ । नयाँ सरकार भएपछि दौरासुरुवाल पनि नयैं सिलाउनु पर्‍यो । अलि सास फेर्न त दिनुस् । अनि जत्ति गर्न मन लाग्छ, गर्नुहोला नि गाली, हुन्न ? हुन त तपाईंको गालीले सरकारको न दाल गल्नेवाला छ, न बाल नै झर्ने वाला छ । झिँगाको सरापले डिँगा मर्दैन क्यारे । बरु गाली छाडेर ताली बजाउनुस्, आफ्नो भाग्य सपार्नुस् । राजनीतिक स्थिरताका लागि पनि राम्राभन्दा हाम्रा मान्छे नियुक्ति गर्नुपर्ने हुन्छ । राणा शासन १०४ वर्ष टिकेको पनि त्यही दाजुभाइ र नातेदारलाई खोजी खोजी राखेरै त हो । काम पनि गरिराखेकै छ त हो । राष्ट्रपतिकोमा नयाँ नयाँ सिफारिस पठाएको पठायै छ । सत्तामा फेरि आएदेखि नै सरकारले विभिन्न पदमा युद्धस्तरमा नियुक्ति गरिरहेकै छ त ।  देख्नुभएन, सरकारले तीन वर्षमा राजदूत नियुक्त गर्न सकिरहेको थिएन, अहिले तीन दिनमै ११ देशमा राजदूत नियुक्ति गर्नु कम ठूलो काम हो त ? अब फालिएका ७ मन्त्रीका ठाउँमा नयाँ मन्त्री पनि तु नियुक्त गर्ला । काम गरेन पनि भन्ने अनि ग¥यो भने ‘काम पाइनस् ....के गर’ भन्याजस्तो टीकाटिप्पणी शुरू गरिहाल्ने ? आलोचना र टिप्पणी पनि कस्ता अमिल्दा । राजदूत सिफारिश गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाटै हुनुपर्ने प्रावधानलाई सरकारले कुल्च्या कुल्च्यै छ रे । अनुभव र योग्यताको धज्जी उडाइयो रे । ‘राजनीतिकेन्द्रित’ बनाइयो रे । परराष्ट्र सेवाबाट दुईजना मात्र र बाँकीमा एमालेका कार्यकर्ता, त्यो पनि आफ्नै खल्तीका व्यक्तिलाई चयन गरियो रे । यसले राजदूत पदको मर्यादाकै बर्खिलाप भयो रे । यो सिफारिश आफैमा हास्यास्पद र कूटनीतिक दृष्टिकोणबाट अशोभनीय भयो रे । सरकारले चाकडी–चाप्लुसीको प्रवृत्तिलाई प्रश्रय दिएको प्रस्टै देखियो रे । राजदूत त बौद्धिक, प्राज्ञिक र सामाजिक चिनारी भएको हुनुपथ्र्याे रे । विषयगत जानकारी भएको हुनुपथ्र्याे रे । परराष्ट्र मन्त्रालयसमेत पद्धतिभन्दा लहडले मात्रै काम गर्न थालेको पनि स्पष्ट भयोे रे । कूटनीति संवेदनशील र गम्भीर मामिला पो हो रे । यस्तो लहडले देशको छविमै दूरगामी असर पर्छ रे । सही व्यक्तिको सही समयमा नियुक्ति नभएकाले नै नेपालमा संघीयताको बाली फस्टाउन नसकेको हो रे । ल ! भयो त अब । यस्तो अरेका कुरा पछि लागेर पनि हुन्छ ? सरकारले जाबो १०/११ राजदूत नियुक्तिको सिफारिश के गर्‍याथ्यो, यत्रो विरोध ? ‘त्यो पर्दैन’ नि । अब फेरि नियुक्ति समावेशी भएन भनेर मुद्दै पर्न बेर छैन । होइन, राजदूतको काम के नै हुन्छ र हो ? हाम्रो देशमा बेलायत, अमेरिका, भारत, चीनबाट आएका राजदूतले पो उनीहरूका आआफ्ना देशका खातिर थुप्रै काम गर्नुपर्छ । त्यसैले उनीहरू हाम्रा मन्त्री, प्रधानमन्त्री, न्यायाधीश, नेताजीहरूका बेडरूमसम्मै पुग्न सक्नेगरी प्रत्युत्पन्न मति, अनुभवले खारिएका, तर युवाहरू नियुक्त भएर आएका हुन्छन् । त्यै भएर उनीहरूले आआफ्ना काम सजिलै फत्ते गराउन पनि सकिरहेका छन् । हाम्रा देशबाट जाने राजदूतको काम भनेको त नेताजीहरू विदेश जाँदा दालभात, ह्विस्की र गाडीको प्रबन्ध गर्ने त हो । यदाकदा नेपाली युवालाई यसो कतै लेबरसेबर काम पाइन्छ कि भनेर खोज्दिनेसम्म न हो । अँ, अर्को, काम भनेको कतिओटा कफिन बाक्सा नेपाल जाँदै छ भन्ने तथ्यांक राख्ने त हो । यीबाहेक नेपाली दूतहरूको काम के नै पो हुन्छ र त्यहाँ एकदम योग्य, पढालिखा, चतुर, कूटनीतिमा अनुभवी मान्छे छानेर पठाउनलाई ? अनि योग्य व्यक्ति पाउन पनि कहाँ सजिलो छ र ? आफ्नै पार्टीको हुनुपर्‍यो, त्यो पनि आफ्नै गुटभित्रको । त्यसमा पनि सालीपट्टिका सात पुस्तासम्म भए नि नातागोताभित्रैको चाहियो, नभए निर्वाचन क्षेत्र वा जिल्लासम्म त मिल्नैपर्‍यो । यी सबैभन्दा त मालदार वा मसलदार नै सबै दृष्टिले योग्य हुन्छन् । तपाईंले भनेजस्तो योग्य नै खोज्न त आफू पनि योग्य हुनुपर्‍यो नि ? सजिलो छ त राजदूत छान्न ? आर्थिक कूटनीतिको अर्थ र आन्तर्य बुझेका, बलियो कूटनीतिक सम्पर्क स्थापित गरेर द्विदेशीय र बहुदेशीय सम्बन्धका आयाम विस्तार गर्न सक्ने मान्छे पाउनै कस्तो गाह्रो । पाइहालियो र उसलाई पठायो भने उसले नियुक्तिकर्तालाई नै टेर्दैन । एउटा कोरा कार्यकर्ता खोजेर उसलाई राजदूतको पगडी गुथाइदियो भने उसले निगाह मानेर जयजयकार त गर्छ । बरु विरोधीको पनि एकाध मान्छे, अझ विरोधी दलका नेताका सासु वा बुहारी पारिदिएपछि त विरोध पनि सामसुम हुन्छ । राजनीतिक स्थिरताका लागि पनि राम्राभन्दा हाम्रा मान्छे नियुक्ति गर्नुपर्ने हुन्छ । राणा शासन १०४ वर्ष टिकेको पनि त्यही दाजुभाइ र नातेदारलाई खोजी खोजी राखेरै त हो । त्यसैले, यो बहस गर्ने बेलै होइन । यो त अनिकालमा बीउ जोगाउने, महामारीमा जीउ जोगाउने बेला हो । यो समय कुन नियुक्ति कसको पकेटभित्र र कसको बाहिर भनेर बहस गर्ने बेला पनि होइन । कुनै योजना बनाउने र यो वा त्यो गर्ने बेला पनि हैन यो । यो त सबै कुरालाई जति टाल्न सकिन्छ, त्यति टाल्दै जाने हो । किनकि जसले यो समयलाई टाल्न सक्छ, त्यसैले भोलि चुनावमा विपक्षीलाई पछाडि फाल्न सक्छ । त्यसकारण सरकारले गरिरहेको प्रत्येक काममा हाम्ले विरोध गर्ने होइन, मुद्दा हाल्ने पनि होइन, बरु टुलुटुलु हेरेर बस्ने हो । गाली होइन, ताली ठोक्ने हो । त्यसैले आउनोस् ताली ठोकौं । अहिलेलाई भने ठाउँमा आफ्ना भएका बेला राजदूत पड्काउन सफलहरूलाई बधाई ! हजारौं श्रद्वाञ्जलीहरूबीचबाटै नवनियुक्त माननीय र सम्माननीय ज्यूूहरूलाई बधाई ! यो शोकको घडीमा सामाजिक सञ्जालमा छाएका तपाईं भाग्यमानीहरूका हँसिला, कसिला, जोशिला तस्वीरहरूका लागि बधाई ! अक्सिजन, शय्या, आईसीयू, भेण्टिलेटर र औषधि नपाए पनि अहिलेसम्म सास फेरिरहन पाएकामा तपाईं हामी सबैलाई बधाई ! हाम्रो आर्तनाद सुन्ने फुर्सद नभए पनि महामहिम, माननीय, ताननीय र सम्मानीयज्यूहरूले कमसेकम हाम्रो बधाईलाई चैं कृपा गरेर स्वीकार गरिदिनुहोला है ! धन्यवाद !