सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सरकारी वा सामूहिक हित प्रवद्र्धनका लागि स्थापित, निर्देशित, सार्वजनिक उद्देश्य प्राप्तिका लागि मानवीय स्रोत र साधनको समूचित परिचालन, निर्देशन, समन्वय, सञ्चालन एवं व्यवस्थापन गर्न सरकारद्वारा सञ्चालित संयन्त्र नै सार्वजनिक प्रशासन हो । राज्यको उत्पत्तिसँगै सार्वजनिक प्रशासनको जन्म भएको मानिए पनि समाजशास्त्रको सिद्धान्तले सन् १८८७ मा अमेरिकी पूर्वराष्ट्रपति तथा प्रशासनविद् उड्रो विल्सनले सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन पुस्तक प्रकाशन गरेपश्चात् यसले छुटै विधाको रूपमा स्थान पाएको हो । उनले सार्वजनिक प्रशासनलाई सार्वजनिक कानुनको विस्तृत एवं व्यवस्थित कार्यान्वयन हो र प्रत्येक कानुनको कार्यान्वयन गर्नु प्रशासनको अपरिहार्य कार्य हो भनी परिभाषित गरेका छन् ।
विभिन्न विद्वान्ले आ–आफ्नो तर्क प्रस्तुत गर्दै सार्वजनिक प्रशासनलाई विभिन्न तवरबाट परिभाषित गरेको पाइन्छ । समग्रमा भन्नुपर्दा सार्वजनिक हित र कल्याणका निमित्त सार्वजनिक कानुनको प्रयोग गरी सरकार र अन्य शासकीय साझेदार पात्रमार्फत सञ्चालन, नियमन र प्रवद्र्धन गरिने विधिसम्मत प्रशासनलाई सार्वजनिक प्रशासन भनिन्छ । सार्वजनिक प्रशासनले एकातिर नागरिकसामु सरकारको उपस्थितिको बोध गराउँछ भने अर्कोतर्फ नागरिकका चाहना, आवश्यकता र गुनासाहरू सरकार समक्ष प्रस्तुत गर्ने माध्यमको हो । त्यसैले सार्वजनिक प्रशासनलाई सरकार र नागरिकबीचको सम्बन्ध सेतुका रूपमा लिने गरिन्छ । सरकारको कार्यकारी अङ्गका साथै शासन सञ्चालनमा सरकारको सहयोगी संयन्त्रको रूपमा रहेको सार्वजनिक प्रशासन मानिसको गर्भावस्था पूर्वदेखि चिहान पश्चात्सम्मका गतिविधिसँग सम्बन्धित छ ।