पुस ७, काठमाडौं । सिभिल बैंकले मंसिर २४ गते शुक्रवारदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने बुधवार अन्तिम दिन रहेको छ ।
कम्पनीले सूचना जारी गर्दै पुस ७ गतेसम्म मात्र ऋणपत्र विक्री खुला गरिने जानकारी दिएको हो । कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो ।
कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासनमा ल्याएको छ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गर्ने कुल १२ लाख कित्ता ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको छ भने बाँकी सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । ऋणपत्र खरीदका लागि छिटो अवधि मंसिर २८ गतेसम्म तोकेको थियो ।
उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि पुस ९ गतेसम्म विक्री खुला हुने बताएको कम्पनीले माग बमोजिम आवेदन परेकाले विक्री बन्द गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीले आवेदकले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता का लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ । कम्पनीले १० वर्ष अवधिका लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो । कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।