चीनले भ्रमण अनुमति दिएपछिको पर्यटन : पर्यटनकर्मी एमके कुलुङको विचार

सन् २०२३ लाग्नेबित्तिकै चीन सरकारले आफ्नो देशका नागरिकलाई विदेशमा पर्यटक भई घुम्न जान दिने निर्णय दुई चरणमा गरेको छ । उनीहरूलाई ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्पmत समूहमा विदेश भ्रमण गर्न जाने अनुमति दिएको हो । सन् २०१९ को अन्त्यतिर शुरू भएको कोभिड–१९ महामारीको ३ वर्षपछि चीन सरकारले दुई चरण गरेर ६० ओटा देशमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जाने अनुमति दिएको छ ।  पहिलो चरणमा विश्वका २० ओटा देश छानेर अनुमति जारी गरेको थियो । थाइल्यान्ड, इन्डोनेशिया, कम्बोडिया, श्रीलंका, माल्दिभ्स, मलेशिया, फिलिपिन्स, सिंगापुर, लाओस, युनाइटेड अरब इमिरेटस् (युएई), इजिप्ट, केन्या, रूस, दक्षिण अफ्रिका, स्वीट्जरल्यान्ड, हंगेरी, न्यूजील्यान्ड, फिजी, क्युबा र अर्जेन्टिना रहेका छन् । यी देशमा देशमा गएको फेब्रुअरी ६ तारीखदेखि चिनियाँ पर्यटक समूहमा घुम्न जान थाले । त्यस्तै गरेर चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले दोस्रो चरणमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जान पाउने विश्वका ४० ओटा देशको नाम सार्वजनिक गरेको छ । तिनमा नेपाल, ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, मौरिसस, नामिबिया, जिम्बाबे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोसिया, आइसल्यान्ड, अल्वानिया, इटली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोगा, सामोआ, ब्राजिल, चिली, डोमिनिका, एलसाल्भाडोर, रिपब्लिक अफ मोमिनिका, फ्रान्स, ग्रिस, स्पेन, उरूग्वे, पनामा, बहामास रहेका छन् । यी देशमा गएको मार्च १५ देखि चिनियाँ नागरिकहरू ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्फ समूहमा भ्रमण गर्न जान थालिसकेका छन् ।  चीन सरकारले पहिलो चरणमा विश्वका २० ओटा देशमा चिनियाँ नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जाने अनुमति दिएको देशमा नेपाल परेको थिएन । तर, दोस्रो चरणको सूचीमा भने नेपाल परेको छ । हालसालै एकै पटक १ सय ८० जना चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल भ्रमण गर्न आएका छन् । जुन पर्यटक समूहलाई नेपाल सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आदिले स्वागत गरेका थिए । एकैपटक नेपालमा १ सय ८० चिनियाँ पर्यटकलाई विमान चार्टर गरेर नेपाल भ्रमण गराउने ट्राभल कम्पनी बिग माउन्टेन ट्राभल हो । निश्चय नै यसले चिनियाँ पर्यटक नेपाल आउनका लागि सकारात्मक सन्देश दिएको छ ।  केही समयअघि चिनियाँ पर्यटन उद्योगसँग सम्बद्ध संस्था चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १ सय ५५ मिलियन चिनियाँ पर्यटक विदेश घुम्न निक्लिएका थिए । सन् २०२३ मा १ सय १० मिलियन चिनियाँ पर्यटक विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । ती मध्ये १ प्रतिशतलाई नेपालतर्फ आकर्षित गर्न सकेमा पनि १० लाखभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने देखिन्छ । तर, त्यसका लागि हामीले गर्नुपर्ने धेरै कामहरू तत्काल गर्न नसकिने अवस्था छ ।  कोभिड–१९ पछि को ३ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ । जस्तै सन् २०२० मा नेपालमा १९ हजार २५७ जना चिनियाँ पर्यटक आएका थिए भने सन् २०२१ मा केवल ६ हजार १९८ जना मात्रै । त्यस्तै सन् २०२२ मा ९ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए भने सन् २०२३ को जनवरी, फेब्रुअरी र मार्च महीनामा क्रमशः १४ सय ३६, २२ सय ३२ चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् ।  खासमा चीन सरकारले सन् २००३ देखि मात्रै चिनियाँ नागरिकलाई पर्यटकका रूपमा नेपाल आउने अनुमति दिन थालेको हो । त्यस वर्ष ७ हजार ५६२ जना चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल आएका थिए । त्यसयता नेपाल भ्रमण गर्न आउने चिनियाँहरूको संख्या लगातार बढिरहेको थियो । स्मरण रहोस्, सन् २०१९ मा १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा १ लाख ५३ हजार ६ सय ३३ जना, सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६५ जना, सन् २०१६ मा १ लाख ४ हजार पाँच जना, सन् २०१५ मा ६४ हजार ५ सय ७५ जना, सन् २०१४ मा १ लाख २३ हजार ८ सय पाँच जना र सन् २०१३ मा १ लाख १३ हजार १ सय ७३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको देखिन्छ ।  अब हामीले केकसो गरेर हुन्छ केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देश चीनलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । लगभग १ दशकदेखि चिनियाँ पर्यटक विश्वभरिका साना–ठूला देशका लागि आकर्षक र पहिलो नम्बर (धेरै संख्यामा विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) का पर्यटकका रूपमा रहेका छन् । तथापि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकचाहिँ खासै खर्चिलो नरहेको भन्ने पर्यटन क्षेत्रका व्यवसायीहरूको भनाइ रहेको छ । त्यसैले हामीले अब चिनियाँ पर्यटकको संख्यासँगै गुणस्तर बढाउनेतर्पm ध्यान दिनुपर्ने देखिन्छ । विश्वका अन्य देशमा धेरै खर्च गर्ने तिनै चिनियाँ पर्यटकले नेपालमा किन कम खर्च गर्छन् ? यो प्रश्नको जवाफ खोज्नैपर्ने हुन्छ ।  लेखक पर्यटनकर्मी हुन् । 

सम्बन्धित सामग्री

कहाँ जालान् ११ करोड चिनियाँ पर्यटक ? एक पर्यटनकर्मीको विचार

सन् २०२३ को शुरुआतसँगै विश्व पर्यटनमा चिनियाँ पर्यटकको दबदबा बढ्न थालेको छ । सन् २०१९ को डिसेम्बर अन्तिमबाट चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन शुरू भएको ‘नोभेलकोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिएको) बिस्तारै विश्वमै महामारीको रूप लिएपछि विश्वका प्रायः सबै देशले आआफ्नो देशमा यात्रा गर्न प्रतिबन्ध लगाउन शुरू गरे । जसका कारण लगभग १ वर्ष विश्व पर्यटनले ठूलो मार खेप्यो । चिनियाँ पर्यटक नहुँदा विश्व पर्यटन बजार नै शून्य बन्यो । कोरोनाकै कारण नेपालमा सन् २०२० मा १९ हजार २५७ जना, सन् २०२१ मा छ हजार १९८ जना र सन् २०२२ मा ९ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यो संख्या चिनियाँ पर्यटक नभएर चीन सरकार तथा चिनियाँ प्राइभेट कम्पनीले सञ्चालन गरेको विभिन्न आयोजनामा काम गर्न आएका चिनियाँ कामदारहरू रहेका थिए । सन् २०१९ मा मात्रै ११ करोड चिनियाँहरू विश्व भ्रमणमा निक्लेका थिए । कोभिड–१९ ले महामारीको रूप लिएपछि चिनियाँ पर्यटकको विश्व भ्रमण लगभग शून्यमा झर्‍यो । यसले गर्दा विश्व पर्यटनले सन् २०२०, सन् २०२१ र सन् २०२२ मा ठूलो आर्थिक मार खेप्नुपर्‍यो । खास गरी हवाई उडान, पानीजहाज र होटेल क्षेत्रले ठूलो आर्थिक मार खेप्यो । कोरोनाले भाइरल रोग विज्ञ तथा वैज्ञानिकहरूको अनुमानविपरीत लगभग ३ वर्षसम्म विश्वभरि नै आफ्नो साम्राज्य जमायो । अहिले पनि यसले पूर्णरूपमा विश्राम लिएको हो होइन, भाइरल रोग विज्ञ तथा वैज्ञानिकहरूले केही भन्न सकेका छैनन् । यसमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि केही बोलेको छैन । जे भए तापनि सन् २०२३ को शुरूमै विश्व घुम्न निक्लने पर्यटकको संख्यामा चिनियाँको दबदबा बढ्दै छ ।  चीनको पर्यटनसम्बन्धी अध्ययन गर्ने संस्था चाइना आउट बाउन्ड टुरिज्म (कोटरी) ले प्रकाशित गरेको पछिल्लो रिपोर्टअनुसार सन् २०२३ मा एघार करोड चिनियाँहरू पर्यटकका रूपमा विश्वका विभिन्न देशमा भ्रमण गर्न निक्लने छन् ।  विश्वमा धेरै घुम्न निक्लने पर्यटकको संख्या र विश्वकै धेरै खर्च गर्ने पर्यटक दुवै क्षेत्रमा चिनियाँ पर्यटक एक नम्बरमा रहने गरेका थिए । लगभग ३ वर्षपछि अर्थात् सन् २०२३ शुरू भए लगत्तै फेरि विश्वभरि नै पर्यटनले लय समात्ने आशा गरिएको छ । त्यसमा पनि लभगभ ३ वर्षसम्म कतै पनि घुम्न जान नपाएका चिनियाँ पर्यटकको भ्रमणले विश्वका धेरै देशको अर्थतन्त्रलाई भरथेग गर्ने आशा गरिएको छ । यसको एउटै मात्र कारण भनेको सन् २०२३ को फेब्रुअरीदेखि चीन सरकारले आफ्ना देशका नागरिकलाई दुई चरणमा विश्वका विभिन्न देशमा पर्यटक भई समूहमा घुम्न जान दिने निर्णय गर्नु हो । यसलाई ‘एप्रुभ डेस्टिनेशन स्टाटस’ (एडीएस) भनेर चिन्ने गरिन्छ । कोरोना महामारीपछिको लगभग ३ वर्षपछि चीन सरकारले त्यसरी दुई चरणमा आफ्ना देशका नागरिकलाई समूहमा विदेश घुम्न जाने अनुमति दिएकाले अबका दिनमा चिनियाँ पर्यटकको विश्व पर्यटन बजारमा दबदबा रहने देखिन्छ ।  चीन सरकारले पहिलो र दोस्रो चरण गरेर जम्मा ६० ओटा देशमा मात्रै आफ्ना नागरिकका लागि ‘एप्रुभ डेस्टिनेशन स्टाटस’ जारी गरेको छ । बिस्तारै चीन सरकारले अन्य देशका लागि पनि आफ्ना देशका नागरिकलाई पर्यटक भई समूहमा घुम्न जान दिन स्वीकृति दिने नै छ । गत जनवरी महीनाको २७ तारिखका दिन आफ्ना देशका नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जान दिनका लागि २० ओटा देशलाई स्वीकृति दिएको थियो । त्यसमा नेपाल परेको थिएन । दोस्रो चरणमा भने नेपाल पनि चिनियाँ पर्यटकका लागि घुम्न पाउने देशको सूचीमा परेको छ । यसले गर्दा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक ठूलो संख्यामा बढ्ने आशा जगाएको छ । त्यसो त सन् २०२३ को जनवरी र फेब्रुअरी महीनामा क्रमशः १४ सय ३६ र २२ सय ३२ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।  पछिल्लोपटक ‘कोटरी’ले सन् २०२३ मा ११ करोड चिनियाँ पयर्टक विश्व भ्रमण गर्न निक्लने प्रक्षेपण गरेको छ । ती पर्यटक कहाँ जालान् ? सबै देशका सरकार प्रमुख, पर्यटन व्यवसायी र पर्यटनविद्हरूको दृष्टि चिनियाँ पर्यटकमा परेको देखिन्छ । हामीले ती चिनियाँ पर्यटकमध्ये १ प्रतिशतलाई मात्रै नेपालमा आकर्षित गर्न सकेको खण्डमा हाम्रा लागि त्यही नै ठूलो उपलब्धि हुने देखिन्छ । तर, विगतको तथ्यतथ्यांक हेर्दाचाहिँ चिनियाँ पर्यटकको प्रथम रोजाइका देशहरूमा हङकङ, थाइल्यान्ड, दक्षिण कोरिया, मकाउ, ताइवान, अस्ट्रेलिया, फ्रान्स, सिंगापुर, जापान, माल्दिभ्स, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, जर्मनी, बेल्जियम, अस्ट्रिया, पोर्चुगल, नर्बे, मोनाको, टर्की, बेलायत आदि पर्ने गरेको देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

ल्हो मन्थाङ : गुणस्तरीय पर्यटनको हब बनाऊँ

हाम्रो देश नेपालमा अझै पनि यस्ता धेरै ऐतिहासिक ‘गाउँठाउँ, मठमन्दिर, गुम्बा, विभिन्न धर्मालम्बीको आस्थाको संगमस्थल अर्थात् धार्मिकस्थल, प्राकृति सम्पदा, राष्ट्रिय धरोहर, किल्ला, दुर्ग, डाँडाकाँडा आदि रहेका छन्, जहाँ अहिलेसम्म स्वदेशी तथा विदेशी पर्यटक एकपटक पनि नपुगेको हुन सक्छ । हामीले नेपालका त्यस्ता ‘कुमारी/भर्जन’ तथा ऐतिहासिक ‘गाउँठाउँ, मठमन्दिर, गुम्बा, विभिन्न धर्मालम्बीको आस्थाको संगमस्थल अर्थात् धार्मिकस्थल, प्राकृति सम्पदा, राष्ट्रिय धरोहर, किल्ला, दुर्ग, डाँडाकाँडा आदि रहेका ठाउँसम्म पुग्न गोरेटो, घोटेटो र सम्भव भएसम्म सडक यातायात जान नदिने बनाएर प्रचारप्रसार गर्न लागिहाल्नुपर्ने देखिन्छ । यस्तो कार्यले हाम्रो देशमा गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्न वा भनौं आकर्षित गर्नमा सहयोग नै पुग्ने देखिन्छ । त्यसैले यो कार्यमा पनि हामीले ध्यान दिएर लाग्नुपर्ने देखिन्छ । यो विषयमा पछि छुट्टै लेख लेख्ने विचार छ । अहिलेलाई भने गुणस्तरीय पर्यटनको कुरो गर्दा म माथिल्लो मुस्ताङबारे लेख्दै छु । स्थानीय भाषामा ‘ल्हो मन्थाङ’ भनिने माथिल्लो मुस्ताङलाई अंग्रेजी भाषामा फोरबिड्डन किङडोम, हिड्डेन किङडोम, मड सिटी, लस्ट किङडोम, अप्पर मुस्ताङ आदि नामले पनि चिनिन्छ । स्मरणीय के छ भने, विसं २०४६ सालअघि कानूनी रूपमा विदेशीहरूका लागि प्रवेश निषेध थियो– ‘ल्हो मन्थाङ ।’ विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै माथिल्लो मुस्ताङ, ‘ल्हो मन्थाङ’ अर्थात् अप्पर मुस्ताङमा विदेशीले भ्रमण गर्न पाउने व्यवस्था गरियो । त्यसो भए तापनि अमेरिकी नागरिक स्टान आर्मिङटङद्वारा लिखित र ‘लन्ली प्लानेट’द्वारा प्रकाशित ‘द हिमालय किङ्डोम’ नामक किताबमा लेखिएअनुसार विदेशीहरूका लागि विसं २०४६ सालअघि कानूनी रूपमा प्रवेश निषेध भनिए तापनि २०४६ सालअघि पनि ‘ल्हो मन्थाङ’मा राजदरबारका शाही पाहुनाहरू भने सुटुक्कै जान्थे । त्यस्तै गूगलमा सर्च गरेर हेर्दा सन् १९५२ मै स्वीस नागरिक टोनी हेगनले पहिलो विदेशीका रूपमा ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ । त्यस्तै ‘ल्हो मन्थाङ’ भ्रमण गर्ने दोस्रो व्यक्तिको रूपमा फ्रेन्च नागरिक माइकल पिसेल देखिन्छन् । उनले सन् १९६४ मा ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ । विसं २०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित शर्तहरूसहित ‘ल्हो मन्थाङ’ अर्थात् अप्पर मुस्ताङमा विदेशीहरूलाई पर्यटकीय उदेश्यले भ्रमण गर्न पाउने गरी खुल्ला गर्‍यो । जस्तै माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने पर्यटक कम्तीमा २ जना हुनैपर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, एक जना सरकारी सम्पर्क अधिकृत अनिवार्य रूपमा लैजानैपर्ने (हाल खारेज भइसकेको छ ।), १० दिनमा टे«किङ गरी सक्नुपर्ने (आधार खुलाएर थप २ दिन थप्न सकिने), एकजना पर्यटक बराबर ७० अमेरिकी डलर सरकारलाई राजस्व तिर्नुपर्ने, वर्षमा १ हजारभन्दा बढी पर्यटक जान नपाउने, कुनै पनि विदेशी पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिक सहयोग दिन नपाउने, विदेशी पर्यटकले स्थानीय समुदायलाई आर्थिक सहयोग दिनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनुपर्ने आदि शर्तसहित विदेशी पर्यटकलाई भ्रमण गर्न खुल्ला गरिएको थियो । लामो समयदेखि नेपालका अन्य केही हिमाली क्षेत्रझैं निषेध गरिएको ‘ल्हो मन्थाङ’ विदेशी पर्यटकका लागि खुल्ला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) ४ सय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा १,०६६ पुग्यो । त्यसपछि देशमा चलेको हिंसा प्रतिहिंसा (सरकार–तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुन माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या तीन अंकमा झर्‍यो । यो क्रम सन् २००६ सम्म जारी रह्यो । २०६२/२०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १,१५७ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीय बासिन्दा नै आश्चर्यचकित हुने गरी विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २,१९४ जना विदेशी पर्यटकले ‘ल्हो मन्थाङ’को भ्रमण गरे । हुन पनि भगौलिक हिसाबले तिब्बती पठार र ‘ल्हो मन्थाङ’को बनावट उस्तैउस्तै छ । त्यतिमात्रै होइन, उनीहरूबीच धर्म, भाषा, वेशभुषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालनजस्तै घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरीका उही, खेतीपाती गर्ने तरीका उही । त्यसमा पनि ‘ल्हो मन्थाङ’को तिब्बतको भन्दा पृथक् पहिचान के छ भने, ‘ल्हो मन्थाङ’का विभिन्न स्थानमा प्राचीन गुफाहरू प्रशस्तै छन् । जहाँ प्राचीन समयमा मानवबस्ती रहेको भनी विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । जुन सम्पदालाई त्यहाँ भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय बासिन्दा एवम् समग्र देशकै लागि पनि गर्व गर्नलायक सम्पदा वा भनौं धरोहर मान्न सकिन्छ । त्यस्तै ‘लो घ्याकर’मा अवस्थित लगभग १३ सय वर्ष पुरानो बौद्घ गुम्बाले पनि विदेशी पर्यटकका लागि कौतुहलता र आकर्षण थपेको छ । भनिन्छ, उक्त गुम्बा गुरु पद्यम सम्भवले तिब्बतमा बुद्घधर्म फैलाउन जाने क्रममा स्थापना गराएका हुन् । यसरी नेपालबाट ‘ल्हो मन्थाङ’ भ्रमणमा जान चाहने विदेशी पर्यटकका लागि महँगो दर तोकिएको भए तापनि, (‘ल्हो मन्थाङ’ भ्रमण गरेबापत तिर्नुपर्ने सलामी दस्तुर ७ सय अमेरिकी डलर तोकेको थियो भने पछि ५ सय अमेरिकी डलरमा झारेको छ ।) यो दरलाई कायमै राख्दै ‘ल्हो मन्थाङ’जस्तो ऐतिहासिक, पुरातात्त्विक तथा सम्पदा क्षेत्र रहेको उक्त क्षेत्रलाई ‘वेस्ट टुरिस्ट’/‘ब्याक प्याकर’, नेपाली पर्यटन क्षेत्रमा चलेको भाषामा भन्ने हो भने ‘झोले’ पर्यटकलाई लर्को लगाउने काम बन्द गरौं । बरु संख्या थोरै भए पनि प्रशस्त पैसा खर्च गर्न सक्ने, गुणस्तरीय र गुनिलो पर्यटकलाई मात्रै प्रवेश गर्ने नेपालको एक मात्र पर्यटकीय हबका रूपमा ‘ल्हो मन्थाङ’लाई विकास गरौं । लेखक पर्यटनकर्मी हुन् ।