सन् २०२३ को शुरुआतसँगै विश्व पर्यटनमा चिनियाँ पर्यटकको दबदबा बढ्न थालेको छ । सन् २०१९ को डिसेम्बर अन्तिमबाट चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन शुरू भएको ‘नोभेलकोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिएको) बिस्तारै विश्वमै महामारीको रूप लिएपछि विश्वका प्रायः सबै देशले आआफ्नो देशमा यात्रा गर्न प्रतिबन्ध लगाउन शुरू गरे ।
जसका कारण लगभग १ वर्ष विश्व पर्यटनले ठूलो मार खेप्यो । चिनियाँ पर्यटक नहुँदा विश्व पर्यटन बजार नै शून्य बन्यो । कोरोनाकै कारण नेपालमा सन् २०२० मा १९ हजार २५७ जना, सन् २०२१ मा छ हजार १९८ जना र सन् २०२२ मा ९ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यो संख्या चिनियाँ पर्यटक नभएर चीन सरकार तथा चिनियाँ प्राइभेट कम्पनीले सञ्चालन गरेको विभिन्न आयोजनामा काम गर्न आएका चिनियाँ कामदारहरू रहेका थिए ।
सन् २०१९ मा मात्रै ११ करोड चिनियाँहरू विश्व भ्रमणमा निक्लेका थिए । कोभिड–१९ ले महामारीको रूप लिएपछि चिनियाँ पर्यटकको विश्व भ्रमण लगभग शून्यमा झर्यो । यसले गर्दा विश्व पर्यटनले सन् २०२०, सन् २०२१ र सन् २०२२ मा ठूलो आर्थिक मार खेप्नुपर्यो । खास गरी हवाई उडान, पानीजहाज र होटेल क्षेत्रले ठूलो आर्थिक मार खेप्यो । कोरोनाले भाइरल रोग विज्ञ तथा वैज्ञानिकहरूको अनुमानविपरीत लगभग ३ वर्षसम्म विश्वभरि नै आफ्नो साम्राज्य जमायो ।
अहिले पनि यसले पूर्णरूपमा विश्राम लिएको हो होइन, भाइरल रोग विज्ञ तथा वैज्ञानिकहरूले केही भन्न सकेका छैनन् । यसमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि केही बोलेको छैन । जे भए तापनि सन् २०२३ को शुरूमै विश्व घुम्न निक्लने पर्यटकको संख्यामा चिनियाँको दबदबा बढ्दै छ ।
चीनको पर्यटनसम्बन्धी अध्ययन गर्ने संस्था चाइना आउट बाउन्ड टुरिज्म (कोटरी) ले प्रकाशित गरेको पछिल्लो रिपोर्टअनुसार सन् २०२३ मा एघार करोड चिनियाँहरू पर्यटकका रूपमा विश्वका विभिन्न देशमा भ्रमण गर्न निक्लने छन् । विश्वमा धेरै घुम्न निक्लने पर्यटकको संख्या र विश्वकै धेरै खर्च गर्ने पर्यटक दुवै क्षेत्रमा चिनियाँ पर्यटक एक नम्बरमा रहने गरेका थिए ।
लगभग ३ वर्षपछि अर्थात् सन् २०२३ शुरू भए लगत्तै फेरि विश्वभरि नै पर्यटनले लय समात्ने आशा गरिएको छ । त्यसमा पनि लभगभ ३ वर्षसम्म कतै पनि घुम्न जान नपाएका चिनियाँ पर्यटकको भ्रमणले विश्वका धेरै देशको अर्थतन्त्रलाई भरथेग गर्ने आशा गरिएको छ । यसको एउटै मात्र कारण भनेको सन् २०२३ को फेब्रुअरीदेखि चीन सरकारले आफ्ना देशका नागरिकलाई दुई चरणमा विश्वका विभिन्न देशमा पर्यटक भई समूहमा घुम्न जान दिने निर्णय गर्नु हो । यसलाई ‘एप्रुभ डेस्टिनेशन स्टाटस’ (एडीएस) भनेर चिन्ने गरिन्छ ।
कोरोना महामारीपछिको लगभग ३ वर्षपछि चीन सरकारले त्यसरी दुई चरणमा आफ्ना देशका नागरिकलाई समूहमा विदेश घुम्न जाने अनुमति दिएकाले अबका दिनमा चिनियाँ पर्यटकको विश्व पर्यटन बजारमा दबदबा रहने देखिन्छ ।
चीन सरकारले पहिलो र दोस्रो चरण गरेर जम्मा ६० ओटा देशमा मात्रै आफ्ना नागरिकका लागि ‘एप्रुभ डेस्टिनेशन स्टाटस’ जारी गरेको छ । बिस्तारै चीन सरकारले अन्य देशका लागि पनि आफ्ना देशका नागरिकलाई पर्यटक भई समूहमा घुम्न जान दिन स्वीकृति दिने नै छ ।
गत जनवरी महीनाको २७ तारिखका दिन आफ्ना देशका नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जान दिनका लागि २० ओटा देशलाई स्वीकृति दिएको थियो । त्यसमा नेपाल परेको थिएन । दोस्रो चरणमा भने नेपाल पनि चिनियाँ पर्यटकका लागि घुम्न पाउने देशको सूचीमा परेको छ । यसले गर्दा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक ठूलो संख्यामा बढ्ने आशा जगाएको छ । त्यसो त सन् २०२३ को जनवरी र फेब्रुअरी महीनामा क्रमशः १४ सय ३६ र २२ सय ३२ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।
पछिल्लोपटक ‘कोटरी’ले सन् २०२३ मा ११ करोड चिनियाँ पयर्टक विश्व भ्रमण गर्न निक्लने प्रक्षेपण गरेको छ । ती पर्यटक कहाँ जालान् ? सबै देशका सरकार प्रमुख, पर्यटन व्यवसायी र पर्यटनविद्हरूको दृष्टि चिनियाँ पर्यटकमा परेको देखिन्छ । हामीले ती चिनियाँ पर्यटकमध्ये १ प्रतिशतलाई मात्रै नेपालमा आकर्षित गर्न सकेको खण्डमा हाम्रा लागि त्यही नै ठूलो उपलब्धि हुने देखिन्छ । तर, विगतको तथ्यतथ्यांक हेर्दाचाहिँ चिनियाँ पर्यटकको प्रथम रोजाइका देशहरूमा हङकङ, थाइल्यान्ड, दक्षिण कोरिया, मकाउ, ताइवान, अस्ट्रेलिया, फ्रान्स, सिंगापुर, जापान, माल्दिभ्स, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, जर्मनी, बेल्जियम, अस्ट्रिया, पोर्चुगल, नर्बे, मोनाको, टर्की, बेलायत आदि पर्ने गरेको देखिन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।