काठमाडौं । स्टील, हाउजिङ, पेन्टिङ तथा अन्य व्यापार व्यवसाय गर्दै आएको साखः ग्रूप कम्पोस्ट मल उत्पादनमा प्रवेश गरेको छ । भक्तपुरका केही नगरपालिकाहरूसँगको सहकार्यमा परीक्षण उत्पादन शुरू गरेको यो ग्रूपले ४ महीनादेखि व्यावसायिक रूपमै कम्पोस्ट मल उत्पादन गरिरहेको छ ।
ग्रूपअन्तर्गत सहायक कम्पनी स्थापना गरेर नेपालमै कम्पोस्ट मल उत्पादन शुरू गरिएको साखः ग्रूपका निर्देशक किरणप्रकाश साखः जानकारी दिए । यस्तो मल उत्पादन गर्न ग्रूपले सिन्धुलीको दुधौली नगरपालिकामा रिकिसी दाइची कम्पोस्ट फर्टिलाइजर एन्ड एग्रो फार्म प्रालि स्थापना गरेको छ । किरण कम्पनीका अध्यक्ष हुन् ।
उनका अनुसार उक्त कम्पनीले रिकिसी कम्पोस्ट प्रालिको सहकार्यमा व्यावसायिक रूपमै मल बजारमा ल्याएको हो । कम्पनीले जापानी ‘सीएनबीएन’प्रविधिमा कम्पोस्ट मल उत्पादन गरिरहेको छ । ‘अहिले नगरपालिकाहरूमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ,’ साखस्ले भने, ‘अर्कोतिर मुलुकमा अर्बौं रुपैयाँ रकम रासायनिक मल आयातमा बाहिरिइरहेको छ ।’
भक्तपुरको ठिमीलगायत नगरपालिकासँग मिलेर कम्पोस्ट मल उत्पादन शुरू गरिएको उनको भनाइ छ । परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमै मल उत्पादन गर्न थालेको उनले जानकारी दिए । मलको गुणस्तर राम्रो भएको र सरकारले तोकेको मापदण्डअनुसार नै मल उत्पादन गरिएको साखःको दाबी छ ।
उक्त कम्पनीले ५८ ओटा रूम (कोठा)बाट मल उत्पादन गर्दै आएको छ । एउटा कोठाबाट १० टन मल उत्पादन हुने साखःले बताए । सिन्धुलीमा जग्गा खरीद गरेर ४ महीनादेखि व्यावसायिक उत्पादन गरिरहेको उनको भनाइ छ । अहिले कम्पनीले ५८ ओटा रूमबाट एक खेपमा ५८० टन कम्पोस्ट मल उत्पादन गर्दै आएको छ । रासायनिक मलले जस्तै यो कम्पोस्ट मलले काम गर्ने भन्दै उनले सबै नगरपालिकासँग सहकार्य गरेर यसको उत्पादनलाई थप विस्तार गरिने जानकारी दिए ।
गाईबस्तुको गोबर, ढुटो, पातपतिंगर, रातोमाटोलगायत कच्चा पदार्थबाट यो मल उत्पादन हुन्छ । उक्त मल गन्धरहित रहेको साखःको भनाइ छ । यो मलको प्रयोग तरकारी, धान, फलफूल बारीमा गर्न सकिने उनले जानकारी दिए । किरणका अनुसार कम्पनीले आगामी दिनमा निजीक्षेत्र र नगरपालिकाहरूसँग सहकार्य गरी मल उत्पादनलाई निरन्तरता दिनेछ ।