जेठ ७, चितवन । चितवनमा शुक्रवार सांँझ आएको हावाहुरीले व्यापक रुपमा भौतिक तथा मानवीय क्षति भएको छ ।
भीषण आएको हावाहुरीका कारण दर्जनौं बिजुलीको पोल ढल्दा जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरी रोकिएपछि विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारी तथा प्राविधिकहरु पोल व्यवस्थापन गर्न लागि परेका छन् ।
अधिकांश स्थानमा रुख र पोलसँगै लड्दा ११ केभीका लाईन तथा फिडरमा पूर्ण रुपमा क्षति पुगेको वितरण केन्द्रले बताएको छ । हाल भरतपुर शहरी क्षेत्रका केही स्थानमा शनिवार बेलुकासम्म विद्युत् प्रवाह हुन सक्ने वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेललले जानकारी दिए ।
‘शनिवार बेलुकासम्म भरतपुरका मुख्य मुख्य ठाउंँमा विद्युत् प्रवाह गर्न अधिकतम प्रयास गर्नेछौं’, उनले भने ।
भरतपुरका मुख्य राजमार्ग तथा अन्य सडक तथा चोकहरुमा पोलहरु धेरै ढलेकाले पोल परिवर्तन गरेर विद्युत् प्रवाह गरिने तयारी छ । हाल डोजर र हाईट्रा क्रेनको सहायताबाट पोल र तार व्यवस्थापन कार्य भइरहेको उनले बताए ।
उनका अनुसार भरतपुरको सडक डिभिजन कार्यालय अगाडि छ ओटा पोल, भरतपुर– ११ मलेवा कलेज अगाडी तीन वटा पोल, भरतपुर महानगरपालिका वडा नम्बर रामबामा आठ ओटा पोल, सोही वडाको देवकोटा चोकमा पाँच ओटा पोल, भरतपुर– ५, लकुंमा पाँच ओटा र जेम्स वल्र्ड फर्नपार्कमा तीन ओटा र सिताराम चोक प्रहरी चौकी नजिक पाँच ओटा पोल भांँचिएको छ ।
यी सबै गरी ३० लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको पौडेलले बताए । यसअघि यस्तो क्षति हुनेगरी हावाहुरी नआएको उनको भनाइ छ ।