काठमाडौं (अस) । नबिल र नेपाल बंगलादेश बैंकबीच चलिरहेको मर्जर प्रक्रिया रोक्न सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । बुधवार न्यायाधीशद्वय टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको संयुक्त इजलाशमा पेशी तोकिएकोमा हेर्न नमिल्नेमा परेको हो । यसअघि मंगलवारको पेशीमा सम्बन्धित वकिल उपस्थित हुन नसकेपछि बुधवारका लागि पेशी तोकिएको थियो ।
नबिल र एनबी बैंकसँग एक्विजिशन प्रक्रिया रोक्न माग गर्दै दिव्येश्वरी इन्भेष्टमेन्ट कम्पनीले वैशाख १९ गते तथा नेपाल पावर डेभलपमेण्ट एन्ड इन्भेष्टमेन्ट कम्पनीले वैशाख २२ गते छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए । मुद्दामा नेपाल राष्ट्र बैंकसहित नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ, नेपाल बंगलादेश बैंक र नबिल बैंकका सञ्चालक समितिलाई विपक्षी बनाइएको छ ।
दिव्येश्वरी इन्भेष्टमेन्ट कम्पनीको मुद्दामा सर्वाेच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले वैशाख २५ गते र नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनीको मुद्दामा ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले वैशाख २९ गते मर्जर प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।