कुमारी सबल योजनाको इकाई जारी गर्दै कुमारी क्यापिटल, १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्ने

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि कुमारी सबल योजनाको इकाई निष्कासन गर्ने भएको छ । योजना व्यवस्थापक क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ ।  १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र यो इकाईको बाँडफाँट गर्न सकिनेछ । यदिन न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ । योजना व्यवस्थापकसँगै यो इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत क्यापिटलले पुरा गर्नेछ । १० वर्ष अवधिको उक्त फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस 

सम्बन्धित सामग्री

दुई महीनापछि आईपीओ स्वीकृति प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ महीनापछि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति प्रक्रियालाई अघि बढाएको छ । प्राथमिक बजारमा निरन्तर धितोपत्रको सार्वजनिक निष्कासनले दोस्रो बजारमा असर परेको गुनासो आएसँगै गत कात्तिक १ गतेपछि बोर्डले स्वीकृति प्रक्रिया रोकेको थियो । स्वीकृति प्रक्रियामा बोर्डका अध्यक्ष रमेशकुमार हमाल र व्यवस्थापनको लापरबाही भएको गुनासो आउन थालेपछि अध्यक्ष हमालले नै व्यक्तिगत आक्षेप लाग्ने काम नगर्ने भन्दै सञ्चालक समितिबाट निर्णय गराएर मात्र अनुमति दिने प्रस्ताव पेश गरेका थिए ।  बोर्ड सञ्चालक समिति बैठकले बोर्डको अध्यक्षलाई नै अधिकार दिने र व्यवस्थापनको सिफारिशमा स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको एक सञ्चालकले जानकारी दिएका छन् । बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर स्वच्छ र पारदर्शी रुपमा काम भइरहेको नियमन विभागले दाबी गरेको छ ।  सञ्चालक समितिले बाटो खुला गरेपछि यतिबेला बोर्डले प्रक्रिया पूरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिने प्रक्रिया अघि बढाएको छ । बोर्डले स्वीकृति प्रक्रिया रोकेको ठीक २ महीनामा पुस १ गते कुमारी क्यापिटल लिमिटेडलाई १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ विक्री गर्न अनुमति दिएको छ । बन्दमुखी प्रकृतिको कुमारी सबल योजना सञ्चालनका लागि बोर्डले क्यापिटललाई अनुमति दिएको हो ।  त्यसपछि पुस २ गते बोर्डले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । बैंकले १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर रहेको एनआइएमबी डिबेन्चर २०९० निष्कासनका लागि अनुमति दिएको हो । त्यस्तै पुस ३ गते सर्वोत्तम सिमेन्टलाई दोस्रो चरणमा सर्वसाधारणका लागि ३६ लाख कित्ता शेयर बुक बिल्डिङ विधिबाट निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाको दरले शेयर बेच्न सर्वोत्तमलाई बोर्डले अनुमति दिएको हो । बोर्डले सार्वजनिक निष्कासनमा विविधता कायम गरेको देखिन्छ । बोर्डले पुस ११ गते सिंगटी हाइड्रोपावरलाई शतप्रतिशत दरको १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन अनुमति दिएको छ । बोर्डले यसअघि कात्तिक १ गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति दिएको थियो । चालू वर्ष शुरू भएयता बोर्डले सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट र हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न अनुमति दिएको हो । चालू आर्थिक वर्षको हालसम्म ६ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति पाएकोमा प्रिमियम मूल्यमा शेयर विक्री गर्ने कम्पनीको संख्या तीन छ । लामो समयदेखि घटिरहेको शेयरबजारमा प्रिमियम मूल्यमा जारी भएको सोनापुर मिनरल्सको शेयर कारोबारमा आएको दिनदेखि नकारात्मक सर्किटसहित खरीद मूल्यभन्दा तल झरेको थियो ।  पछिल्लो समय प्रिमियम मूल्यमा जारी भएको शेयरको चर्चा संसद्को सार्वजनिक लेखा समितिमा समेत भएको छ । बिहीवार बीमा कम्पनीहरूलाई कानूनविपरीत प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न दिएको उजुरी परेपछि लेखा समितिले सम्बद्ध निकायहरूसँग छलफल गरेको छ । समितिले प्रिमियम मूल्यमा शेयर जारी गर्न दिएको असर दोस्रो बजारमा परेको भन्दै अन्तरराष्ट्रिय अभ्यासको रूपमा रहेको बुक बिल्डिङ विधि अवलम्बन गर्न निर्देशन दिएको छ ।

मंसिर महीनामाभन्दा बढ्यो कुमारी इक्वीटी फण्डको धितोपत्र लगानी मूल्य

माघ १०, काठमाडौं । कुमारी इक्वीटी फण्डको धितोपत्र तथा अन्य शिर्षकमा गरेको लगानी मूल्य मंसिर महीनाको तुलनामा पुस महीनामा बढेको छ ।  कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित उक्त योजनाको पुस मसान्तसम्म धितोपत्रमा गरेको लगानीको बजार मूल्य रू. ५७ करोड ५२ लाख १५ हजार रहेको छ ।  यो मूल्य मंसिर मसान्तसम्म रू. ४० करोड ४१ लाख १ हजार थियो । योजनाले सोमवार सार्वजनिक गरेको पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार पुस मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसनसहित रू. ७२ करोड २९ लाख ३ हजार रहेको छ ।  योजनाको धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम रहेको छ । यस अवधिसम्म योजनाले रू. १५ करोड बैंक मुद्दती निक्षेपमा लगानी गरेको छ । योजनाको नाफा पनि यो महीना बढेको छ । मंसिर मसान्तसम्म रू. ३१ लाख ४३ हजार नाफा गरेको उक्त योजनाले पुस मसान्तसम्म रू. ८ करोड १२ लाख ९८ हजार नाफा गरेको हो । मंसिर महीनामा रू. १ करोड १६ लाखभन्दा बढी रहेको योजनाको जम्मा आम्दानी पुस महीनामा रू. ९ करोड १४ लाखभन्दा बढी छ । आम्दानी गत महीनाको भन्दा यो महीना बढेकाले नाफामा वृद्धि देखिएको हो । मंसिर महीनामा रू. १० दशमलव २४ रहेको योजनाको प्रतिइकाई खुद मूल्य पुस महिनामा रू. ११ दशमलव शून्य २ पुगेको छ । उक्त योजनाले १० करोड इकाई जारी गरेको थियो । धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने उद्धेश्यसहित सञ्चालनमा रहेको यो बन्दमुखी प्रकृतिको योजना हो । १० वर्षे अवधिको उक्त योजना २०७७ साल चैत ५ गतेदेखि सञ्चालनमा रहेको छ । २०८७ साल चैत ४ गतेसम्म योजना सञ्चालनमा रहनेछ । योजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।