कात्तिक १४, काठमाडौं । लेखक विश्व कुइकेलको प्रथम कथा संग्रह सुगन्धपुर सार्वजनिक भएको छ ।
शनिवार राजधानीको कुञ्ज नाटक घरमा एक कार्यक्रमका बीच उक्त कथा संग्रहको पुस्तक लोकार्पण गरिएको हो। नेपाली समाजका विविध घटना र परिवेशलाई सजिब किसिमबाट उठान गरिएको कथा संग्रह सुगन्धपुरमाथि बक्ताहरुले आ आफ्नो किसिमबाट समिक्षा गरेका थिए ।
प्राडा खगेन्द्र लुइटेलले लेखकले आफ्नो जीवन भोगाइका क्रममा देखे सुनेका पात्र र परिवेशलाई सरल किसिमले पाठक सामु पस्कन सफल रहेको बताए । उनले भने, ‘समाजमा ब्याप्त अनेक किसिममा उत्पीडिनलाई शब्दका माध्यमबाट पाठक सामु ल्याउन सक्नु लेखकको सबल पक्ष हो । विश्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरुमा नयाँ भएपनि कथाहरु अध्ययन गर्दा उनी पुराना झै मलाई लाग्यो, लेखन शक्ति अब्बल रहेछ।’
प्राडा लुइटेलले प्रशासनिक क्षेत्रमा रहेका कर्मचारी बचेखुचेको समयमा ब्यर्थ समय कटाउनु दुखद रहेको बताउँदै केही कर्मचारी साहित्यको क्षेत्रमा आउनु सुखद रहेको बताए ।
त्यसैगरी कार्यक्रममा समालोचक राजन मुकारुङले साहित्य समाजको ऐना भएको बताउँदै लेखक कुइकेलको साहित्यिक सृजनाको मुक्तकन्ठले प्रशंसा गरे । उनले कथाकारले नेपाली परिबेशको विभिन्न कथा समाबेश गरेर संग्रह ल्याउनु सुखद रहेको बताए ।
कार्यक्रममा मानवशास्त्री सचिन घिमिरेले कथाकार कुइकेलले आफ्नो सृजनाको माध्यमबाट सर्जकले समाज बदल्न सक्ने धारणा राखे । उनले सुगन्धपुर कथा संग्रह काँठको जनजीवनदेखि नेपालको फरक भूगोलको परिवेश समेटन सफल भन्दै नेपाली समाजमा भए गरेका अनेक किसिमका किस्सालाई कथाकारले रोचक किसिमले बाहिर ल्याउन सक्नु कथाकारको खुबी भएको बताए ।
कार्यक्रममा साहित्यकार विना थिङले सुगन्धपुर कथा संग्रह नेपाली साहित्यमा पठनयोग्य सामग्री आएको बताइन् । फिनिक्स बुकले प्रकाशन गरेको कथा संग्रह सुगन्धपुरमा १९ ओटा कथा समावेश छन् । पुस्तकको मोल ३५० रुपैयाँ रहेको छ ।