म्याग्दी । म्याग्दीको दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्काे भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका ६ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन ।
सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्याउँदा चर्काे भाडा तिर्न बाध्य छन् । दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु र बजारको चामल, नून, तेललगायतको दैनिक प्रयोग हुने खाद्यान्न गाउँपालिकाको केन्द्र मुनादेखि चर्काे भाडा तिरेर खच्चडको भरमा ढुवानी गर्दा गुर्जावासी मारमा परेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
सदरमुकाम बेनीबाट गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा चार घण्टादेखि सात घण्टासम्म समय लाग्छ । यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था कमजोर भएका र रोजगार नभएका परिवारलाई बढी मर्का परेको वडाध्यक्ष छन्त्यालको भनाइ छ । रासस