जेठ ८, नयाँ दिल्ली (भारत) । भारतमा पेट्रोल र डिजेलको भाउ ह्वात्तै घटेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले डिजेल र पेट्रोलमा अन्तः शुल्कमा भारी कटौती गरेपछि मूल्य घटेको हो । अर्थमन्त्री निर्मला सीतारमणले शनिवार पेट्रोलमा प्रतिलिटर ८ रुपयाँ र डिजेलमा प्रतिलिटर ६ रुपयाँका दरले अन्त : शुल्क घटाउने घोषणा गरेकी छन् ।
यो कटौतीसँगै पेट्रोलको भाउ प्रतिलिटर ९ रुपया ५० पैसा कम हुनेछ । डिजेलको भाउ पनि प्रतिलिटर ७ रुपया सस्तो हुनेछ । यसको अर्थ शनिबार मध्य रातदेखि नयाँ दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर १०५ रुपया ४१ पैसा र डिजेल ९६ रुपया ६७ पैसा कायम भएको छ । अन्तःशुल्क कटौतीले सरकारको राजस्वमा वर्षे ११० खर्ब रुपया घाटा हुने बताइएको छ ।
विश्व अहिले कोरोना भाइरसको महामारीको प्रभावबाट उब्रिदै आइरहेको भएपनि युक्रेनी द्वन्द्वका आपूर्ति चक्रमा समस्या आएको र विविध सामानको अभाव भएको अनि यसका कारण कयौं देशमा महँगी आर्थिक तनाव बढेको एक पछि अर्को ट्विटमा उनले भनेकी छिन् ।
गरिब र सर्वसाधारणहरुलाई मद्दत गर्ने सरकारको प्रतिबद्धता अनुरुप अन्तःशुल्क कटौतीको घोषणा गरिएको पनि उनले बताइन् । एजेन्सी