असार २१, काठमाडौं । पछिल्लो समय शेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दै गइरहेको छ ।
गत वर्ष नेपालमा कोरोना महामारीको जोखिम बढेसँगै देशमा गरिएको लकडाउनका कारण सकारात्मक प्रभाव परेको शेयर बजारमा पछिल्लो समय उत्साह कम देखिएको छ । जेठ ३१ गते हालसम्मकै उच्च विन्दु ३ हजार २५ दशमलव ८२ विन्दुमा पुगेको नेप्से असार २१ गते सोमवार २ हजार ८२२ दशमलव ७३ विन्दुमा आएको छ ।
नेप्से परिसूचक हालसम्मको उच्च विन्दुदेखि २०३ दशमलव शून्य ९ अंक अर्थात् ६ दशमलव ७१ प्रतिशत घटेको हो । सोमवार मात्र नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशत अर्थात ११ दशमलव ७८ अंकले घटेको छ ।
देशमा पछिल्लो समय वैशाख १६ गतेदेखिको लकडाउनका कारण बैकल्पिक लगानी बनाएका लगानीकर्ता क्रमश : लकडाउन खुकुलो भएसँगै वाहिरिएकाले पनि बजार प्रभावित बनेको अनुमान ब्रोकरहरुले लगाएका छन् ।
यो आर्थिक वर्ष सकिनै लाग्दा आगामी वर्ष नीतिगत केहि परिवर्तनको हुनसक्ने आशंकाको कारण पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरुको अनुमान छ ।
केहि समय अघि दैनिक करीब २० अर्ब रुपैयाँको कारोबार भएको बजार पछिल्लो समय घटेपनि कारोबार रकम भने कम भएकाले आत्तिनुपर्ने अवस्था नरहेको ब्रोकरहरु बताउँछन् । नेप्से परिसूचक घटेसँगै कारोबार रकमको उच्चता पनि कायमै रहेको अवस्थामा भने बजारमा नकारात्मक प्रभाव पर्ने तर्क ब्रोकरहरुको हो ।
यसर्थ परिसूचक घटबढ भए पनि कारोबार रकमको न्यूनताले लगानीकर्ताहरु सस्तोमा शेयर विक्री गर्न इच्छुक नभएको संकेत गरेकाले आगामी दिनमा यसले बजारमा सकारावत्मक प्रभाव पर्ने विश्वास ब्रोकरहरुको छ ।
गत जेठ ३१ गते नेपालको शेयर बजारमा एकै दिन रू. १९ अर्ब ५५ करोड बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर कारोबार भएको थियो । असार ८ गतेसम्म दैनिक १० अर्ब रुपैयाँको शेयर कारोबार हुदैं आएको बजारमा त्यसपछि भने कारोबार रकम घट्दै गएको छ ।
सोमवार असार ८ गतेपछिकै न्यून रू. ४ अर्ब ५८ करोड २२ लाख १२ हजार बराबरको १ करोड ६३ हजार ६३६ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२४ कम्पनीको ५२ हजार ८४६ पटकको व्यापारमा भएको हो ।
कुल कारोबार रकममा यो दिन सर्वाधिक हिस्सा हिमालयन डिष्टिलरी लिमिटेडले ओगटेको छ । उक्त कम्पनीको सर्वाधिक रू. ४१ करोड २० लाख ८९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयरमूल्य ८ दशमलव शून्य २ प्रतिशत बढेर अन्तिम मूल्य रू. ५ हजार ६८५ कायम भएको छ ।
सोमवार सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ । व्यापारिक र उत्पादन तथा प्रशोधन समूहकोे परिसूचक यो दिन सर्वाधिक बढेको छ । व्यापारिक समूहको ३ दशमलव ६१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ९ प्रतिशतले परिसूचक बढेको हो । त्यस्तै अन्यको शून्य दशमलव ४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३६ प्रतिशत, लगानी समूहको शून्य दशमलव ५५ प्रतिशत परिसूचक यो दिन बढेको छ ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ६१ प्रतिशतले घटेको छ ।
त्यस्तै विकास बैंकको २ दशमलव ३७ प्रतिशत, जलविद्युतको १ दशमलव ८९ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ५८ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव १२ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ३७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६६ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८ प्रतिशत परिसूचक घटेको छ ।
सोमवार विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशत बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५३४ ले बढेर अन्तिम मूल्य रू. ५ हजार ८७९ पुगेको छ ।
दोहोरो अंकले घटेको बजारमा विशाल बजार कम्पनीको शेयरमूल्यमा भने सर्किट लेभलमा बढेको हो । यस दिन कम्पनीको शेयर मूल्यमा प्रभाव पर्ने कुनै पनि सूचना भने सार्वजनिक भएको छैन ।