लमजुङ । लमजुङमा आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनुका साथै किसानले राम्रोसँग आलुको हेरचाह गरेकाले उत्पादन बढेको कृषिज्ञान केन्द्रले बताएको छ ।
केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीका अनुसार गतवर्षको तुलनामा यस वर्ष २०० मेट्रिकटन आलु उत्पादन बढी भएको छ । यस वर्ष एक हजार ९३६ हेक्टर जमिनमा गरिएको आलुखतीबाट २१ हजार १०० मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै गत वर्ष आर्थिक वर्षमा १९ हजार ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकोमा २० हजार ९२९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रले बताएको छ ।
जिल्लाका सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, बेँसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । त्यस्तै मर्स्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्होलासोथार गाउँपालिकालाई बर्खे आलुको मुख्य पकेट क्षेत्र तोकिएको छ । जिल्लामा मुख्य गरेर कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातका आलुखेती गर्ने गरिएको किसानको भनाइ छ । रासस