वैशाख १३, काठमाडौं । विश्वको सैन्य खर्च बढेर गत वर्ष पहिलो पटक २० खर्ब डलरभन्दा माथि उक्लिएको छ ।
बौद्धिक समूह स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)ले हालै सार्वजनिक गरेको एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार गत वर्ष विश्वभर सैन्य गतिविधिमा २१ खर्ब १३ अर्ब डलर खर्च भएको छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ७ प्रतिशत धेरै हो ।
सैन्य खर्चको मामिलामा अमेरिका सबैभन्दा अगाडि रहेको छ । सन् २०२१ मा अमेरिकाले सैन्य गतिविधिमा ८ खर्ब १ अर्ब डलर खर्च गरेको छ । यो सन् २०२० को तुलनामा १ दशमलव ४ प्रतिशत कम हो । अमेरिकी जीडीपीको अनुपातमा खर्चको आकार ३ दशमलव ७ प्रतिशत हो । दोस्रो स्थानमा चीन र तेस्रोमा भारत रहेका छन् ।
यिनीहरुको कूल सैन्य खर्च क्रमशः २ खर्ब ९३ अर्ब र ७६ अर्ब ६० करोड डलर रहेको छ । अघिल्लो वर्षको तुलनाा चीनले गत वर्ष सैन्य खर्च ४ दशमलव ७ प्रतिशतले बढाएको छ भने भारतको वृद्धि शून्य दशमलव ९ प्रतिशत मात्रै छ । सैन्य गतिविधिमा सबैभन्दा धेरै खर्च गर्ने चौथो र पाँचौं देश बेलायत र रुस हुन् ।
सिप्रीका अनुसार गत वर्ष कुल सैन्य खर्च शून्य दशमलव ७ प्रतिशतले बढेको छ । विश्वको कूल खर्चमा अमेरिका, चीन, भारत, बेलायत र रुसको खर्चको अनुपात ६२ प्रतिशत छ । कोभिड–१९ महामारीको समयमा पनि विश्व सैन्य खर्च यस अघि कहिले नदेखिएको स्तरमा उक्लिउको सिप्रीका डा. डिएगो लोपेज दा सिल्भाले बताएका छन् ।