सिन्धुपाल्चोक । संघीय सरकारले छानेका १०० पर्यटकीय गन्तव्यमध्ये एउटा गन्तव्य सिन्धुपाल्चोकको पाँचपोखरी हो । समुद्री सतहबाट करीब चार हजार १५० मिटर उचाइमा रहेको पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ । काठमाडौंबाट नजिकको सुन्दर गन्तव्य पनि पाँचपोखरी हो । पछिल्लो समय पाँचपोखरी चर्चित र रमणीय पर्यटकीय क्षेत्रको रूपमा रहेको छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङ्पाल गाउँपालिका पाँचपोखरी पर्यटकीय गन्तव्यकै नामबाट राखिएको हो । स्थानीय स्रोत साधनको प्रयोग गरी गाउँपालिकाले केही महत्त्वपूर्ण काम अघि बढाएको छ । गाउँपालिकाले भूकम्पपछिको पुनर्निर्माण, आवास, स्वास्थ्य, शिक्षा, सेवा प्रदायक संस्थाको भवन निर्माण, विद्युतीकरण लगायतको काम अघि बढाएको छ । सडकलाई मात्र महत्त्वपूर्ण नठानी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढेकाले अहिले नतीजा देखिन थालेको गाउँपालिकाले बताएको छ ।
यहाँ याङ्ग्री र पाँचपोखरी पर्यटनमार्ग बनाइएको छ । यी दुवै कच्ची सडकको स्तरोन्नतिको काम हुँदै छ । पाँचपोखरी चक्रपथको विकास गरी तीव्ररूपमा स्तरोन्नतिको काम भइरहेको छ ।
गुणस्तरीय शिक्षामा जोड दिइएको गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणि पौडेलले बताए । २०७२ सालको भूकम्पले विद्यालयका भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनाएकाले भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्पन्न गरिएका छन् ।
पालिकाले विद्यालय करेसाबारीको कार्यक्रम अघि बढाएको छ । कक्षा १ देखि ८ सम्मको हाम्रो पाँचपोखरी पाठ्यक्रम र कक्षा १ देखि ३ सम्म मेरो पाँचपोखरी पाठ्यपुस्तक प्रकाशन गरी अध्यापन गराइँदै छ ।
मातृभाषा शिक्षाअन्तर्गत गुम्बा शिक्षाबारे ऐच्छिक रूपमा विद्यार्थीले अध्ययन गरिरहेका छन् । पाँच विद्यालयमा एक–एक विद्यालय नर्सको व्यवस्था गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेलले बताए ।
आर्थिक समृद्धिका लागि गाउँपालिकालाई पर्यटनको हब बनाई पर्यटन व्यवसायलाई जनताको जीवनस्तरसँग जोड्ने काम भइरहेको छ । पाँचपोखरीसँगै आमायाङ्ग्री, डाइग्रन गुफा, दूधपोखरी, पेमाछल उद्यान केन्द्र, रैथानेश्वरी, च्योज्यो डाँडा, हबेली नौलिंगेश्वरी, जुगल हिमशृंखला, दोर्जे लाक्पा हिमाल, युवा पिक, पाँचपोखरी पिक, तिलमानपासलगायत पर्यटकीय ठाउँको विकास भइरहेको छ । रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सफल परीक्षण गरिएको गाउँपालिकाले बताएको छ । रासस