काठमाडौं । यो साता चार कारोबार दिनमा ७ अर्ब ३६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको २ करोड ४१ लाख ३४ हजार ६२५ कित्ता धितोपत्र कारोबार भएको छ । गत साता पनि चार कारोबार दिन मात्र दोस्रो बजार खुला भएको थियो ।
गत साता चार कारोबार दिनमा ५ अर्ब २२ करोड ११ लाख रुपैयाँभन्दा बढीको १ करोड ८१ लाख १७ हजार ८१३ कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता २ अर्ब १४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको ६० लाख १६ हजार ८१२ कित्ता बढी धितोपत्र कारोबार भएको हो ।
यो साता बजारका महत्त्वपूर्ण सूचकहरू सकारात्मक देखिएका छन् । कारोबार रकम र कित्तामा वृद्धि भएको यो साता नेप्से परिसूचक पनि २२ दशमलव ७२ अंकमाथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो ।
यो साता चार कारोबार दिनमा पहिलो कारोबार दिन ४२ दशमलव १४ अंकले घटेको बजार त्यसपछिका तीन कारोबार दिन भने निरन्तर बढेको छ । दोस्रो दिन ४ दशमलव २६ अंक, तेस्रो दिन १६ दशमलव २४ अंक र चौथो दिन ४४ दशमलव ३४ अंक नेप्से परिसूचक बढेको हो ।
सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । यतिबेला बजार लाभांश सिजनका कारण पनि सकारात्मक बनेको बुझाइ ब्रोकरहरूको छ । लामो समय घटेको बजार लाभांशको प्रभावबाट पनि केही माथि जाने विश्वास लगानीकर्तामा देखिएको छ । लगानीकर्ताको यही उत्साह नै बजार बढ्नुको प्रमुख कारण रहेको एक ब्रोकरले बताए ।
यतिबेला सरकार पनि बजार विकासको पहलमा लागिरहेको छ । शेयर धितोकर्जाको सीमाबाट प्रभावित बनेको बजारलाई उक्त सीमा हटाएर भए पनि सकारात्मक बनाउने पहलमा सरकारसमेत रहेको देखिन्छ । शेयर धितोकर्जाको १२ करोड रुपैयाँसम्मको सीमा हटाउन वा राख्नै पर्ने भए २५ करोड रुपैयाँसम्म कायम गराउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमेत लागिपरेका छन् । उनले नेपाल राष्ट्र बैंकसमक्ष शेयर धितोकर्जाको सीमा पुनरावलोकन गर्नका लागि निर्देशन दिइसकेका छन् । यतिबेला राष्ट्र बैंक पनि अर्थमन्त्रीको निर्देशनलाई सकारात्मक रुपमा लिएर अघि बढेको स्रोतको दाबी छ ।
ठूला लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्नसमेत शेयर धितोकर्जाको सीमा हट्नुपर्ने माग लगानीकर्ताहरूको छ । साथै बैंकिङ प्रणालीमा पर्याप्त मात्रामा तरलता भएको अवस्थामा ब्याजदर घटाएर पूँजीबजार लगानी गर्न प्रोत्साहन गर्नुपर्ने मागसमेत लगानीकर्ताहरूले गरेका छन् ।
यो साता बजार बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ७४ अर्ब १३ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । गत साताको तुलनामा यो साता कुल बजार पूँजीकरण ६९ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
जलविद्युत समूहको परिसूचक सर्वाधिक बढ्यो
यो साताको कारोबारमा चार समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । व्यापारिक समूहको सर्वाधिक २ दशमलव ३१ प्रतिशत परिसूचक घट्दा होटल तथा पर्यटनको १ दशमलव १३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६७ प्रतिशत र बैंकिङको शून्य दशमलव ६४ प्रतिशत परिसूचक घटेको हो । यो साता जलविद्युत समूहको परिसूचक सर्वाधिक ६ दशमलव ७७ प्रतिशत बढेको छ ।
धितोपत्र दोस्रो बजारमा जलविद्युत समूहअन्तर्गत ८२ ओटा कम्पनीहरू सूचीकृत छन् । कम्पनीको हिसाबमा जलविद्युत् समूह अन्तर्गतका सबैभन्दा बढी कम्पनी दोस्रो बजारमा सूचीकृत रहेका हुन् । यो साता जलविद्युतपछि वित्त समूहको परिसूचक सर्वाधिक बढेको छ । उक्त समूहको परिसूचक ३ दशमलव ८९ प्रतिशत बढेको छ ।
त्यस्तै विकास बैंकको २ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३३ प्रतिशत, लगानीको १ दशमलव ४४ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत, लघुवित्तको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ९१ प्रतिशत र निर्जीवन बीमाको शून्य दशमलव ४६ प्रतिशत परिसूचक बढेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।