भदौ १७, मनाङ । औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी विक्रीबाट रू. १२ लाख ४० हजार २०० राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४ किलोग्राम जडीबुटी विक्रीबाट उक्त रकम संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप) ले जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७५/७६ को तुलनामा शून्य दशमलव ६३ प्रतिशतले यस आवमा कम राजस्व संकलन भएकोे एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड–१९ को संक्रमणका कारण जंगली जडीबुटी संलकन गर्न नसकिएको उनको भनाइ थियो ।
जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत विक्रीबाट राजस्व संकलन हुँदै आएको छ । कोरोना संक्रमण न्यूनीकरणका सहयोगी हुने यी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएकोे छ ।
वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्टिक, ज्वरो र रुघाखोकी निको हुनाका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ । गुच्ची च्याउ क्यान्सर, उच्च रक्तचाप, मुटुको रोग निरोधका लागि उपयोगी मानिन्छ । रासस