गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ७१ अर्ब रुपैयाँले बढेपछि ब्याजदर घट्ने सम्भावना बढेको छ । बैंकहरूको कुल निक्षेप २०६७ असार मसान्तसम्ममा रू. ६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । गतवर्षको तुलनामा यो १३ प्रतिशतले बढी हो । गत आवको असार मसान्तसम्ममा कुल निक्षेप रू. ५ खर्ब ४६ अर्ब थियो । बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास बढेकाले र केन्द्रीय बैंक र अन्य बैंकहरूको निरन्तर प्रयासले यस्तो सुधार आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गोपालप्रसाद काफ्लेको भनाइ छ ।
झन्डै एक वर्ष पहिला बैंकहरूमा लगानीयोग्य रकमको अभाव भएपछि बैंकको ब्याजदर इतिहासमै उच्च १५.०९ प्रतिशत पुगेको थियो । त्यसैगरी वाणिज्य बैंकहरूले निक्षेपमा प्रदान गर्ने ब्याजदर पनि बढेर झन्डै ११–१२ प्रतिशत पुगेको थियो । विकास बैंक तथा वित्त कम्पनीले दिने ब्याज १४–१५ प्रतिशतमा पुगेको थियो । फलस्वरूप बैंकहरूले दिने ऋण पनि पहिलाको तुलनामा महँगो भएको थियो ।
अहिले अन्तरबैंक ब्याजदर घटेर २.५ प्रतिशतमा आएको छ । असार महिनामा मात्रै बैंकहरूको निक्षेप संकलन अघिल्लो महिनाको तुलनामा रू. २९ अर्बले बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई आधार मान्दा अहिले बैंकहरूसँग रू. १०० अर्ब खुद लगानीयोग्य तरलता रहेको छ । अन्तरबैंक ब्याजदर र लगानीयोग्य अहिलेकै अवस्था हुँदा एक वर्ष पहिले ब्याजदर ५ प्रतिशत कम थियो ।
वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६