काठमाडौं । अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएका छन् । एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेको बीबीसीले जनाएको छ ।
गोली चल्न थालेपछि आफू जोगिन भागाभाग गर्नुपरेको मानिसहरूले बताएका छन् । माथिबाट खिचिएको दृश्यमा खुट्टा रगतपच्छे भएका एक व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर लगिरहेको देखिन्छ ।
प्रेस सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एकजना सन्दिग्ध व्यक्ति हिरासतमा लिइएको र उनको अस्पतालमा उपचार भइरहेको बताएका छन् । उक्त घटना स्थानीय समय दिउँसोको साढे दुई बजेतिर भएको थियो ।
ती सन्दिग्ध व्यक्तिले किङ सुपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाएका थिए । सो घटनालाई प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष लाइभ स्ट्रीमिङ गरेका थिए ।
गत महिना राष्ट्रपति जो बाइडनले हतियार खरिद गर्न चाहनेहरूको पृष्ठभूमिबारे कडाइपूर्वक जाँच गर्नेगरी कानुन ल्याउन सिफारिस गर्ने बताएका थिए ।