धुलाम्य बन्यो जोरपाटी–सुन्दरीजल सडक, स्थानीयको स्वास्थ्यमा समस्या – देशसञ्चार

काठमाडौँ– जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ। काम

सम्बन्धित सामग्री

जोरपाटी–सुन्दरीजल सडक : समयमै स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक स्तरोन्नतिको काम शुरू भएको ६ वर्षमा पनि पूरा नहुँदा स्थानीयवासी एवं यात्रु मारमा परेका छन् । आर्थिक वर्ष २०७५÷२०७६ मा सक्नेगरी २०७२ सालमै ठेक्का भएको सात किमी यो सडक अझै सम्पन्न हुन सकेकोछैन । शुरूमा सडकको दाँया–बाँया घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भन्दै विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दाँया–बाँया ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।      सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दाँया–बाँया सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । यो सहमति भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम नसक्दा हिउँदमा धूलो र वर्षामा हिलोले स्थानीयवासी समस्यामा परेका हुन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका लक्ष्मण खतिवडा २०५६ सालदेखि नै जीर्ण रहेको सडक विस्तार गरेर बनाउन शुरू भएको ६ वर्ष पूरा हुँदा पनि काम नसकिँदा समस्या भएको बताउँछन् । विभिन्न दलका नेताले सडक बनाउँछु भन्दै भाषण गर्ने गरे पनि काम भने नभएको उनको गुनासो छ । सडक किनारमा भएका घरमा बस्न नसक्ने भएपछि दैनिक दुई घण्टा पानी हाल्नु खतिवडाजस्ता सयौंको दिनचर्या भएको छ ।       निर्माण व्यवसायीले सडक निर्माण जिम्मा लिने बेलामा गरिने सम्झौतामा वातावरणीय क्षति नगरी काम गर्ने उल्लेख भए पनि कार्यान्वयन हुँदैन । सडक विभाग, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाजस्ता सरोकारका निकायले पनि यसमा ध्यान दिएका छैनन् । धूलोले घरमै बस्न नसक्ने भएपछि खतिवडामात्र होइन, सडक किनारका दर्जनौं स्थानमा स्थानीयवासी पानी हालिरहेका भेटिन्छन् । नगरपालिकाको वडा नं २ नयाँपाटीमा क्लिनिकसहित सामुदायिक स्वास्थ्य केन्द्र चलाइरहेका डा. रोशन पोखरेल सडकमा उड्ने धूलोकै कारण दैनिक दर्जनौं व्यक्ति घाँटी दुख्ने, घाँटी खसखसाउने समस्या लिएर आउने गरेको सुनाउँछन् । धूलोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भए पनि समस्या समाधानमा कसैले चासो दिएका छैनन् ।      सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डे भने केही स्थानीयवासीले पानी हाल्न नदिएको दाबी गर्छन् । पानी हाले काम गर्न दिँदैनौं भनी केही मानिसले भन्दा समस्या हुने गरेको उनको भनाइ छ । यसअघि विस्तार आयोजना प्रमुख भएर काम गरिसकेका विभागका सूचना अधिकारी गुरुप्रसाद अधिकारी भने कति आयोजनाको सम्झौतामै पानी हाल्ने व्यवस्था उल्लेख गरिएको हुने र कतिमा भने सहमतिका आधारमा काम गर्ने गरिएको बताउँछन् । संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बस्न पाउने मौलिक हकको व्यवस्था गरिएकाले वातावरण नबिगारी विकास निर्माणका काम गरिनुपर्ने उनको भनाइ छ । धूलोको समस्या ६ वर्षअघि नै ठेक्का भएर अलपत्र रहेको जोरपाटी–साँखु सडकमा पनि छ । यो सडकमा पनि निर्माण व्यवसायीले पानी नहाल्दा स्थानीयवासीको स्वास्थ्यमा समस्या भएको छ । रासस