राष्ट्रिय बीमा कम्पनीको नाफा ४१% बढ्यो, प्रतिशेयर आम्दानी रू. १४५.७५

माघ २७, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १३ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १९ करोड ४३ लाख पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २६ करोड ५२ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३४ करोड ७ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६६ लाख रहेको छ भने जगेडामा रू. ३ अर्ब २४ करोड र बीमा कोषमा रू. २ अर्ब ५७ करोड सञ्चित गरेको हो ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ३५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा भने ३० प्रतिशत घटेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ८५ करोड ८८ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ हजार १९३ जनालाइ रू. २३ करोड ६ लाख दाबी भुक्तानी गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४५ दशमलव ७५ (वार्षिक) मूल्य आम्दानी अनुपात २५८ दशमलव ११ गुणा, तरलता अनुपात ३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ हजार ३१७ दशमलव २५ रहेको छ । 

सम्बन्धित सामग्री

सार्वजनिक संस्थानमा सम्भावना

आगामी आर्थिक वर्ष (आव) को बजेटले २० ओटा सार्वजनिक संस्थान खारेज गर्ने निर्णय गरेको छ । सार्वजनिक खर्च पुनरवलोकन आयोग, २०७५ ले दिएका सुझावहरूलाई कार्यान्वयन गर्ने क्रममा त्यहाँ रहेको स्थायी संरचनामा दोहोरो कार्यक्षेत्र परेकादेखि औचित्य समाप्त भएका भनी उल्लेख भएका २० ओटा सार्वजनिक संस्थानहरू खारेज गरिएको उल्लेख गरिएको छ । कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, विभिन्न ताल संरक्षण विकास समिति वा अस्तित्व नभएका विश्वविद्यालय र मेडिकल कलेज पूर्वाधार समिति, रेलवे बोर्डलगायत संस्थाहरूलाई खारेज गर्नु औचित्य पूर्ण नै लाग्छ । तर, यसरी संस्थान खारेज गर्दा हाम्रो अस्तित्वसमेत गुमाउँदै गरेको भैंm बुझ्न सकिन्छ । हिजो यसरी नै विभिन्न उद्योगहरू बन्द गराइए । आगामी दिनमा सार्वजनिक संस्थानहरू खारेज हुने भय रहिरहने देखिन्छ । हरेक वर्ष करदाताबाट उठाएको र ऋण लिएको पैसाले सार्वजनिक संस्थानहरू सञ्चालन गर्न सुहाउँदैन पनि । आव २०७४/७५ देखि २०७८/७९ सम्म सार्वजनिक संस्थान सञ्चालनका लागि सरकारले २ खर्ब ८९ अर्ब रुपैयाँ ऋण दिएको देखिन्छ ।  संस्थानहरूले सरकारलाई दिने प्रतिफल घट्दो क्रममा रहेको छ । २०७४/७५ मा २४ अर्ब रुपैयाँ लाभांश प्राप्त गरेको देखिन्छ । नेपाल आयल निगम, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थानदेखि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, हेटौंडा सिमेन्टलगायत संस्थाहरू घाटामा छन् । त्यसको प्रत्यक्ष मार सरकार र अन्ततः सर्वसाधारणमा पर्छ ।  सार्वजनिक संस्था जोगाउने र यसलाई नाफा उन्मुख बनाउने जिम्मेवारी सबैको हो । यसले एकातिर कुल गार्हस्थ्य उत्पादनमा सहयोग पुर्‍याउँछ भने अर्कोतिर आयात न्यूनीकरण गरेर स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सहयोग गर्छ । रोजगारीको अवसर सृजना गर्नुका साथै सरकारको आयस्रोत पनि बन्छ । त्यसैले सरकारी स्वामित्वका संस्थानहरू समग्र अर्थतन्त्रका लागि हितकर छन् । आव २०७८/७९ मा सबैभन्दा बढी नाफा प्रदान गरेको नेपाल विद्युत् प्राधिकरणबाट मात्र १३ अर्ब ३७ करोड नाफा आर्जन भएको थियो । राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी आदिबाट नियमित रूपमा नाफा आर्जन भइरहेको छ ।  यी संस्थानहरूले आफ्नो व्यापारिक बजार प्राप्त गर्ने हो भने अस्तित्व रहिरहने पक्का छ । तर, यी संस्थालाई प्राथमिकतामा नराखेर अन्यत्रबाट व्यापार गरिन्छ भने स्वाभाविक रूपमा यिनीहरूको व्यापार खुम्चन्छ । भारतीय राजदूतावासको छात्रवृत्ति प्राप्त गरिसकेपश्चात् फर्कने समयमा काठमाडौंसम्मको यात्राको उनीहरूले नै टिकट काटिदिनुपर्ने प्रावधान थियो । हामीलाई भारत सरकारको स्वामित्व रहेको विमानकै टिकट खरीद गरी पठाइएको थियो । व्यापार गर्दा यदि हाम्रो आफ्नै पसल छ भने व्यक्तिगत रूपमा चाहिने वस्तु खरीद हामी अन्य पसलमा नगरी आफ्नै पसलबाट गर्छौं । सरकारी संस्थानका उत्पादन र सेवालाई पनि यसै गरी उपयोग गर्ने बानी बसाल्नु आवश्यक छ ।  सरकारी भवन निर्माण गर्दा हामी सरकारी स्वामित्व रहेको उद्योगलाई कति प्राथमिकता दिन्छौं, सरकारी विज्ञापन तथा सूचना प्रसारण गर्दा रेडियो नेपाल र नेपाल टेलिभिजन कुन मात्रामा प्रयोग गर्छौं ? अनि सरकारी निक्षेप तथा कर्जाका लागि सरकारी बैंकहरू कति प्रयोग गर्छौं ? सरकारी स्वामित्व भएको, सरकारी संस्थानहरू आफैमा ठूलो बजार हो चाहे त्यो हवाई सेवाका लागि होस् या बीमाका लागि । तर, यो बजार एकीकृत रूपमा अगाडि बढ्न नसक्दा आज प्रतीतपत्र खोल्दा सरकारी संस्थानहरूको रोजाइमा निजीक्षेत्र पर्छ । सार्वजनिक संस्थान आफैमा एक ठूलो बजार हो भनी बुझ्न आवश्यक छ । त्यसको ग्राहक सार्वजनिक संस्थान आफै र सरकार हो । यो कुरालाई दृष्टिगत गरेर आफ्नो मूल्यांकन गर्न सकेमा धराशयी हुने समस्याबाट बच्ने मात्र होइन, यिनीहरूले सरकारलाई राम्रो लाभांश समेत प्रदान गर्नेछन् ।  सार्वजनिक सेवा प्रवाह गुणस्तरीय भएको खण्डमा उनीहरूको रोजाइमा सरकारी संस्थान पनि पर्ने हुन्छ भन्ने प्रमाण नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकजस्ता संस्थाहरूले पुष्टि गरेका छन् । सार्वजनिक संस्थान भनेको देशको सम्पत्ति हो । यसलाई बचाइराख्न, जोगाइराख्न र सञ्चालनमा राखिराख्न सरकार आफै पनि जिम्मेवार हुनुपर्छ । सरकारी निकाय तथा सार्वजनिक संस्थानहरूमा चियाको दूध पाक्दा दुग्ध विकास संस्थानको उत्पादन प्रयोग गर्न सकेमा, निर्माणलगायत कार्यमा सार्वजनिक संस्थानबाट उत्पादित सिमेन्ट प्रयोग गर्न सकेमा, खाद्य सामग्री खरीद गर्नु पर्दा नेपाल खाद्य संस्थानलाई प्राथमिकतामा राख्न सकेमा, कार्यालय प्रयोजनको भ्रमण गर्दा सकेसम्म, मिलेसम्म नेपाल वायुसेवा निगमको जहाज, साझा  यातायात प्रयोग गर्न सकेमा, प्रकाशन गर्नु पर्दा जनक शिक्षा सामग्री केन्द्र प्रयोग गर्न सकेमा सार्वजनिक संस्थानको बजार आफै सुनिश्चित भएर स्वतः सञ्चालित हुने थियो । सार्वजनिक क्षेत्रको नाफा बढ्नु भनेको सरकारको आम्दानी स्रोत बढ्नु पनि हो । सरकारको आम्दानीको स्रोत बढ्दा अन्ततः सर्वसाधारणलाई दिने सेवामा सरकारले खर्च गर्न सक्छ । त्यसैले सार्वजनिक संस्थानबाट जनतादेखि सरकारसम्मलाई फाइदा पुग्ने हुन्छ । यस प्रकारका संस्थाहरूका लागि नीति त होलान् तर सहकार्यको नीति अभाव भएको हो कि जस्तो बुझिन्छ । यसले गर्दा एकआपसमा सहयोग, सहकार्यको अभाव रहेको देखिन्छ । समग्र सार्वजनिक संस्थाहरू मिलेर एकीकृत नीति लिएर हातेमालो गर्न सकेमा आफै अब्बल हुनेदेखि राज्यलाई ठूलो सहयोग र योगदान दिन सक्ने हैसियत राख्ने थिए । रेग्मी बैंकर हुन् ।

चुक्तापूँजी वृद्धि अभियान : राष्ट्रिय बीमा कम्पनीलाई २ अर्ब २३ करोड आवश्यक

काठमाडौं । बीमा क्षेत्रमा अचेल चुक्तापूँजी वृद्धिको चर्चा व्यापक छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरूलाई दिगो बनाउने भन्दै चुक्तापूँजी बढाउन निर्देशन दिएसँगै चर्चा शुरु भएको हो । समितिले २०७४ सालदेखि बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउनुपर्नेमा जोड दिँदै आएको छ । त्यसबेला समितिले जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमाको १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न निर्देशन दिएको थियो । यस वर्ष जीवन बीमालाई ५ अर्ब र निर्जीवनलाई २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न निर्देशन दिएको छ । चुक्तापूँजी बढाउन आगामी २०७९ चैत मसान्तसम्मको समय दिइएको छ । समितिले चैत १० गते बीमा कम्पनीहरूलाई एक महिनाभित्र चुक्तापूँजी वृद्धिको कार्ययोजना पेश गर्न लिखित निर्देशन दिएको थियो । समितिको सोही निर्देशनबमोजिम बीमा कम्पनीहरू कार्ययोजना तयारीमा जुटेका छन् । सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी (निर्जीवन) र राष्ट्रिय बीमा संस्थान (जीवन) लाई भने एक वर्षभित्र समितिले तोकेको पूँजी पुर्‍याउनु निकै चुनौतीपूर्ण हुने जानकार बताउँछन् । साबिकको पूँजी पनि कायम गर्न नसकेका यी कम्पनीले अहिले भने पूँजी बढाउन विशेष चासो दिएको बताएका छन् । नियामक निकायको निर्देशनसँगै कम्पनीहरूको दिगो विकासका लागि थप पूँजी आवश्यक रहेको सम्बद्ध अधिकारीको भनाइ छ ।   आगामी वैशाख १० गतेभित्र समितिमा पूँजी वृद्धिको कार्ययोजना पेश गर्ने गरी व्यवस्थापकीय विभागले काम गरिरहेको राष्ट्रिय बीमा कम्पनीका सचिव निरञ्जन आचार्यले जानकारी दिए । बीमा समितिको निर्देशनबमोजिम चुक्तापूँजी कायम गर्न उसलाई थप २ अर्ब २३ करोड ३३ लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने सचिव आचार्यले बताए । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । सचिव आचार्यका अनुसार व्यवस्थापकीय विभागबाट तयार हुने कार्ययोजना सञ्चालक समितिबाट पारित गरी वैशाख १० गतेभित्रै समितिमा पेश हुनेछ । कम्पनीले हालको १ अर्ब चुक्तापूँजी कायम गर्न १२० प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाए पनि बीमा समितिको निर्देशनले त्यो रोकिएको थियो । राष्ट्रिय बीमा संस्थानबाट २०७१ सालमा अलग्गिएर छुट्टै निर्जीवन बीमा व्यवसाय सुरु गरेको यो कम्पनीलाई संस्थानको वास्तविक वित्तीय अवस्था सार्वजनिक नभएसम्म लाभांश वितरण गर्न नसक्ने भन्दै समितिले रोक लगाएको थियो । १२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव हटाएर बीमा समितिबाट उक्त वर्षको लेखापरीक्षण स्वीकृत गराएको कम्पनीले अब नयाँ कार्ययोजना तयार गर्ने सचिव आचार्यले बताए । राष्ट्रिय बीमा संस्थानले जीवन र निर्जीवन बिमा कम्पनी छुट्टिएको आर्थिक वर्ष ०७१/७२ सम्मको लेखापरीक्षण प्रतिवेदन बीमा समितिबाट स्वीकृत गराइसकेकाले राष्ट्रिय बीमा कम्पनीको पूँजी वृद्धि योजना स्वीकृतिमा समस्या नहुने सचिव आचार्यको विश्वास छ । गत पुससम्मको वित्तीय विवरणअनुसार राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोडभन्दा बढी र बीमा कोषमा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी छ । त्यस अवधिसम्म कम्पनीले १९ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १४५ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १ हजार ३१७ रुपैयाँ छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६ हजार ८८० रुपैयाँ छ । पछिल्लो एक वर्षमा कम्पनीको शेयर मूल्य उतारचढाव हेर्दा न्यूनतम १३ हजार ९०७ देखि अधिकतम २४ हजार ३७० रुपैयाँसम्म पुगेको देखिन्छ ।

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा रू. ४६२ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा रू. ४ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार गत आवमा बीमा कम्पनीहरूको नाफा औसत्मा ७ दशमलव ३३ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नाफा बढे पनि वृद्धिदर भने खुम्चिएको छ । अघिल्लो आवमा कम्पनीहरूको नाफा १२ दशमलव ४१ प्रतिशतले बढेको थियो । तर, यसपटक भने नाफा वृद्धिदर खुम्चिएर ७ दशमलव ३३ प्रतिशतमा सीमित भएको छ । भारतीय स्वामित्वको नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत भएका छैनन् । साथै, उनीहरूले वित्तीय विवरण पनि सार्वजनिक गरेका छैनन् । कोरोना महामारीका कारण बीमा व्यवसाय प्रभावित हुँदा नाफा वृद्धिदर खुम्चिएको कम्पनीहरूको भनाइ छ । कोरोना महामारीका बीच नाफा बढ्नुलाई नै सकारात्मक रूपमा लिनुपर्ने उनीहरू बताउँछन् । गत आवमा व्यवसाय सञ्चालनबाट त्यति नाफा कमाउन नसकिएको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले बताए । शेयर कारोबारबाट नाफा बढ्न सहयोग पुगेको उनको भनाइ छ । ‘गत आवमा सञ्चालन नाफामा त्यति वृद्धि छैन । कम्पनीहरूले शेयर कारोबारबाट आम्दानी गर्दा कुल नाफामा वृद्धि देखिएको हो,’ उनले भने । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्ने बताइएको छ । यसपालि नाफा कमाउने मामलामा नेको इस्योरेन्स अग्र स्थानमा आएको छ । उक्त कम्पनीले रू. ५४ करोड ६ लाख खुद नाफा कमाएर आफूलाई पहिलो स्थानमा ल्याएको छ । नाफा कमाउने मामलामा अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनी पहिलो नम्बरमा रहेको थियो । यस्तै, नाफा कमाउने मामिलामा शिखर इन्स्योरेन्स दोस्रो नम्बरमा आएको छ । उक्त कम्पनीले रू. ४७ करोड ५७ लाख नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सगरमाथाले भने रू. ४५ करोड १५ लाख नाफा कमाएको छ ।

राष्ट्रिय बीमा कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, १३ जेठ २०७८)

राष्ट्रिय बीमा कम्पनीले हालसम्म पनि तोकेबमोजिमको चुक्ता पुँजी कायम गर्न सकेको छैन । हाल कम्पनीको चुक्ता पुँजी रु. २६ करोड ६६ लाख ३९ हजार रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रु. ३ अर्ब १० करोड ३३ लाख ५३ हजार रहेको छ । कम्पनीले यस अवधिसम्म रु. २७ करोड १२ हजार खुद नाफा गरेको छ । रु. १ अर्ब ३७ करोड ६३ लाख ३७ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले रु. १४ करोड ७४ लाख २९ हजार कुल दाबी भुक्तानी गरेको छ । २०७१ साल वैशाख २३ गतेको निर्णयबमोजिम राष्ट्रिय बीमा संस्थानसँग अलग भएर निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीको बीमा कोष रकम रु. २ अर्ब ३८ करोड ५० लाख २२ हजार छ । वार्षिक प्रतिशेयर आम्दानी रु. १३५ दशमलव शून्य २ रहेको कम्पनीको पछिल्लो कारोबार दिन अन्तिम शेयर मूल्य रु. २१ हजार ४९९ कायम भएको छ । निष्कर्ष कम्पनीको ४९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको लामो सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७५ दशमलव शून्य ६ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७४६ दशमलव ८० बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलबारको शेयर मूल्य रु. २१ हजार ४९९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २० हजार ३५०मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ४९ कारोबार दिनयताकै उच्च रहेको छ ।

९ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको नाफा

काठमाडौं । चालू आथिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा करीब ९ प्रतिशतले बढेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ कम्पनीको औसत नाफा ८ दशमलव ९१ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा उक्त कम्पनीहरूले रू. ३ अर्ब ४५ करोड १९ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने उनीहरूको खुद नाफा रू. १ अर्ब १६ करोड ९५ लाख थियो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकनको क्रममा बीमांकीले असमाप्त जोखिम बापतको व्यवस्था र बीमा कोषको केही रकम नाफा नोक्सान खातामा सार्न सक्छन्, जसले गर्दा कम्पनीहरूको नाफा बढ्नेछ । कोरोना कहरका बीच पनि समीक्षा अवधिमा सन्तोषजनक नाफा आर्जन भएको बीमा कम्पनीहरूको भनाइ छ । कोरोना कहर र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा यस्तो बीमाको व्यवसायमा सुधार आउँदा नाफा पनि बढेको कम्पनीहरूको भनाइ छ । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले लगानीको प्रतिफल बढ्दा नाफा बढेको बताए । ‘कम्पनीहरूले मुद्दती निक्षेप, डिबेन्चर, शेयर, म्युचुअल फण्डमा गरेको लगानीबाट राम्रो प्रतिफल आउँदा नाफामा पनि बढेको हो,’ उनले भने, ‘कोरोना कहरका कारण बैंकहरूले ब्याजदर घटाए पनि संस्थागत मुद्दती निक्षेपमा त्यति असर देखिएन । फलस्वरूप हामीलाई नयाँ मुद्दती निक्षेपबाट राम्रै प्रतिफल आयो ।’ यद्यपि, चौथो त्रैमासको व्यवसाय भने कोरोनाको दोस्रो लहरका कारण प्रभावित हुन सक्ने उनको आशंका छ । ‘गत आर्थिक वर्षमा पनि यही समयमै बन्दाबन्दी तथा निषेधाज्ञा हुँदा बीमा व्यवसाय प्रभावित भएको छ । अहिले पनि बीमा व्यवसाय प्रभावित हुने देखिएको,’ उनले भने,  ‘तर, त्यो अहिले नै आकलन गर्न सकिँदैन ।’ निर्जीवन बीमा कम्पनीहरूमध्ये नेशनल इन्स्योरेन्सले भने तेस्रो त्रैमासको मात्र नभएर लामो समयदेखि नै वित्तिय विवरण सार्वजनिक गरेको छैन । समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको नाफा सबैभन्दा बढी छ । सो अवधिमा कम्पनीले रू. ३६ करोड ३३ लाख खुद नाफा कमाएको हो । यस्तै, दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३५ करोड ९ लाख र तेस्रो स्थानमा रहेको प्रिमियर इन्स्योरेन्सले २८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी, दी ओरियण्टल इन्स्योरेन्स र हिमालय जनरल इस्योरेन्सको नाफा भने घटेको छ । सो अवधिमा राष्ट्रिय बीमा कम्पनीको ४९ दशमलव ४७ प्रतिशत, दी ओरियण्टलको ३२ दशमलव ५७ र हिमालय जनरलको १९ दशमलव १३ प्रतिशतले नाफा घटेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ५३ करोड ४३ लाख नाफा कमाएको राष्ट्रिय बीमा कम्पनीको नाफा चालू आवको सोही अवधिमा २७ करोड रुपैयाँ रहेको छ । यस्तै, गत आवमा ३७ करोड २५ लाख नाफा कमाएको दी ओरियण्टलले अहिले २५ करोड १२ लाख र ११ करोड २५ लाख नाफा कमाएको हिमालय जनरलले अहिले ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।