फागुन ३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीहरुले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार १८ ओटा कम्पनीहरुले चालू आवको दोस्रो त्रैमाससम्ममा कुल रू. १ अर्ब ९८ करोड नाफा कमाएका छन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ४ दशमलव ४४ प्रतिशत घटेको हो ।
गत आवको दोस्रो त्रैमाससम्ममा १८ ओटा कम्पनीहरुले रू. २ अर्ब ८ करोड नाफा कमाएका थिए । वित्तीय विवरण सार्वजनिक गरेका १८ ओटा कम्पनीमध्ये सबैभन्दा नाफा शिखर इन्स्योरेन्स कम्पनीले कमाएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २४ करोड ३० लाख नाफा कमाएको हो ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा भने सामान्य वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २४ करोड १४ लाख नाफा कमाएको थियो ।
त्यसैगरी, सर्वाधिक नाफा कमाउने दोस्रो कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । उक्त कम्पनीले रू. १९ करोड ४३ लाख नाफा कमाएको छ । यस कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, प्रतिशतका आधारमा सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीको नाफा ११८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड पुगेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न सहयोग पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड २६ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १० करोड ९८ लाख पुगेको हो ।
त्यसैगरी, प्रतिशतका आधारमा भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नेको इन्स्योरेन्स कम्पनीको नाफा ४३ दशमलव १० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. २६ करोड ४० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १५ करोड २ लाखमा झरेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घटेको देखिन्छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४३ करोड आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. २५ करोड ४७ लाखमा झरेको हो । यी १८ ओटा कम्पनीमध्ये सबैभन्दा कम नाफा अजोड इन्स्योरेन्स कम्पनीले रू. ४ करोड ६३ लाख कमाएको हो ।