काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकभित्र रहेका प्राकृतिक स्रोतसाधनको उच्चतम प्रयोग गरी निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा कम गर्नुपर्नेमा जोड दिएका छन् ।
चेम्बरले अन्तरराष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीलाई दिएको प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापार घाटा ९ गुणासम्मले वृद्धि भएको बताए । ‘आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धनका लागि युवा उद्यमीलाई आकर्षित गराउन आवश्यक छ,’ उनले भने ।
निर्यात अभिवृद्धिका लागि भन्सार सहजीकरण एवं मुख्य नाकामा अन्तरराष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापना गर्नुपर्नेमा उनले जोड दिए । निर्यात प्रवर्द्धनका लागि उत्पादित वस्तुको प्याकेजिङ र ब्राण्डिङमा समेत चेम्बरले सहयोग गर्ने उनको भनाइ थियो । अन्तरराष्ट्रिय व्यापार पछिल्लो समय डिजिटलयुक्त बन्दै गएकाले अनलाइन डेलिभरीलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए ।
भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गरिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । चेम्बरले व्यापार सहजीकरणका लागि प्रत्येक वर्ष युवा उद्यमी लक्षित विभिन्न कार्यक्रम गर्ने उनले स्पष्ट पारे ।
बजारमा भन्सारको प्रक्रिया, निर्यातमूलक वस्तुको हार्मोनिक कोड लगायतका प्राविधिक विषयमा चेम्बरले करीब ५० युवा उद्यमीलाई प्रशिक्षण दिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा चेम्बरले चारदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।