२०.७२ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, शेयरमा १६ अर्ब ७३ करोड लगानी

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नागरिक लगानी कोषको खुद नाफा २०.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३२ करोड २५ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३८ करोड ९४ लाख पुगेको छ । यस अवधिमा कम्पनीले यज आम्दानी बाट ८ करोड ८७ लाख , सेवा शुल्क तथा कमिशन आम्दानीबाट ५८ करोड ७२ लाख र विविध आम्दानी शिर्षकमा ३ लाख ८० हजार आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड लगानी गरेको छ । त्यस्तै संगठित संस्थाको शेयरमा १६ अर्ब ७३ करोड लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले संगठित संस्थाको शेयरमा १२ अर्ब ४३ करोड लगानी गरेको थियो। कम्पनीले यस अवधिमा मुद्दती निक्षेपमा १ खर्ब ५ अर्ब लगानी गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी भने घटेर २४ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ भने १६४ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २७ करोड रहेको छ । 

सम्बन्धित सामग्री

सामूहिक लगानी कोषप्रतिको आकर्षण

सामूहिक लगानी कोष एक प्रकारको लगानीको औजार हो, जसले बजारमा एकाइ जारी गरी लगानीकर्ताबाट रकम संकलन गर्ने र शेयर डिवेन्चर ऋणपत्र, मुद्दती निक्षेप वा अन्य लगानीका औजारमा पोर्टफोलियो मिलाई लगानी गर्ने गर्छ । सामूहिक लगानी कोषको पोर्टफोलियो संरचनागत हुन्छ र विवरणपत्रमा उल्लिखित उद्देश्यअनुरूप लगानी गर्छ । धितोपत्र बजार बियरिसमा गएको अवस्थामा कतिपय कम्पनीहरूको धितोपत्र निष्कासन तथा प्रत्याभूतिको कार्य गर्न अन्य मर्चेन्ट बैंकरहरूले नमानेको अवस्थामा समेत कोषले जोखिम लिएरै भए पनि ती कम्पनीलाई पूँजीबजारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । सामूहिक लगानी कोषको शुरुआत एनसीएम म्युच्युअल फन्ड २०५० बाट भएको पाइन्छ । यो रू. १० करोड बराबरको १० वर्ष म्याद अवधि भएको कोष थियो । त्यसपछि, नागरिक लगानी कोष व्यवस्थापक भई नागरिक एकांक योजना २०५२ एकाइ योजना आएको थियो । यो योजना नागरिक एकाङ्क योजना सञ्चालन कार्यविधि, २०५२ अनुसार हालसम्म सञ्चालन भइरहेको छ । सामूहिक लगानी कोष नियमावली, २०६७ आउनुभन्दा करीब १५ वर्ष पहिलेदेखि नै यो सञ्चालनमा आएको हो । नागरिक एकाङ्क योजना सञ्चालन कार्यविधि, २०५२ नागरिक लगानी कोष ऐन २०४७ ले दिएको अधिकार प्रयोग गरी सञ्चालन गरिएको छ । यो एकाइ योजनामा पूँजी र अवधि दुवै निश्चित छैन । कोष व्यवस्थापक (नागरिक लागनी कोष) मार्फत मात्र किनबेच हुने गर्छ । कसैले एकाइमा लगानी गर्न चाहेमा कोषबाट खरीद गर्न सक्छ भने विक्री गर्न चाहेमा कोषले खरीद गरिदिने व्यवस्था रहेको छ । यो योजनालाई अन्य सामूहिक लगानी कोषजस्तो धितोपत्र बजारमा सूचीकृत गरिएको छैन । यस एकांक योजनामा रू. १००० सम्म लगानी गर्ने लगानीकर्तालाई आय करमा छूट दिइएको छ । चालू आवको पहिलो त्रैमासमा करीब १५०० एकाइ धनीमार्फत रू. १ अर्ब ६० करोड बराबरको रकम संकलन भएको छ । यस योजनामार्फत वार्षिक करीब २ अर्ब ५० करोड बराबरको कारोबार हुने गरेको पाइन्छ । यस योजनाका एकाइधनीले योजना सञ्चालक (कोष) ले तोकेको प्रतिफल (ब्याज) पाउने व्यवस्था छ । धितोपत्र कारोबारमा अन्य सामूहिक लगानी कोषले पाउने सुविधा यस योजनाले समेत प्राप्त गरेको छ । धेरै मात्रामा सामूहिक लगानी कोषहरू सञ्चालनमा आउन थालेको सामूहिक लगानी कोष नियमावली, २०६७ आएपछि हो । सामूहिक लगानी कोषहरू यसका विशेषताअनुसार विभिन्न प्रकारका हुन्छन् । निश्चित पूँजी र अवधि भई कोष व्यवस्थापकमार्फत मात्र किनबेच हुने बन्दमुखी सामूहिक लगानी कोष हो भने पूँजी र अवधि दुवै अनिश्चित भएको तर कोष व्यवस्थापकमार्फत मात्र किनबेच हुने खालको खुलामुखी सामूहिक लगानी कोष हो । पूँजी र अवधि दुवै निश्चित नभएका ट्रस्ट करारबमोजिम सञ्चालन हुने कोष एकाइ योजना हुन् । धेरैजसो सामूहिक लगानी कोषहरू धितोपत्र बजारमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुने गरेको पाइन्छ भने कतिपय सूचीकृत नभई पनि कोष व्यवस्थापकमार्फत किनबेच हुने गरेको छ । नेपालमा हाल आएर सामूहिक लगानी कोषको आकार, प्रकार र क्षेत्र बढिरहेको पाइन्छ । यसप्रति आम लगानीकर्ताको आकर्षण पनि बढिरहेको छ । पछिल्लोपटक सार्वजनिक निष्कासन भएका मेगा म्युचुअल फन्ड १ र नबिल ब्यालेन्स फन्ड ३ मा लगानीकर्ताको जुन आकर्षण देखियो त्यसले सामूहिक लगानी कोषप्रति आकर्षण बढेको देखाउँछ । नागरिक एकांक योजना, २०५२ एकाइ योजनाका रूपमा हालसम्म सञ्चालनमा रहेको एक सामूहिक लगानी कोष हो । नागरिक लगानी कोष ऐन, २०४७ को प्रस्तावनामा नै देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पूँजी बजारमा गतिशीलता ल्याउन नागरिक लगानी कोषको स्थापना भएको उल्लेख गरिएको छ । ऐनले निर्दिष्ट गरेको कोषको लक्ष्यहरू मध्येको एक लक्ष्य हो ः पूँजी बजारको विकास तथा विस्तारमा गतिशीलता ल्याउनु । लागरिक लगानी कोषलाई सर्वसाधारण मानिसले स्वैच्छिक अबकाश कोष सञ्चालकका रूपमा चिने तापनि कोषले स्थापना कालदेखि नै मर्चेन्ट बैंकरका रूपमा कार्य गर्दै आएको छ । कोषले पूँजी बजारसम्बन्धी परामर्शकर्ता, धितोपत्र निष्कासनकर्ता, प्रत्याभूतिकर्ता र शेयर रजिस्ट्रारका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । हाल धितोपत्र बजारमा सूचीकृत भई कारोबार भइरहेका पुराना कम्पनीदेखि लिएर भर्खरै सूचीकृत भएका कम्पनीसम्मको पूँजी बजारसम्बन्धी कार्यमा कोषको कुनै न कुनै रूपमा भूमिका रहेको छ । यदि नागरिक लगानी कोषले पूँजी बजारसम्बन्धी कार्य नगर्ने हो भने ठूलो पूँजी चाहिने कम्पनीको ठूलाठूला धितोपत्र निष्कासन हुन मुश्किल हुने अवस्था छ । खासगरी ठूलो पूँजीको निष्कासनमा प्रत्याभूतिकर्ताको कमी हुन सक्छ । त्यस्ता ठूला कम्पनीहरू पूँजी बजारमा आउनबाटै वञ्चित हुने अवस्था पनि नआउला भन्न सकिँदैन । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को एक व्यवस्थाबमोजिम धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर) ले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको तीन गुणासम्म मात्र प्रत्याभूति (अन्डरराइटिङ) गर्न सक्ने व्यवस्था रहेको छ । कुनै प्रत्याभूतिकर्ता (अन्डरराइटर) को नेटवर्थ ५० करोडको मात्र रहेछ भने उसले डेढ अर्बभन्दा बढीको धितोपत्र निष्कासनको प्रत्याभूति गर्न सक्दैन । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को अर्को एक व्यवस्थाअनुसार मर्चेन्ट बैंकिङ व्यवसाय गर्न न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ भए पुग्छ । तर, कोषको नेटवर्थ धेरै नै ठूलो भएको कारण यस्तो समस्या हुँदैन । हाल धितोपत्र बजारमा रहेका ठूला पूँजी भएका कम्पनीहरू निफ्रा र माथिल्लो तामाकोशीजस्ता ठूला कम्पनीको धितोपत्र निष्कासनको प्रत्याभूति नागरिक लगानी कोषबाहेक अरूले गर्न सक्ने अवस्था थिएन । धितोपत्र बजार बियरिसमा गएको अवस्थामा कतिपय कम्पनीको धितोपत्र निष्कासन तथा प्रत्याभूतिको कार्य गर्न अन्य मर्चेन्ट बैंकरहरूले नमानेको अवस्थामा समेत कोषले जोखिम लिएरै भए पनि ती कम्पनीलाई पूँजी बजारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोषले पूँजी बजारभन्दा बाहिर रहेका हरेक खालका कम्पनीहरूलाई आर्थिक विकास र औद्योगिकीकरणका लागि आवश्यक पर्ने पूँजी जुटाउन परामर्श दिने र प्रेरित गर्ने गरेको छ । सबै क्षेत्रका उद्योग र उद्योगीलाई पूँजी उपलब्ध गराउन मद्दत गरेर कोषले उत्पादकत्व बढाउन पूँजी बजारमा ठूलो भूमिका निर्वाह गरेको छ । दोस्रो बजारमा गतिशीलता ल्याउन कोषले नागरिक स्टक डिलर कम्पनी स्थापना गरी सञ्चालनमा ल्याएको छ । यसले धितोपत्रको किनबेच गरी पूँजी बजारको विकास र विस्तारमा गतिशीलता ल्याउन मुख्य भूमिका निर्वाह गर्छ । यसैगरी यसले पूँजी बजार सेवाका उपकरणहरू/औजारहरू प्रभावकारी ढंगले प्रयोग गर्ने उद्देश्य लिएको छ । कोष आफैले पनि पहिलो तथा दोस्रो बजारमा धितोपत्रको कारोबार गर्ने गर्छ । कोषले सामूहिक लगानी कोष सञ्चालनको निकै लामो कार्य अनुभवलाई बिस्तार गर्दै थप नयाँ सामूहिक लगानी कोष सञ्चालनमा ल्याई पूँजी बजारमा थप गतिशीलता ल्याउनुका साथै आम मानिसलाई लगानीको अवसर प्रदान गर्नुपर्छ । पूँजीबजारको विकास तथा विस्तारमा कोषको लामो अनुभव तथा इतिहास रहेको छ । यसलाई समयसापेक्ष परिष्कृत गर्दै लगी पूँजी बजारमा लगानीका आधुनिक तौरतरीका तथा औजारहरूको प्रयोग गर्दै कोषले पूँजी बजारको विकास र विस्तारमा आफ्नो भूमिकालाई अझै बलियो बनाइराख्नुपर्छ । बजारमा रहेका निजीक्षेत्रबाट सञ्चालित मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका थुप्रै संस्था छन् र यिनका ग्राहक पनि उत्तिकै संख्यामा रहेको पाइन्छ । सरकारी स्वामित्वको लागरिक लगानी कोषलाई सर्वसाधारण मानिसले अझ बढी विश्वास र भरोसा गर्न सक्ने भएकाले त्यो अवसरलाई कोषले सदुपयोग गरी पूँजी बजारका विभिन्न सेवा, सुविधा, औजार तथा कार्यक्रमहरू सञ्चालनमा ल्याई त्यसबाट आफूले पनि लाभ लिन र सहभागीलाई पनि अधिकभन्दा अधिक लाभ दिन सक्नुपर्छ । नागरिक लगानी कोषसँग आबद्ध गुरागाँईका यी विचार निजी हुन् ।