काठमाडौं (अस) । कुवेतको एयरलाइन्स कम्पनी जजिराले भैरहवालाई पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सघाउने घोषणा गरेको छ । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल (गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल)मा पहिलो अन्तरराष्ट्रिय उडान गरेको उक्त कम्पनीले पर्यटन प्रवर्द्धन सघाउने बताएको हो ।
जेठ २ गतेदेखि नै व्यावसायिक उडान गरेको कम्पनीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बुद्धभूमिलाई गन्तव्य बनाउन सहयोग गर्ने बताएको हो । जजिरा एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनले कम्पनीले हवाई सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्य थप्दै आएको बताए । नेपालको भैरहवामा सीधा उडान गर्दा नेपाली तथा विदेशी पर्यटकलाई पनि विदेशबाट सीधै तराई तथा पश्चिमतर्फ जान सहज हुने उनको भनाइ छ ।
लुम्बिनीमा प्रत्यक्ष उडान सेवा गर्दा पर्यटनमा पनि योगदान पुग्ने उनले बताए । यसैगरी नेपाली टुर अपरेटर्स तथा एजेन्टहरूसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनमा सघाउने बताइएको छ । जजिराले यो उडानबाट मध्यपूर्व र यूरोपमा रहेका ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रूपमा जोडिन सक्ने उल्लेख गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको उक्त एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा पनि नियमित उडान शुरू गरेको छ । कम्पनीले सो विमानस्थलबाट सोमवार, बुधवार र शुक्रवार उडान गर्ने तालिका पाइसकेको छ ।