बीमा कम्पनीको सीईओ नियुक्तिमा चलखेल, बीमा समितिले दण्डित गरेका व्यक्ति सर्टलिस्टमा

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिमा अर्थमन्त्रीदेखि प्रधानमन्त्रीपत्नी सम्मको चासो देखिएको छ । आर्थिक अनियमिततामा दण्डित गरिएका एक व्यक्ति राजनीतिक पहुँचका आधारमा सर्टलिस्टमा परेका छन् ।

सम्बन्धित सामग्री

आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्को तयारी पूरा

काठमाडौं । न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्को आठौं संस्करणको तयारी पूरा भएको छ ।  न्यू बिजनेश एज प्रालिको आयोजनामा आगामी शुक्रवार हुन लागेको कार्यक्रमको टाइटल स्पोन्सर एशियन पेन्ट्स् रहेकाे छ । कार्यक्रममा प्यानल डिस्कसनका साथै विभिन्न विधामा अवार्डस् वितरण हुनेछ, जसअन्तर्गत ‘बिजनेस अपरच्युनिटिज इन डिफिकल्ट टाइम्स’ विषयमा प्यानल डिस्कसन गरिने भएको छ । प्यानल स्पिकरमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट, युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अम्लान मुखर्जी, निम्बस होल्डिङ प्रालिका म्यानेजिङ डाइरेक्टर आनन्द बगारिया र भायानेट कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक रहनेछन् । प्यानल डिस्कसनको सहजीकरण प्रिज्मा एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले गर्नेछन् ।  कार्यक्रममा भारतीय उद्योगवाणिज्य महासंघ (एफआईसीसीआई)का वरिष्ट सल्लाहकार मानब मजुमदरले कि–नोट मन्तव्य दिनेछन् ।  कार्यक्रमअन्तर्गत विभिन्न ११ विधामा अवार्ड वितरण हुनेछ, जसमा १० ओटा संस्थागत विधा छन् भने एक लाइफटाइम एचिभमेन्ट अवार्ड छ । व्यावसायिक क्षेत्रमा लामो समय योगदान पुर्याउने व्यक्तिलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।   यस्तै ‘बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर’, ‘प्रिमियम होटल अफ दि इयर’, ‘बेष्ट हस्पिटल अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’, ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ दि इयर’, ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’, ‘बेष्ट ननलाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’लगायत विधामा अवार्ड वितरण गरिनेछ ।  यी अवार्ड पाउने संस्था र व्यक्ति छनोट भइसकेको आयोजक संस्थाले जनाएको छ । आयोजकका अनुसार विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलहरुले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्ति छनोट गरिसकेका छन् ।  कार्यक्रमको अन्य प्रायोजकमा एनआईसी एसिया बैंक, नेक्सन इभी, नबिल बैंक, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, एसियन लाइफ इन्स्योरेन्स, नेपाल बीमा प्राधिकरण, स्मार्टफोन कम्पनी एमआई, एनएलजी इन्स्योरेन्स, प्रभु बैंक र सोनम गियर छन् । कार्यक्रमको इन्टरनेट पार्टनरमा डिसहोम फाइबर नेट छ भने टीभी पार्टनरमा हिमालय टीभी छ । कार्यक्रम व्यवस्थापनको जिम्मा भने भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टले पाएको छ ।

बीमाको संस्थागत सुशासन निर्देशिका संशोधन : अध्यक्ष दुईपटक मात्र

काठमाडौं । बीमा कम्पनीमा एकजना व्यक्ति दुईभन्दा बढीपटक अध्यक्ष बन्न नपाउने भएको छ । बीमाक्षेत्रको नियामक निकाय बीमा समितिले आइतवार संस्थागत सुशासनसम्बन्धी निर्देशिका संशोधन गर्दै अध्यक्षको कार्यकाल सीमा तोकेको हो । नेपालमा बीमा कम्पनीका अध्यक्षको कार्यकालमा सीमा तोकिएको यो पहिलोपटक हो । हालसम्म एकै व्यक्ति जतिपटक पनि बीमा कम्पनीमा अध्यक्ष हुन सक्थ्यो । नयाँ व्यवस्थाअनुसार अध्यक्षको एक कार्यकाल ४ वर्षको हुनेछ । एउटा व्यक्ति बढीमा दुईपटकसम्म मात्र अध्यक्ष बन्न पाउनेछ । यो व्यवस्था सञ्चालक समिति सदस्यको हकमा पनि लागू हुने समितिले बताएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीका अध्यक्षको कार्यकाल तोकिएको जानकारी दिएका हुन् । ‘यसअघि बीमा कम्पनी अध्यक्षको कार्यकालबारे कुनै व्यवस्था थिएन । त्यसअनुसार एकै व्यक्ति जति समय/पटक पनि अध्यक्ष हुन सक्थे,’ उनले भने, ‘तर, एउटै व्यक्ति लामो समय अध्यक्ष हुँदा अनेक समस्या देखिए । त्यसपछि हामीले निर्देशिका संशोधन गरेर कार्यकालको सीमा तोकेका हौं ।’ दुईभन्दा बढीपटक अध्यक्ष भइसकेको व्यक्ति अहिले पदमा छ भने उसले छाड्नुपर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ । यस्तै, बीमा अभिकर्तालाई कर्जा दिन नीतिगत रूपमै रोक लगाएको छ । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रोत्साहन गर्न कर्जा सुविधा दिँदै आएका थिए । त्यसमा समितिले केही समयअघि रोक लगाउने निर्णय गरेको थियो । अहिले आएर त्यसलाई नीतिगत रूपमा स्थापित गरिएको हो । यद्यपि, जीवन बीमा कम्पनीले अभिकर्तालाई किस्तामा सवारीसाधन भने दिन सक्ने व्यवस्था गरिएको छ । ‘अभिकर्ताले माग गरेको अवस्थामा कम्पनीले सवारीसाधन किनिदिन सक्छ । तर, त्यसका लागि नगद दिन पाउँदैन,’ पौडेलले भने, ‘कम्पनीले आफ्नै नाममा सवारीसाधन किनेर अभिकर्तालाई दिन सक्छ । र, अभिकर्ताले त्यस बराबरको रकम चुक्ता गरेपछि मात्र सवारीसाधन उसको नाममा हुनेछ । कर्जा प्रकृतिको यो बाहेक अरू सुविधा अभिकर्तालाई दिन पाइने छैन ।’ यस्तै, अब बीमा कम्पनीहरूले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्ने छ । प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र नीति तथा कार्यक्रम र बजेट बनाएर सञ्चालक समितिबाट पास गराई बीमा समितिमा पेश गर्नुपर्ने संशोधित निर्देशिकामा उल्लेख छ । आर्थिक वर्षको प्रत्येक त्रैमासमा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त भएको अवस्थामा ३ महीनाभित्र नयाँ नियुक्ति गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । पहिला यसको सीमा ६ महीना थियो, अहिले त्यसलाई घटाएर ३ महीनामा सीमित गरिएको समितिले जानकारी दिएको छ ।

महिलाले नेतृत्व गरेका व्यवसायको उत्थानशीलता कार्यक्रम शुरू

काठमाडौं (अस) । कोरोना महामारीले लघु, घरेलु तथा साना उद्यम (एसएमइज्)मा असर परेको सन्दर्भमा महिलाद्वारा सञ्चालित उद्यम व्यवसायको उत्थानशीलता कार्यक्रम शुरू गरिएको छ । व्यावसायिक उत्थानशीलता सम्बन्धी उक्त कार्यक्रम अमेरिकी सहयोग नियोग (यूएसएड)ले तयार पारेको नेपाल विपद् जोखिम उन्नत व्यवस्थापन परियोजनाको सहयोगमा ठूलो डट कम र इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एन्ड जेन्डर इक्वालिटी (इमर्ज)ले सञ्चालन गर्न लागेका हुन् । ठूलो डट कम र इमर्जले हालै महिलाद्वारा सञ्चालित व्यवसायको उत्थानशीलता विकास सम्बन्धी सो परियोजना प्रारम्भ भएको जानकारी गराएका छन् । औपचारिक तथा अनौपचारिक क्षेत्रका घरायसी महिला उत्पादकलाई समेत समेटेर व्यावसायिक निरन्तरता र उत्थानशीलताका लागि आवश्यक शीप तथा जानकारी प्रदान गरिने इमर्जकी सीईओ मोना श्रेष्ठ अधिकारीले बताइन् । अर्थतन्त्रको स्थायित्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लघु, साना र मझौला उद्यम (एमएसएमईज्)हरू विविध किसिमका विपद्बाट बच्न सक्नेगरी उत्थानशील र दिगो बनाउने कार्यले आर्थिक पुनरुत्थानमा टेवा पुग्ने अपेक्षा गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू, बैंक तथा बीमा कम्पनी, विकास साझेदार, निजीक्षेत्रका संस्थाहरू, स्थानीय सरकारका प्रतिनिधिहरू उपस्थितिमा भर्चअल माध्यमबाट उक्त परियोजनाको शुभारम्भ गरिएको छ । कार्यक्रममा इमर्जकी सीईओ श्रेष्ठले हरेक व्यवसायलाई विपद् जोखिम पूर्वतयारी आवश्यक रहेको औंल्याइन् । उक्त परियोजना लुम्बिनी प्रदेशका १० जिल्ला र १५ नगरपालिकामा केन्द्रित हुनेछ । घरेलु उत्पादकहरूका सार्क व्यावसायिक संगठन, राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल, व्यवसाय तथा पेशागत महिला महासंघ, अपांगता भएका महिलाहरूको महासंघ तथा सुर्खेतको वीरेन्द्रनगर, कैलालीको गोदावरी, धादिङको नीलकण्ठ नगरपालिक, दाङको तुलसीपुर उपमहानगरपालिका यूएसएडको परियोजनाको कार्यक्षेत्र रहेका छन् । यूएसएडको तयार परियोजनाकी प्रमुख ताम्मी ह्यारिसले कोरोना महामारीमा महिलाले सञ्चालन गरेका व्यवसायको पुनरुत्थान लैंगिक समानता, सामाजिक समावेशीकरण निजीक्षेत्रको विस्तारका लागि महत्वपूर्ण भएका बताइन् । ठूलो डटकमकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) एवं परियोजनाकी सम्पर्क व्यक्ति सुरक्षा अधिकारीले औपचारिक तथा अनौपचारिकका साथै शहरी र ग्रामीण क्षेत्रका व्यवसायलाई परियोजनाले समेट्ने जानकारी दिइन् । उक्त परियोजनाले १२० महिला उद्यमीको शीप स्तरोन्नति र घरेलु उत्पादन व्यवसायमा संलग्न ४० उद्यमीका उत्पादनको बजारीकरणका लागि एप्स निर्माणका साथै अनलाइनमार्फत बजार प्रवद्र्धन गर्ने बताइएको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुसालले विद्यमान महामारीका कारण खुम्चिएको बजार एसएमइज्ले ई–कमर्शमार्फत पुनः हासिल गर्न सकिने बताएका थिए ।

असार १७ बाट हिमालयन रि सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनी असार १७ गते अर्थात् जुलाई १ तारीखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हिमालयन रिले गत जेठ तेस्रो साता बीमा समितिबाट कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीलाई असार महीनाभित्र नै सञ्चालन गर्ने गरी संस्थापकहरू तयारीमा लागेका हुन् ।  सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेको छ । साथै, संस्थागत लगानीतर्पmको शेयर लगानी (रू. ७ अर्ब) पनि जुटिसकेको छ ।  बालुवाटारमा कम्पनीको कार्र्यालय स्थापना भइसकेको छ । कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गरिसकिएको छ । कम्पनी सञ्चालनको अनुमतिका लागि बीमा समितिमा आवेदन दिइसकेको संस्थापक लगानीकर्तामध्येका एक सदस्य व्यवसायी पशुपति मुरारकाले बताए ।  ‘अन्तिम स्वीकृतिका लागि बीमा समितिमा आवेदन दिइसकेका छौं । कम्पनीका तर्फबाट गर्नुपर्ने प्रक्रिया पनि लगभग सबै सकिएको छ,’ उनले भने, ‘समग्रमा हामी जुलाई १ तारीखदेखि कम्पनीलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’ अबको १ हप्ताभित्र नै बीमा समितिबाट कम्पनी सञ्चालनको अन्तिम स्वीकृति पाइने उनको विश्वास छ ।  बीमा समितिका कार्यकारी निर्देशक कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि हिमालयन रिलाई अन्तिम स्वीकृति दिने तयारी भएको बताए । ‘सैद्धान्तिक स्वीकृत दिइसके पछि अन्तिम स्वीकृति दिन समस्या हँुदैन । कम्पनीबाट पूँजी जुटेको जानकारी पनि प्राप्त भइसकेको छ,’ उनले भने, ‘अब कम्पनीलाई छिट्टै अन्तिम स्वीकृति दिनेछौं ।’ कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विदेशी व्यक्ति ल्याउने गरी छलफल गरिएको छ । तर, निर्णय भने नभएको एक लगानीकर्ताले बताए । ‘पुनर्बीमा व्यवसाय गर्न हामी विदेशी बजारमा जानैपर्ने हुन्छ । त्यसैले हामीले विदेशबाट नै सीईओ नियुक्त गर्ने गरी छलफल गरेका छौं,’ उनले भने, ‘तर, कोरोनाका कारण त्यसमा केही चुनौती हुन सक्छ । यस विषयमा छिट्टै निर्णय हुनेछ ।’ निजीक्षेत्रको स्वामित्वको यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । त्यसमा संस्थागततर्पmको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारण शेयर (आईपीओ) निष्कासन गरेर जुटाइने मुरारकाले बताए ।  कम्पनीको मुख्य शेयर लगानीकर्ता जगदम्बा (शंकर) ग्रूप रहेको छ । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी रााणा, वर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी शाहिल अग्रवाललगायत व्यक्ति तथा विभिन्न व्यावसायिक घरानाको शेयर हुने उल्लेख छ । लक्की ग्रूप, दुगड ग्रूपलगायत व्यावसायिक घरानाको लगानी रहेको समितिको भनाइ छ । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । बीमा समितिले गठन गरेको अध्ययन समितिले थप एउटा पुनर्बीमा कम्पनी पनि आवश्यक देखाएको थियो । त्यसपछि समितिले निजीक्षेत्रको स्वामित्व हुने गरी नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । त्यसमा ५ प्रस्तावित पुनर्बीमा कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट समितिले हिमालयन रिलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । आवेदन दिने कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनी रहेका छन् । तोकिएको आधारमा मूल्यांकन गर्दा हिमालयन रिको नम्बर बढी आएपछि उसैलाई नै सैद्धान्तिक स्वीकृति दिएको समितिको भनाइ छ ।

बीमा बजारमा अब फरक प्रकारको चेतना ल्याउन आवश्यक छ

हालै युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएकी उपासना पौडेल नेपाली बीमा बजारका लागि नयाँ व्यक्ति हुन् । भारतीय बीमा बजारमा लामो समय काम गरेकी पौडेलसँग नेपाली बीमा बजारको अनुभव भने छोटो छ । यस अवस्थामा उनले कम्पनीलाई कसरी अगाडि बढाउँदै छिन् ? प्रस्तुत छ, यस्तै समसामयिक विषयमा आर्थिक अभियानका मिलन विश्वकर्माले पौडेलसँग गरेको कुराकानीको सार : नेपालको बीमा क्षेत्रमा यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महिला थिएनन् । त्यो अवस्थामा तपाईं युनाइटेड इन्स्योरेन्सको सीईओमा नियुक्त हुनुभएको छ । कस्तो लागिरहेको छ ? यस कम्पनीको सीईओ भएर आउँदा एकदम उत्साहित भएको छु । तर, उत्साहसँगै जिम्मेवारी पनि बढेको महसुस भएको छ । महिला भएको हुनाले बजारले के गर्न सक्ला भन्ने पनि हुन सक्छ । यसमा महिला/पुरुषले यसमा खास अर्थ त राख्दैन । तर, केही फरक भने हुन्छ । यद्यपि, महिला भएको कारण हाम्रो आवाज सुनिन्छन् । तर, काम गर्ने मामलामा महिला/पुरुषलाई आधार बनाउनु हुँदैन । काम गर्न सक्नेलाई स्थान दिनुपर्छ । नेपालमा यस्तो संस्कार बल्ल शुरू हुन खोजेको छ । अहिले भारतका ठूला बैंक तथा बीमा कम्पनीहरूमा महिलाले पनि नेतृत्व गरेका छन् । तर, केही समयअघि त्यहाँ पनि महिलाको सहभागिता न्यून थियो । धेरै लामो समयपछि त्यहाँको बजारमा महिलाहरू नेतृत्वमा आएका हुन् । म भारतीय बीमा बजारमा २०१२ मा प्रवेश गरेको हुँ । त्यस बेला त्यहाँ महिला नेतृत्व अत्यन्त कम थियो । तर, अहिले त्यहाँ महिलाहरू नेतृत्वमा आइसकेका छन् । अब नेपालमा पनि त्यो परिवर्तन आउँदै छ । केही समयअघि युनाइटेडमा महिला कर्मचारी संख्या कम थियो । तर, अहिले कुल कर्मचारीमा महिला कर्मचारीको हिस्सा ३५ प्रतिशत पुगिसकेको छ । नेतृत्व तथा विभागीय प्रमुखहरूमा त महिलाको संख्या ५० प्रतिशतभन्दा बढी छ । यद्यपि, हामीले महिला नै भएर उनीहरूलाई स्थान दिएका भने होइनौं । महिलाले एकदम प्रतिबद्ध एवं समर्पित भएर काम गर्छन् । त्यसैले, महिलालाई महिलाको रूपमा मात्र हेर्नु हुँदैन । अझ भनौं, काम गर्ने मामलामा महिला/पुरुष भनेर भन्नु हुँदैन । बीमा क्षेत्रमा प्रवेश गरेर छोटो समयमै व्यवस्थापकीय रूपमा एक कम्पनीको नेतृत्व गर्दै हुनुहुन्छ । यहाँसम्मको यात्रा कस्तो रह्यो ? मैले ब्याचलरसम्म नेपालमै पढेको हुँ । मास्टर डिग्री भने भारतको दिल्ली युनिभर्सिटी फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजमा गरेको हुँ । त्यो कलेज भारतको उत्कृष्ट ५ भित्र पर्छ । त्यसकारण मलार्ई त्यहाँ जागिर खोज्दै हिँड्नु परेन । त्यहाँ राम्रा कलेजहरूमा कम्पनीहरू आफै इन्टर्नशिपको अवसर लिएर आउने गर्छन् । सोही क्रममा मैले त्यहाँको एक म्यानुफ्याक्चरिङ कम्पनी कुम्मिन्स इन्डिया लिमिटेडमा जोडिने अवसर पाएँ । त्यहाँ मेरो कार्यसम्पादनलाई मूल्यांकन गर्दै कम्पनीले पूर्णकालीन रूपमै काम गर्ने अवसर दियो । यसै क्रममा नेपालीसँग नै मेरो विवाह पनि भयो । थप करिअरका लागि म २०१२ मा मुम्बई गए । त्यहाँ गएर जागिर खोज्ने क्रममा आईसीआईसीआई नामक निर्जीवन बीमा कम्पनीमा जोडिएँ । त्यही कम्पनीबाट बीमा क्षेत्रमा मेरो प्रवेश भएको हो । त्यस कम्पनीमा ६ महिना मात्र काम पाएमा पनि धेरै राम्रो हुने थियो । तर, त्यहाँ पनि मैले राम्रै कार्यसम्पादन गर्न सकेँ । त्यहाँ कार्यसम्पादनको आधारमा ३/३ वर्षमा मात्र कर्मचारीको प्रमोसन हुन्थ्यो । तर, मेरो १/१ वर्षमै प्रमोसन हुन्थ्यो । त्यहाँ काम गर्दा मेरो व्यक्तिगत जीवनलाई पनि धेरै फाइदा गर्‍यो । म त्यहाँ म्यानेजमेन्ट तहबाटै सेवा शुरू गरेको थिएँ । त्यसको प्रभावले नै मलाई अहिले युनाइटेड इन्स्योरेन्सको सीईओ हुन मद्दत पुगेको हो । त्यस कम्पनीमा काम गर्दा गर्दै म फेरि भोडाफोन नामक टेलिकम कम्पनीमा जोडिन पुगेँ । त्यहाँ काम राम्रो गरे पनि उत्साह भने भएन । त्यहाँ ६ महिनाजति काम गरेर म बीमा बजारमै फर्किएँ । त्यसपछि मैले आईसीआईसीआईसँग मर्ज हुन लागेको भारतीय एक्सा नामक बीमा कम्पनीमा काम शुरू गरेँ । तर, भारतमा लामो समयसम्म बस्न मन भएन । अन्ततः हामी (श्रीमान् समेत)ले २०१९ डिसेम्बरमा नेपाल आउने निर्णय गर्‍यौं । नेपाल आएर सानिमा जनरल इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम शुरू गरेँ । त्यसपछि युनाइटेड इन्स्योरेन्समा डीसीईओ रूपमा नियुक्त भएर डेढ वर्षअघि आएको हुँ । लामो समय भारतीय बीमा बजारमा काम गर्नुभयो । अहिले नेपाली बीमा बजारमा सक्रिय हुनुहुन्छ ? नेपाल र भारतीय बीमा बजारमा महिला सहभागिता, पहु“च, प्रविधि लगायतको अवस्था कस्तो छ ? भारतमा अहिले महिला कर्मचारीको हिस्सा बढी नै छ । त्यहाँ कम्पनीमा ३५ प्रतिशत महिला कर्मचारी हुनुपर्ने प्रावधान पनि छ । त्यसको कारणले पनि त्यहाँ अहिले महिला कर्मचारीको हिस्सा राम्रो छ । तर, उनीहरूले महिला नै भएर जागिर पाएका भने होइनन् । काम गर्न सक्ने भएर नै पाएका हुन् । तर, नेपालमा भने महिलाको सहभागिता कम नै छ । तर, विस्तारै बढ्दै गएको पनि देखिन्छ । तर, महिलाले काम भने गर्न सक्नुपर्छ । अहिले यहाँ महिलाको हिस्सा ३५ प्रतिशत हुनुपर्छ भनियो भने काम गर्ने सक्ने मान्छे पाउन गाह्रो हुन्छ । त्यो कोटा परिपूर्ति गर्दा प्रभावकारिता पनि घट्न सक्छ । महिला कर्मचारीको हकमा विस्तारै विकास हुन्छ जस्तो लाग्छ । हाम्रो कम्पनीमा त भइपनि सक्यो । केही समय यहाँ १० प्रतिशत महिला कर्मचारी थिए । अहिले त्यो ३०÷३५ प्रतिशत पुगेको छ । विभागीय प्रमुखहरूमा त ५० प्रतिशतभन्दा बढी छ । अरूले शुरू नगरे पनि हामीले शुरू गरेका छौं । अब यसको नतीजा कस्तो आउँछ, त्यो पनि विस्तारै देखिन्छ । नतीजा राम्रै आयो भने अन्य कम्पनीले पनि यस्तो अभ्यास गर्न सक्छन् । कम्पनीले राम्रो व्यवसाय गर्दै गयो भने महिलामैत्री कार्यालय पनि बनाउँछौं । तर, अहिले कम्पनीसँग पर्याप्त पूँजी नहुँदा त्यो गर्न सकिएको छैन । निकट भविष्यमा हुन सक्छ । नेपालका कम्पनी महिलामैत्री भने छैनन् । भारतमा यस्ता कम्पनीहरूमा ‘चाइल्डकेयर सेन्टरहरू’ पनि छन्, ता कि बच्चा भएका महिला कर्मचारीले पनि कार्यालयमा आएर काम गर्न सकून् । बच्चा हेर्नकै लागि जागिर छोड्न नपरोस् । तर, नेपालमा त्यस्तो संस्कृतिको विकास भएको छैन । करियर राम्रो भएका महिला साथीहरू पनि बच्चा हेरचाह गर्नकै लागि जागिर छोडेका विभिन्न उदाहरण छन् । परम्परागत मान्यतालाई ध्यानमा राखेर बच्चा हेरचाह गर्न श्रीमतीलाई नै जागिर छोड्न लगाइन्छ । यस अवस्थामा महिलामैत्री कार्यालय बनाउन आवश्यक छ । साथै, हामी विमन ब्रान्च नै बनाउने योजनामा छौं । महिलाले मात्र काम गर्ने तथा महिलासम्बन्धी बीमा गर्नेगरी विमन ब्रान्च स्थापना गर्ने योजनामा छौं । बजारका कुरा गर्दा हामी भारतीय बीमा बजार भन्दा पछाडि नै छौं । म सन् २०१२ मा भारतीय बजारमा प्रवेश गरेको हुँ । त्यसबेला त्यहाँ म्यानुअल रूपमै बीमा पोलिसी जारी गरिन्थ्यो । तर, केही वर्षमै त्यहाँ त्यो अवस्था अन्त्य भयो । सूचनाप्रविधिमा एकदम राम्रो परिवर्तन आयो । तर, नेपाली बीमा बजार यस मामलामा अझै पछाडि छ । अब प्रविधिको विकास गर्न सकियो भने राम्रो हुन्छ । कम्पनीहरूको खर्च पनि घट्छ । त्यसरी बचेको पैसा अन्य क्षेत्रमा लगानी गरेर फाइदा कमाउन सकिन्छ । त्यसकारण अब नेपाली बजारलाई डिजिटाइजेशन गर्न आवश्यक छ । अबको केही वर्षमै त्यो पूरा हुने देखिन्छ । केही समय पहिला यस कम्पनीको व्यावसायिक गतिविधि त्यति राम्रो थिएन । तर, अहिले राम्रो देखिएको छ । यसका कारण के के हुन् ? कम्पनीको ग्रोथ राम्रो थिएन नै । त्यसैले नै म य यहाँ आएको हुँ । मलाई मेहनत गर्न, चुनौती लिन मन लाग्छ । कम्पनीलाई राम्रो बनाउने चुनौती लिएरै म यहाँ आएको हुँ । २७ वर्ष पूरा गरेको कम्पनी अहिले जुन स्थानमा हुनुपर्ने थियो, त्यो स्थानमा छैन । बजारको हामीप्रतिको धारणा पनि त्यति राम्रो छैन । हामी बजारमा त्यति भिजिबल नै थिएनौं । यस अवस्थामा कम्पनीलाई माथि उकास्न निकै चुनैतीपूर्ण छ । त्यस चुनौतीलाई सामना गर्नेगरी केही रणनीति पनि बनाएर अगाडि बढेका छौं । युनाइटेड स्थापनाको आधारमा पाँचौं र पुरानो कम्पनी पनि हो । त्यो हिसाबले पहिला हामीसँग ठूला पोर्टफोलियो कारोबार गर्ने ग्राहक पनि थिए । तर, विस्तारै उनीहरूले हामीसँग कारोबार गर्न छाड्दै गए । सामान्यतया कम्पनीप्रति सकारात्मक र नकारात्मक दुवै धारणा भएका ग्राहक हुन्छन् नै । तर, हाम्रोमा नकारात्मक धारणा भएका ग्राहक हावी भएर समस्या भएको हो । त्यो अवस्थामा हामीले ग्रोथ बढाउनुभन्दा पनि हामीप्रति ग्राहको धारणा परिवर्तन गर्नुपर्ने मुख्य चुनौती छ । त्यसैले हामीले लागो नै परिवर्तन गरेर कम्पनीलाई रिब्रान्डिङ गर्दै गएका छौं । यो नेपाली बजारमा नयाँ अभ्यास हो । लोगो परिवर्तन गरेपछि हामीलाई बजारमा जान धेरै सजिलो पनि भएको छ । अहिले बजारमा पुरानो छवि करीब हटेको अवस्था छ । साथै, हाम्रो टिम समेत नयाँ छ । त्यसले गर्दा पनि हामीलाई काम गर्न सहज भएको छ । हामीप्रति नकारात्मक धारणा बनाएका ग्राहक पनि सानो सानो बीमा लिएर आउन थालेका छन् । यस्तै, म आएपछि कम्पनीको आन्तरिक व्यावसायिक रणनीति पनि बनायौं । नाफा दिन नसक्ने शाखा बन्द गर्ने, काम गर्न नसक्ने कर्मचारीलाई आन्तरिक रूपमै प्लेसमेन्ट गर्ने काम पनि गरेका छौं । हामीले व्यवसाय विस्तारको मामलामा काठमाडौंभन्दा बाहिरको शहरलाई प्राथमिकता दिएका छौं । अहिले काठमाडौंको बजार ‘अकुपाई’ भइसकेको छ । त्यसैले हामी काठमाडौं बाहिर व्यवसाय विस्तारका लागि आक्रामक रूपमा लागेका छौं । नारायणगढ, हेटाैंडा, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर जस्ता शहरलाई बढी प्राथमिकतामा राखेका छौं । पछि अन्य ठाउँमा पनि व्यवसाय विस्तार गर्नेछौं । विस्तारै काठमाडौंको मार्केटलाई रिभाइव गर्छाैं । हामीले कम्पनीको आन्तरिक कामलाई पनि अटोमेशन गरेका छौं । इन्टरनेट, प्रविधिबाट गर्न सक्ने जति सबै कामलाई अटोमेशन गरेका छौं । पहिला १५ दिनमा गरिने काम अहिले एक दिनमै हुन्छ । यस्तै, हामीले महिलालाई लक्षित गरेर घरदेखि नै काम गर्ने परिपाटी विकास गरेका छौं । अहिले यो कम्पनीमा काम गरिरहेका कर्मचारी छाडेर जान चाहँदैनन् । तर, हामी नयाँ इन्नोभेशन गर्ने अवस्थामा अझै पुग्न सकेको छैनौं । हामीले पहिले बिग्रेका कामलाई नै सुधार गर्दै गएका छौं । समग्रमा अहिले हामी दाबी भुक्तानीमा बढी ध्यान दिएका छौं । यसलाई राम्रो गर्न सकियो भने व्यवसाय बढाउन समस्या हुँदैन । त्यसपछि हामी इन्नोभेशनमा पनि जानेछौं । हामीले अधिकारलाई पनि विकेन्द्रित गरेका छौं । सीईओ भए पनि मैले सबै अधिकार लिएको छैन । केही अन्य साथीहरूलाई पनि विभिन्न विषयमा निर्णय गर्न सक्ने अधिकार दिइएको छ । त्यसले गर्दा उहाँहरूलाई पनि जिम्मेवारी बोध हुन्छ र कम्पनीलाई अगाडि बढाउन सहज हुन्छ । कम्पनीले लामो समयदेखि शेयरधनीलाई लाभांश दिन सकेको छैन । अब हामी हरेक लाभांश दिनेगरी हामी काम गर्छाैं । यस्तै, हामीले कर्मचारीमा पनि लगानी गर्न आवश्यक छ । उनीहरूमा लगानी गर्न सकिएन भने कम्पनी अगाडि बढ्न सक्दैन । अहिले कम्पनीको व्यावसायिक गतिविधि राम्रो छ भन्नुभयो । अबको २–४ वर्षमा कम्पनीलाई कस्तो रूपमा देख्न सकिन्छ ? इच्छाशक्ति त नम्बर एक नै बनाउने हो । तर, उत्कृष्ट पाँचसम्म पुग्न सकिन्छ जस्तो लाग्छ । पहिला हामी १८औं स्थानमा थियौं । अहिले १३ नम्बरमा आएका छौं । गत वैशाखको मात्र व्यवसायलाई आधार मान्ने हो भने हामी छैटौं स्थानमा छौं । त्यसअनुसार कम्पनी छिट्टै माथि आउने देखिन्छ । यो वर्ष अर्ब क्लबमा पुग्ने लक्ष्य थियो । तर, कोरोनाका कारण त्यसमा चुनौती देखिएको छ । अहिले व्यवसायमा ६२ प्रतिशतको वृद्धिदर देखिएको छ । तर, यो सधैं कायम रहँदैन । तर, बजार १२/१३ प्रतिशतको वृद्धिदरमा अगाडि बढ्दा हामी २० प्रतिशतसम्मको वृद्धिमा अगाडि बढ्छौं । पहिला युनाइटेड इन्स्योरेन्समा काम गर्न सहज थिएन भन्ने सुनिन्थ्यो । अहिले कस्तो अवस्था छ ? त्यस्तो मैले पनि सुनेको थिएँ । तर, मैले यहाँ डीसीईओदेखि काम गर्दा त्यस्तो महसुस गरिनँ । यहाँ हामी पारिवारिक वातावरणमै काम गर्छाैं । सञ्चालक समितिको काम भनेको सञ्चालन गर्ने र हामीलाई बीमा समितिको दायरामा रहेर विभिन्न निर्देशन दिने हो । तर, हाम्रो कम्पनीको अध्यक्षज्यू, हाम्रो प्रवर्द्धक समूह र सञ्चालक समितिबाट व्यवसाय बढाउन धेरै सहज वातावरण प्राप्त भएको छ । बोर्ड र म्यानेजमेन्ट टीम बीच एकदम राम्रो सहकार्य छ । कर्मचारी र म्यानेजमेन्ट टीमबीचको सहकार्य पनि राम्रो छ । त्यसैले हामी पछिल्लो समय कम्पनीको गतिविधि राम्रो बनाउन सफल भएका छौं । अब नेपाली बीमा बजार कसरी अगाडि बढ्नुपर्छ होला ? अहिले आममानिसमा बीमाको जागरण आइसकेको छ । कोरोना बीमाको दाबी भुक्तानीको विषयलाई नकारात्मक वा सकारात्मक कुुन रूपमा हेर्ने, आफ्नो ठाउँमा छ । बीमा कम्पनीले दाबी भुक्तानी दिएका नै छन् । कोरोना बीमाको कारण गाउँ गाउँमा बीमाको पहुँच तथा सचेतना बढेको छ । यो सकारात्मक पक्ष हो । त्यसअनुसार अब बीमा जागरण आइसकेको छ । अब नयाँ नयाँ प्रडक्ट ल्याउने, बीमाको फरक जागरण दिने काम गर्नुपर्छ । अहिले मोटर बीमामा थर्ट पार्टीको मात्र बीमा हुन्छ । तर, मोटरसाइकल दुर्घटना भएर बिग्रिँदा पनि बीमाले कभर गर्छ भन्नेबारे धेरैलाई थाहा छैन । यस्ता विषयमा पनि सचेतना ल्याउन आवश्यक छ । यसैगरी नयाँ नयाँ प्रडक्ट पनि ल्याउनुपर्छ । विशेषगरी ग्याजेट्स बीमालाई प्रवर्द्धन गर्नुपर्छ । नेपालमा अहिले मोबाइलको प्रयोग व्यापक छ । तर, त्यो खसेर फुट्दा, कुनै पाटपुर्जा बिग्रिँदा ठूलो रकम खर्च हुने गरेको छ । त्यसको बीमा गरेको भए ग्राहकको पैसा खर्च हुने थिएन, बीमाले भुक्तानी गर्ने थियो । अब यस्तै प्रकारका बीमाहरू प्रचलनमा ल्याउनुपर्छ । साथै, ४ वर्षअघि ७ प्रतिशत रहेको बीमाको पहुँच अहिले करीब २४ प्रतिशत पुगेको छ । यो ठूलो उपलब्धि हो । अब त्यो ५० प्रतिशत पुग्न कुनै समस्या हुँदैन । तपाईंहरू पनि कुनै नयाँ प्रडक्ट ल्याउने तयारीमा हुनुहुन्छ कि ? विशेषगरी हामीले महिलामा हुने क्यान्सरलाई लक्षित गरेर एउटा बीमा पोलिसी बनाउने तयारी गरेका छौं । यस विषयमा काम भइरहेको छ । यसका अलावा अन्य योजनाहरू पनि बनाउने तयारी छ ।