जेठ १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला जिल्लाको साविक लिमि गाविसका तत्कालीन गाविस सचिव धर्मराज रोकाया विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले निज विरुद्ध २ लाख १९ हजार रुपैयाँ बिगो कायम गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मंगलवार मुद्दा दायर गरेको हो ।
तत्कालीन गाविस सचिव रोकायाले आर्थिक वर्ष २०७०/ ०७१ देखि आव २०७२/ ०७३ सम्म दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरी कानूनी रुपमा हानी पुर्याएको पुष्टि भएको अख्तियारले बताएको छ ।
हदैसम्मको कैद र बिगो बमोजिमको जरिवाना गरी हानिनोक्सानी पुर्याएको रकम असुलउपर हुन मागदाबी लिई अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।