महालक्ष्मी विकास बैंकको आज माघ ३ गते सोमबार हुने भनिएको साधारणसभा पनि स्थगित भएको छ । पुस २५ गते आइतबारको लागि बोलाईएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएसंगै बैंकले आज माघ ३ गतेको लागि सभा आह्वान गरेको थियो ।तर उच्च अदालत पाटनले साधारणसभा नगर्न अन्तरिम आदेश दिएसंगै आज हुने भनिएको बैंकको सभा स्थगित भएको हो । बैंकका शेयरधनी गिरिराज पोख्रेल र प्रमोद श्रेष्ठले सभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गर्दै साधारणसभा रोक्न आदेश दिएको थियो । यिनै निवेदकले संचालकको निर्वाचनको समबन्धमा अर्को मुद्दा पनि दायर गरेकोले यी २ विषय अन्तरसमबन्धित भएकोले अर्को मुद्दाको निवेदनको टुंगो नलागेसम्म सभा तोक्न अदालतले आदेश दिएको हो । उक्त मुद्दाको पेशी आज तोकिएको छ ।अदालतको आदेशमा भनिएको छ “यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको सन्दर्भमा विचार गर्दा, यीनै निवेदकले यीनै विपक्षीहरु उपर यस अदालतमा दायर गरेको ०७८-wo-०६४६ नं. को निवेदनको रोहबाट निवेदनमा उल्लेखित महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा र निर्वाचन सम्बन्धी विषयमा अन्तरिम छलफल गर्नको लागि मिति २०७८/१०/०३ लाई पेशी तोकिएको स्थितिमा बैंकको वार्षिक साधारण सभा र सञ्चालक समितिको निर्वाचन कार्यक्रम अन्तरसम्वन्धित भएको हुँदा सुविधा र सन्तुलनको दृष्टिकोणबाट उक्त ०७८-wo-०६४६ को रिट निवेदनको अन्तरिम आदेश सम्वन्धी छलफलको टुङ्गो नलागेसम्मको लागि विपक्षी महालक्ष्मी विकास बैंक लि.को स्थगित भई पुनः मिति २०७८/१०/०३ मा गर्ने भनिएको साधारण सभा नगर्नु नगराउनु भनि उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरी दिएको छ' ।कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।