चितवन (अस) । चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा ट्राफिक प्रहरी कार्यालय, चितवनले ८ हजार ४६७ ओटा सवारीसाधनलाई कारबाही गरेको छ, जसको जरीवानाबापत कार्यालयले ७६ लाख ७७ हजार रुपैयाँ संकलन भएको छ । कार्यालयका अनुसार साउनमा सबै सवारीसाधनबाट २५ लाख ७३ हजार राजस्व संकलन भएको छ । यस्तै भदौमा २३ लाख ७८ हजार र असोजमा २७ लाख २६ हजार रुपैयाँ असुली भएको छ ।
साउनमा २ हजार ७५७ ओटा, भदौमा २ हजार ६८७ ओटा र असोजमा ३ हजार २३ ओटा सवारीसाधन कारबाहीमा परेका थिए । कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार भदौमा निषेधाज्ञाका कारण बैंकहरू आंशिक रूपमा मात्रै खुलेकाले राजस्व संकलनमा कमी आएको छ । ‘ट्राफिक नियम उल्लंघन गर्ने सवारीधनीले रसिद काटे पनि बैंकहरूमा गएर त्यो महिना भुक्तानी गर्न पाएनन्,’ थापाले भने ।
चालू आवको तीन महीनामा सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल परेका छन् । सो अवधिमा कार्यालयले २ हजार ३५४ ओटा मोटरसाइकललाई कारबाही गरेको छ । यसबाट १९ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै सबैभन्दा कम ४२६ ओटा ट्र्याक्टर कारबाहीमा परेका छन्, जसबाट कार्यालयले ३ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार तीन महिनामा १ हजार ६५० ओटा ट्रक/टिपरको कारबाहीबाट १६ लाख ९६ हजार, १ हजार ३० ओटा बस÷माइक्रो बसको कारबाहीबाट ९ लाख ३७ हजार, १ हजार ९८६ कार÷जीपको कारबाहीबाट १८ लाख ७९ हजार र टेम्पो तथा अन्य गरी १ हजार २१ सवारीसाधन कारबाहीबाट ७ लाख ९० हजार राजस्व संकलन भएको छ ।
कार्यालय प्रमुख थापाले जिल्लामा मोटरसाइकलको संख्या बढी र ट्राफिक नियम उल्लंघन पनि मोटरसाइकबाटै बढी हुने हुने गरेको बताए । ‘मोटरसाइकलको संख्या पनि बढी छ, मापसे र लापरबाही पनि यसैको बढी छ,’ थापाले भने । दुर्घटना र लापरबाही बढेपछि बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा चालकका लागि भदौदेखि ट्राफिक सचेतना कक्षा समेत सञ्चालन गरिँदै आएको उनले जानकारी दिए ।