मंसिर २३, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था र लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।
दुवै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका शुक्रवार अर्थात् मंसिर २४ गते बन्द गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
समता घरेलु लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा बिहान ११:३० बजे मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा हुने जानकारी दिएको छ ।
त्यस्तै, लक्ष्मी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागिसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा दिनको २ बजे अग्रवाल भवन कमलपोखरीमा गर्ने जानकारी दिएको छ ।