विराटनगर । कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको छ । यही कात्तिक १ र २ गतेको वर्षाले नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था नरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।
सुनसरीको चतरादेखि मोरङसम्म ५३ किमी लम्बाइ रहेको चतरा मूल नहरका २० शाखामा १४ ओटा स्थान फुटेको उनले बताए । अब आउने गहुँको मौसम र तत्कालै शुरू हुने छठ पर्वका लागि पनि नहर सञ्चालन गर्न सकिने अवस्था नरहेको र नहर तत्काल सञ्चालन गर्न ५ करोडभन्दा बढी रकम आवश्यक पर्ने प्रमुख यादवको भनाइ छ । वर्षाले मूल नहरकै चार ठाउँ सुनसरीको झुम्कादेखि पश्चिम ६५, ६३, सुनसरीको खनारस्थित ११४ र बडहरास्थित १२८ आरडी भत्किएको छ । यो पूर्णरूपमा निर्माण गर्न १० करोडभन्दा बढी लाग्ने बताइएको छ । त्यस्तै तत्काल पानी सञ्चालन गर्ने अवस्थाको बनाउन ५ करोडको लाग्ने प्रारम्भिक अनुमान रहेको इञ्जिनीयर रामकुमार चौधरीले जानकारी दिए ।
नहरको अवस्थाबारे आयोजना प्रमुख यादवले भर्खरै बाढी प्रभावित क्षेत्र अवलोकन एवं निरीक्षण गर्न आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत जानकारी गराइसकिएको छ । किसानलाई राहत एवं कृषि कार्य सहज बनाउन नहर मर्मतसम्भारको विकल्प नरहेको आयोजना प्रमुख यादवको भनाइ छ । सन् १९७० मा निर्माण सम्पन्न भएको सो नहरका सबै संरचना विस्तारै जीर्ण हुँदै गएकाले यो संरचना जोगाउन र किसानलाई खेती गर्नबाट वञ्चित हुन नदिन बृहत् योजनाको आवश्यकता रहेको आयोजनाले जानकारी दिएको छ । रासस