सिन्धुपाल्चोक (अस) । मेलम्ची बाढी प्रभावित हेलम्बुका स्थानीयले यथाशीघ्र सुरक्षित स्थानमा बास र आयआर्जनको कार्यक्रम लागू गरे मेलम्चीको पानी काठमाडौं पठाउन तयार रहेको बताएका छन् । हेलम्बु बाढीपीडित संरक्षण तथा समन्वय समितिले बिहीवार हेलम्बु गाउँपालिका–४ चिलाउनेघारीमा आयोजना गरेको सरोकारवालाबीचको अन्तरक्रियामा उनीहरूले यस्तो माग गरेका हुन् । बाढी प्रभावित अधिकांशले घर बनाउन जग्गा समेत नभएकाले जग्गा र स्थायी वा अस्थायी घर र आयआर्जनको कार्यक्रमको समेत माग गरेका छन् । हेलम्बु चनौटेका बुद्धराम तामाङले पाँच लाखमा घर बनाउन नसकिने भन्दै रकम थप गर्न आग्रह गरे ।
त्यस्तै इचोक घर भइ गणेशबगरमा बसेकी रामप्रित लामाले आफ्नो भएजति सबै सम्पत्ति बाढीले बगाएको भन्दै स्थानीय सरकारले चासो दिए पनि प्रदेश र केन्द्र सरकारले चासो कम दिएको गुनासो गरिन् । उनले आफूहरू मेलम्चीको पानी काठमाडौं पठाउन सदैव तयार रहेको र मेलम्ची खानेपानीले पनि सरकारसँग समन्वय गरी बाढीपीडितको चित्त बुझाउनुपर्ने बताइन् । स्थानीय शिक्षक भीम कार्की, मेलम्ची भ्याली क्याम्पसका अध्यक्ष दीपक लामिछाने, समाजसेवी शिवप्रसाद लामिछाने लगायतले बाढीपीडितहरू एकजुट भएर विद्यालय, बाँकी रहेका घरखेत संरक्षण गर्न र स्थायी आवास पुनर्निर्माणमा जुट्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ प्रशासन सहायक धर्मराज देवकोटाले खोला नियन्त्रणका लागि अल्पकालीन रूपमा ३० करोड र सडकका लागि २५ करोड बजेट विनियोजन भइसकेको बताए । यथाशीघ्र सम्झौता गरी बाँकी बस्ती संरक्षण र बाटोको काम शुरू गर्न हेलम्बु गाउँपालिकालाई उनले अनुरोध गरे । वैकल्पिक बाटोका लागि पनि थप बजेट विनियोजन भएको भन्दै उनले मेलम्ची अम्बाथान सडक बनाउन ७५ करोड प्रस्ताव पेश गरिएको जानकारी दिए ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढी प्रभावितले ५ लाख रुपैयाँमा घर बनाउन सम्भव नभएको बताए ।