वीरगञ्ज महानगरले माग्यो खोप खरीदको अनुमति

वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले संघ सरकारसँग कोरोना विरुद्धको खोप खरीदको अनुमति मागेको छ । महानगरले सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर वीरगञ्जमा खोप अभियान सञ्चालनका लागि यस्तो अनुमति मागेको हो । महानगरका एक लाख बासिन्दालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकाले त्यसका लागि खोप किन्न संघ सरकारको अनुमति मागिएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । ‘अहिले समुदायस्तरमा फैलिएको कोरोना संक्रमण नियन्त्रणको एकमात्र उपाय यसको खोप नै हो । नगरवासीलाई कोरोना संक्रमणबाट जोगाउन खोप अभियानको सञ्चालनको लक्ष्य राखेका छौं,’ प्रमुख सरावगीले भने, ‘संघ सरकारले यथाशीघ्र अनुमति दिएर सहयोग गर्ने विश्वास लिएका छौं ।’ महानगरका कम्तीमा एक लाख बासिन्दालाई खोप लगाउन सके महामारी नियन्त्रणमा सहज हुने अनुमान महानगरको छ । सरकारबाट स्वीकृत प्राप्त खोप खरीदको अनुमति र अन्य सहयोगका लागि समेत आग्रह गरिएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले बताए । समुदायस्तरमा फैलिएको कोरोनाका कारण लक्षणसहितका संक्रमितको संख्या बढिरहेको र उपचारमा कठिनाइले अकालमा ज्यान गुमाउने अवस्था रहेको महानगरको पत्रमा उल्लेख छ । सबै नागरिकमा खोप पुर्‍याउने संघ सरकारको प्रयास प्रभावकारी हुन नसकेकोतर्फ महानगरले पत्रमार्फत ध्यानाकर्षण गराएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर खोप खरीद र प्रयोग गरिने पनि महानगरले बताएको छ ।

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले सरकारसँग माग्यो १ लाख डोज खोप

जेठ १९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले संघीय सरकारसँग कोरोना विरुद्धको १ लाख डोज खोप माग गरेको छ ।  महानगर प्रमुख विजयकुमार सरावगीले बुधवार स्वास्थ्यमन्त्रीलाई पत्र लेखेर वीरगञ्जलाई उच्च प्राथमिकतामा राखी खोप उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।  यसअघि महानगरले खोप खरीदकालागि मन्त्रालयसँग अनुमति मागेको थियो । महानगरले केही दिनअघि १ लाख डोज खोप खरीदको स्वीकृति मागेकोमा मन्त्रालयले खोप खरीदको जिम्मेवारी संघ सरकारको मात्रै भएको स्पष्ट पारेको थियो । सरकारले खोप भित्र्याउन थालेसँगै महानगरले खोप माग गरेको हो । खोप खरीदलाई उच्च प्राथमिकतामा राखेको भन्दै महानगरले सरकारलाई धन्यवादसमेत दिएको छ ।  सीमावर्ती शहरमा कोरोना संक्रमणको उच्चजोखिम रहेको र वीरगञ्जमाउद्योग, व्यापार, ढुवानीलगायतका गतिविधि बढी भएकाले यो क्षेत्रलाई खोपको प्राथमिकतामा राखिनु पर्ने तर्क महानगर प्रमुख सरावगीको छ । सीमावर्ती क्षेत्रमा कोरोना नियन्त्रण भएमात्रै अन्य क्षेत्रमा जोखिम न्यूनीकरण हुने महानगरले बताएको छ ।  ‘वीरगञ्ज  नाका भएर दैनिक १ हजार ५०० भन्दा बढी मालवहाक साधन देशका विभिन्न भागमा जान्छन् । औद्योगिक कोरिडोरमा हजारौं श्रमिक काम गर्दछन्,’ प्रमुख सरावगीले भने, ‘यस्तोमा वीरगञ्ज क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी खोप लगाउनु अनिवार्य छ ।’  कोरोना संक्रमणको उच्च जोखिममा रहेका शिक्षण संस्थाका शिक्षक, कर्मचारी र विद्यार्थी, वित्तीय क्षेत्रका कर्मचारीलगायतलाई खोप अत्यावश्यक रहेको महानगरले बताएको छ । वीरगञ्जलाई खोपको प्राथमिकता राख्ने विषयलाई गम्भिर रुपमा लिन पनि प्रमुख सरावगीले आग्रह गरेका छन् ।